• ७ पुस २०८१, आइतबार

सन्दीपलाई सात दिन हिरासतमा राख्न अनुमति

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्दीप लामिछाने (कालो मास्क र क्यापमा) प्रहरी नियन्त्रणमा । फाइल तस्बिर

काठमाडौं, असोज २४ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले २० गतेबाट गणना हुने गरी सात दिनका लागि म्याद थप गरेको हो । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार (असोज २० गते) प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो ।

दशैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो । आज जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताउनुभयो ।

उहाँले सन्दीपले इजलासमा आफू निर्दोष रहेको कुरा बताएको पनि प्रमाणहरु प्रस्तुत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल प्रहरीले अदालतमा प्रस्तुत गर्याे । सन्दीप लामिछानेले इजलासमा आफू निर्दोष रहेको कुरा श्रीमानसमक्ष सम्पूर्ण डिटेलहरु प्रस्तुत गर्नुभयो । म्याद थपको सम्बन्धमा श्रीमानले सात दिनको समय दिनुभयो । यो २० गतेबाट लागू हुने गरेर दिएको समय हो । २७ गते अदालतमा फेरि हाजिर हुने शर्तमा सात दिनको लागि म्याद थपिएको छ ।’’

बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई दशैंको भोलिपल्ट नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।