• २१ वैशाख २०८१, शुक्रबार

सामुदायिक विद्यालयमा हरेक दिन मीठो खाजा

blog

विद्यालयमा विद्यार्थीको आशा । पढाइ राम्रो होस् भन्ने त छँदैछ, यससँगै स्कुलमा व्यवस्था गरिएको दिउँसोको खाजा मीठो खान पाए अझ राम्रो होस् भन्ने चाहना अर्कोतिर । सरकारले व्यवस्था गरेको खाजाको रकमले विद्यालयलाई राम्रो खाजा खुवाउन त्यसै पनि हम्मेहम्मे ।

विद्यार्थी भन्छन्, जहिले पनि जाउलै पाक्छ । विद्यार्थीले सार्वजनिक स्थानमा सामान्य कुराकानी गर्दा यस्तै भन्न थालिसके । विद्यार्थीको  गुनासो कसले सुन्ने ? खाजाकै विषयमा कुरा । अर्कातिर विद्यालय व्यवस्थापनको आफ्नै अप्ठ्यारा छन् ।  थोरै बजेट धेरै विद्यार्थीका लागि पौष्टिक तत्वयुक्त खानेकुरा खुवाउनुपर्ने हुँदा विद्यालयले सधैँ मीठो  खाजा खुवाउन नसक्ने आफ्नै अप्ठ्यारो छ । व्यवस्थापन भन्छन्,  बजेटले नभ्याउने भएपछि धेरैजसो जाउलाले नै भए पनि भोको नै भने राखेका छैनौँ । 

विद्यालयले हप्तामा दुई या तीन दिन जाउलो खुवाउँछ,  विद्यार्थीको चाहना भने अरू नै मीठो खाजा खान पाए हुने । पर्याप्त बजेटका कारण विद्यालयले विद्यार्थीको चाहनाअनुसारको खाजा खुवाउन सकिरहेको अवस्था थिएन । 

यही अवस्थामा सरकारले बाल कक्षादेखि  ६ सम्म प्रतिविद्यार्थी १५ रुपियाँको दरले सबै सामुदायिक विद्यालयलाई खाजा खर्च उपलब्ध गराउँदै आएकामा अब काठमाडौँ महानगरपालिकाले यही असोज १ गतेदेखि आफूूअन्तर्गतका विद्यालयका कक्षा ८ सम्मका सामुदायिक विद्यालयमा १० रुपियाँ थप गरी २५ रुपियाँ खाजा खर्च उपलब्ध गराउने घोषणा गरेपछि विद्यार्थीलाई अलिक मीठो खाजा पाउने आशा र व्यवस्थापनलाई बजेट अभावको अप्ठ्यारो टरेको छ ।  

काठमाडौँ महानगरको यो घोषणापछि अब सामुदायिक विद्यालयमा अध्ययनरत बाल कक्षादेखि ८ सम्मका विद्यार्थीले हरेक दिन २५ रुपियाँ बराबरको खाजा खान पाउने भएका छन् । यो खबरले सामुदायिक विद्यालय र  विद्यार्थीमा थप उत्साह बढेको छ  । कक्षा ७ देखि ८ सम्मका विद्यार्थीका लागि पनि महानगरले आन्तरिक स्रोतमार्फत पूरै रकम प्रतिविद्यार्थी २५ रुपियाँ उपलब्ध गराउने भएको हो । 

काठमाडौँ महानगरपालिकाका धेरैैजसो  विद्यालयले धेरै अघिदेिख नै कक्षा ६ का विद्यार्थीलाई पनि विद्यालयको आन्तरिक स्रोतमार्फत दैनिक खाजा खुवाउँदै आएका थिए । काठमाडौँको पकनाजोलस्थित, युवक माविले महानगरले घोषणा गर्नु अघिदेखि नै कक्षा ६ सम्मका विद्याथीलाई दैनिक दिवा खाजा खुवाउँदै आएको छ ।  

बाल कक्षादेखि कक्षा ५ सम्ममा विद्यार्थीका लागि प्रतिरुपियाँ १५ को दरले खाजाबापत आउनुपर्ने बजेट नआएको छ महिना भइसक्यो तर पनि हामीले विद्यार्थीलाई नियमित खाजा खुवाएकै छौँ । प्रधानाध्यापक सरिता खत्रीले जानकारी दिएअनुसार प्रक्रिया सबै पूरा गर्दा पनि विद्यार्थीलाई दैनिक खाजा खुवाउनुपर्ने संवेदनशील विषयमा बजेट निष्कासन गर्न ढिला भइरहेको छ । 

 विद्यार्थीलाई फरक–फरक स्वादको र मीठो खाजा खुवाउन सकिएको छैन । उहाँले भन्नुभयो, जाउलो भनेपछि विद्यार्थी नाक खुम्च्याउने गर्छन् । बजेट अभावको कारण जाउलो मात्र खुवाएर भए पनि हाम्रो विद्यालयले दैनिक खाजालाई निरन्तरता दिएको छ । 

दिवा खाजा कार्यक्रमको निरन्तरताले विद्यार्थी भर्नादर बढेको, नियमित विद्यार्थीको उपस्थिति बढेको, बालबालिकाको स्वास्थ्य सुधार भएको, पढाइप्रति  बालबालिकाको रुचि र चासो बढेको, उनीहरूको शारीरिक र  मानसिक विकासमा सकारात्मक प्रभाव परेको विभिन्न अध्ययनको निष्कर्ष छ । खाजा कार्यक्रम देशभरि नै निकै प्रभावकारी भएको छ ।

विद्यालयका अनुसार दैनिक मीठो मीठो खाजा खान पाउने भएपछि खाजाकै आशले पनि विद्यार्थी विद्यालयमा  पूरै समय बस्ने गरेको र अध्ययनमा पनि चासो देखाउने गरेका छन् । प्रतिविद्यार्थी २५ रुपियाँमा केही पोषिलो र मीठो खाजा खुवाउन सकिने हुनाले विद्यार्थी झन् बढी उत्साहित हुने विद्यालय व्यवस्थापनको  विश्वास छ ।