• १२ असार २०८१, बुधबार

प्रदेश १ ब्युरो

प्रदेश १ मा मनोनयन दर्ता

blog

विराटनगर, असोज २४ गते । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आइतबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् । प्रदेश १ का चौँध जिल्लामा रहेका २८ वटा सङ्घीय निर्वाचन क्षेत्र र ५६ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागि हुने निर्वाचनका लागि विभिन्न जिल्लास्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पार्टीबाट टिकट पाएका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको हो । 

यस क्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सभा सदस्यका लागि आफ्नै गृह जिल्ला भोजपुरको प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट मनोनयनपत्र दर्ता गर्नुभएको हो । मुख्यमन्त्री राई उक्त पार्टीको सचिव हुनुहुन्छ । उम्मेदवारी दर्ता गर्ने क्रममा मुख्यमन्त्री राईले फेरि पनि अराजकता, फेरि पनि प्रतिगमनको बाटो समाएका सङ्घीय लोकतन्त्र र गणतन्त्र विरोधीलाई परास्त गरी प्रतिगमनविरुद्ध बनेको गठबन्धनलाई नेपाली जनताले मङ्सिर ४ गते अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इनरुवा समाचारदाताका अनुसार सुनसरीमा चारवटै प्रतिनिधि सभा र आठवटै प्रदेश सभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता उत्साहपूर्वक सम्पन्न भएको छ । 

सुनसरीमा सत्तारुढ गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका मुक्सहाग लिम्बूू, निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका सीताराम मेहता, निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार र क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मनोनयन दर्ता गराउनुभएको छ । 

त्यसैगरी नेकपा एमाले तथा जनता समाजवादी पार्टीको गठबन्धनबाट निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका अशोक राई, निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका भीमप्रसाद आचार्य, निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेकै भगवती चौधरी र क्षेत्र नम्बर ४ बाट एमालेका जगदिशप्रसाद कुसियैतले मनोनयन दर्ता गराउनुभएको छ ।

जिल्लामा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ तीन क्षेत्र, नेकपा माओवादी केन्द्रले एक क्षेत्र, नेकपा एमालेले तीन क्षेत्र र जनता समाजवादी पार्टीले एक क्षेत्रमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । यहाँ नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्व सङ्घीय लिम्बुवान मञ्चसहितका १९ राजनीतिक दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका छन् ।

 खनाल र नेम्वाङसँग युवा नेता 

पशुपतिनगर समाचारदाताका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि दुईवटा क्षेत्र रहेको इलाममा नेपाली राजनीतिका ‘हेभी वेट’ नेताहरूबीच टक्कर पर्ने देखिएको छ ।  गठबन्धन र नेकपा एमालेका बीच इलाममा रोचक भिडन्त हुने देखिएको छ । नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भिड्न कांग्रेस र एमालेले नयाँ अनुहारलाई मैदानमा उतारेका छन् । इलाम क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेदवार झलनाथ खनालसँग एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले प्रतिस्पर्धा गर्नुहुने भएको छ । क्षेत्र नम्बर २ बाट भने पूर्व सभामुख सुवास नेम्वाङसँग कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का मैदानमा उत्रनु भएको छ । खड्का गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । 

चारवटा प्रदेश सभा निर्वाचन रहेको इलाममा नेकपा एमालेले एक्लै र गठबन्धनले साझा उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ (क) का १ नम्बर प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वा र सन्दपुर गाउँपालिकाकी पूर्व उपाध्यक्ष शोभा पराजुलीबीच प्रतिस्पर्धा हुनेछ । नेकपा एसकी लङ्वा गठबन्धनबाट र पराजुली एमालेबाट उम्मेदवार बन्नुभएको हो । क्षेत्र नं १ (ख) बाट कांग्रेस क्षेत्रीय सभापति शम्सेर राई र एमाले नेता दीपक थेवेबीच प्रतिस्पर्धा हुनेभएको छ । 

त्यसैगरी इलाम क्षेत्र नं २ (क) बाट नेपाली कांग्रेस प्रदेश कार्य समिति सदस्य गोविन्द गिरी र नेकपा एमाले प्रदेश सदस्य गणेश बरालबीच प्रतिस्पर्धा हुनेछ । क्षेत्र नं २ (ख) बाट माओवादी केन्द्र इलाम सहइन्चार्ज हर्क लावती र नेकपा एमाले इलामका पूर्व अध्यक्ष राम रानाबीच प्रतिस्पर्धा हुनेछ । 

सबै उम्मेदवारले मनोनयन दर्तापछि मतदाताको घरदैलोमा आफ्ना एजेन्डा लिएर जाने बताएका छन् । इलामका दुवै सङ्घीय निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारीसमेत परेको छ । 

कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी 

फिदिम समाचारदाताका अनुसार पा“चथर जिल्लामा सत्तारुढ गठबन्धन, नेकपा एमाले, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन र सङ्घीय लिम्बुवान मञ्चलगायतका दलसहित  स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनतर्फबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदेम्बेको उम्मेदवारी दर्ता भएको छ । उक्त गठबन्धनले प्रदेश सभा क मा नेकपा एसका कमलप्रसाद जवेगु र प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङवो (मौसम)को उम्मेदवारी दर्ता गराएको हो ।

यस्तै नेकपा एमालेले प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्य तथा पूर्व भौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको उम्मेदवारी दर्ता गराएको छ । उक्त पार्टीका तर्फबाट प्रदेश सभा क मा राजकुमार भण्डारी र ख मा आइन्द्रसुन्दर नेम्वाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पा“चथरबाट प्रतिनिधि सभा सदस्यका लागि दलबहादुर आङदेम्बे र एलवी पालुङवाले पनि उम्मेदवारी दिनुभएको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्रतर्फ नेपाली कांग्रेसका नेता तथा फालेलुङ गाउ“पालिका अध्यक्ष सञ्चकुमार केरुङले स्वतन्त्र उम्मेदारी दर्ता गराउन् भएको छ । प्रदेश सभा ख मा पनि कांग्रेसकै पुराना नेता खड्गसुन्दर लावतीको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । यस्तै नेकपा मालेका पोलिटब्युरो सदस्य दिनानाथ घिमिरेले पनि प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

योगेश र खेलप्रसादको उम्मेदवारी 

ताप्लेजुङ समाचारदाताका अनुसार ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई र सत्ता गठबन्धनतर्फ नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य खेलप्रसाद बूूढाक्षेत्रीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा भट्टराईले दोस्रो पटक उम्मेदवार बन्ने अवसर पाउनुभएको छ । उहाँ २०७४ को निर्वाचनमा पनि ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । भट्टराई विगत २०६४ र २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा भने काठमाडौँ क्षेत्र नं. ६ बाट दुवै पटक पराजित हुनुभएको थियो । 

माओवादी नेता बूूढाक्षेत्री भने पहिलो पटक चुनावी मैदानमा उत्रनुभएको छ । नेपाली कांग्रेससहित सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । यस्तै गठबन्धनतर्फ ताप्लेजुङको प्रदेश सभा सदस्यमा प्रदेश क्षेत्र नं. १ (क) मा नेकपा (एकीकृत समाजवादी)का खेमबहादुर वनेम र (ख) मा नेपाली कांग्रेसका खगेनसिंह हाङ्गामले उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका तर्फबाट प्रदेश क्षेत्र १ (क) मा पोलिटब्युुरो सदस्य तिलकुमार मेन्याङ्बो र (ख) मा प्रदेश कमिटी सदस्य गोपाल थोप्राले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

ताप्लेजुङमा जनता समाजवादी पार्टी नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मङ्गोल अर्गनाइजेसनलगायतका दलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै केही स्वतन्त्र रूपमा पनि प्रतिनिधि र प्रदेश सभा सदस्य दुवैमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

धनकुटामा आठ जना 

हिले समाचारदाताका अनुसार धनकुटामा प्रतिनिधि सभातर्फ आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनीलकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै दशैँअघि मात्रै माओवादी केन्द्र परित्याग गर्नुभएका हेमराज भण्डारीले पनि सङ्घमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट अमुल राई, एकीकृत शक्ति नेपालका रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले पनि प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धनकुटामा सङ्घतर्फ एक मात्र निर्वाचन क्षेत्र छ ।

प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा क मा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष अर्जुन राई र प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य कुशुमकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै नेकपा एमालेले पुरानै अनुहारलाई प्रदेश सभा सदस्यका लागि दोहो¥याएको छ । प्रदेश सभा क मा जिल्ला सचिव निरनकुमार राई र प्रदेश सभा ख मा जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा चर्चामा रहनुभएका जनता समाजवादी पार्टी जसपाका केन्द्रीय नेता रकम चेम्जोङले अन्तिममा प्रदेश सभा क मा उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रदेश सभाका दुईवटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । जसपाले प्रदेश ख मा जिल्ला सचिव डम्बर कटुवाललाई उम्मेदवार बनाएको छ । 

गठबन्धनविरुद्ध कांग्रेसको उम्मेदवारी 

खोटाङ समाचारदाताका अनुसार सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसले खोटाङमा छुट्टै उम्मेदवारी दर्ता गराएको छ । सिट बाँडफाटमा खोटाङ कांग्रेसलाई अन्याय गरेको भन्दै सङ्घ र प्रदेश सभा ‘क’ मा कांग्रेसले स्वतन्त्र उम्मेदवार दर्ता गराएको हो । 

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश सभा मात्र आफ्नो भागमा परेपछि कांग्रेसले असन्तुष्टि जनाएको हो । सत्ता गठबन्धनको शीर्षस्थ निर्णयअनुसार प्रतिनिधि सभा नेकपा माओवादीको भागमा परेको छ । यस्तै प्रदेश सभा ‘क’ एकीकृत समाजवादी र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । 

केन्द्रको उक्त निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेसका जिल्लास्तरीय शीर्ष नेताहरूले केन्द्रीय समितिलाई पत्र पठाएका थिए । तर पत्रको कुनै वास्ता नभएपछि जिल्ला सभापति, पूर्व सभापति, महाधिवेशन प्रतिनिधिलगायतको समर्थनमा पूर्व राज्य मन्त्री सर्वधन राईले प्रतिनिधि सभामा र महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरेलले प्रदेश सभा ‘क’ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश सभा ‘ख’ मा भने गठबन्धनबाट कांग्रेसकै भुपेन्द्र राईले टिकट पाएर उम्मेदवारी दर्ता गराएकाले कांग्रेसले स्वतन्त्र उम्मेदवार दिएको छैन । 

प्रतिनिधि सभा र एक प्रदेश सभा अर्थात् दुवै प्रदेश सभाको दाबी गर्दै आएको खोटाङ कांग्रेसले एक प्रदेश सभा मात्र भागमा पाएपछि बिद्रोह गरिएको जिल्ला सभापति विष्णुकुमार राईले बताउनुभयो । स्थानीय तहको चुनावमा सबैभन्दा ठूूलो पार्टी बनेको कांग्रेसलाई एक प्रदेश सभामा मात्र सिमित राख्नु ठूलो अन्याय भएको सभापति राईको भनाइ छ ।

गठबन्धनबाट आधिकारिक रूपमा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) र प्रदेश सभा ‘क’ मा नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेश सभा ‘ख’ मा कांग्रेसका भुपेन्द्र राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेका विशाल भट्टराईले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेश सभा ‘क’ मा पाँचकर्ण राई (पिके) र प्रदेश सभा ‘ख’ मा रामप्रसाद दङ्गालले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा सर्जु श्रेष्ठ र जनता समाजवादी पार्टीबाट डाक्टर केके राईले प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाको तर्फबाट प्रदेश सभामा राकेश राई र प्रेमकुमार राईको उम्मेदवारी रहेको छ ।