• १२ असार २०८१, बुधबार

उत्साहका साथ मनोनयन दर्ता

blog

लुम्बिनी प्रदेश ब्युरो

लुम्बिनी, असोज २४ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार लुम्बिनी प्रदेशमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहका साथ मनोनय दर्ता गरेका छन् । उम्मेदवारको मनोनयनसँगै चुनावी माहोल पनि बढेको छ । 

लुम्बिनी समाचारदाताका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सत्तारूढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका तर्फबाट उहाँले साझा उम्मेदवारका रूपमा मनोनय दर्ता गर्नुभएको हो । क्षेत्र नम्बर ३ (क) बाट लोसपाका सन्तोषकुमार पाण्डेय र (ख)बाट कांग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

यो क्षेत्रमा २०७४ सालमा राप्रपाका नेता दीपक बोहरा र एमाले नेता घनश्याम भुसालबीच प्रतिस्पर्धा भएको थियो । भुसाल वाम गठबन्धनका साझा उम्मेदवार रहनुभएको थियो भने बोहरालाई कांग्रेसको समर्थन थियो । भुसालले फराकिलो मतान्तरले बोहरालाई पराजित गर्नुभएको थियो । अहिले कांग्रेस नेता खाण र राप्रपा नेता बोहराबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । बोहराले एमाले र जसपाको गठबन्धनबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराउनुभएको हो । 

पार्टीबाट टिकट नपाएपछि राजीनामाको घोषणा गर्नुभएका नेता घनश्याम भुसालले यस पटक रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ । उहाँलाई सत्तारूढ गठबन्धनले समर्थन गर्ने जनाएको छ । सोही क्षेत्रबाट भुसालसँग एमालेका सचिव छविलाल विश्वकर्माले प्रतिस्पर्धा गर्नुहुने भएको छ । 

रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका नेता प्रमोदकुमार यादवले मनोनयन दर्ता गराउनुभएको छ । उहाँसँग पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता शर्वेन्द्रनाथ शुक्लाले प्रतिस्पर्धा गर्नुहुने भएको छ । क्षेत्र नम्बर ५ मा कांग्रेस नेता भरतकुमार शाह र एमालेबाट खिमलाल देवकोटाको मनोनय दर्ता भएको छ । 

बुटवल समाचारदाताका अनुसार नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन गर्नुभएको छ । यसैगरी गठबन्धन दलहरूको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा समाजवादीका नेता राजु गुरुङले उम्मेदवारी मनोनयन गर्नुभएको छ ।

मन्त्री राई बाँकेबाट

नेपालगञ्ज समाचारदाताका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले प्रतिनिधि सभाका लागि बाँकेबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । 

मन्त्री राई र सहमहामन्त्री राठौरले सत्ता गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्बर २ र ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले बाँके क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेका तर्फबाट सूर्य ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्यस्तै सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएको छ । गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराउनुभएको हो । नेकपा एमालेकी नेत्री तथा पूर्वसांसद गङ्गा थारूले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा एमालेबाट टिकट नपाएपछि थारूले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । दाङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले शान्ता चौधरीलाई टिकट दिएको छ । 

केन्द्रीय नेताबीच प्रतिस्पर्धा

गुल्मी समाचारदाताका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गुल्मीमा केन्द्रीय नेताहरूबीच प्रतिस्पर्धा हुनेभएको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चार केन्द्रीय नेताबीच प्रतिस्पर्धा हुनेभएको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संविधान सभा सदस्य डा. चन्द्र भण्डारी र नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुनेभएको छ । त्यस्तै क्षेत्र नम्बर २ मा नेकपा (एस)का केन्द्रीय सचिव रामकुमारी झाँक्री र नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुनेभएको हो । 

घोराही समाचारदाताका अनुसार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले सत्तारूढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी नेकपा एमालेबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि कोमल वलीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमाले–माओवादी गठबन्धनबाट दाङ क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको पोखरेल यस पटक प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

बिजुवार समाचारदाताका अनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले प्रतिनिधि सभा निर्वाचनका लागि प्युठानबाट मनोनयन दर्ता गर्नुभएको छ । एमाले नेता थापासँग गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच प्रतिस्पर्धा हुनेछ । 

अर्घाखाँची समाचारदाताका अनुसार नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा उपसभामुख पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसैगरी एमालेका तर्फबाट टोपबहादुर रायमाझीको मनोनयन दर्ता भएको छ ।

तानसेन समाचारदाताका अनुसार पाल्पामा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं. १ तर्फ नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले उम्मेदवारी दिनुभएको छ । क्षेत्र नं. १ मा नेकपा एमालेबाट नारायणप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ तर्फ नेकपा (एकीकृत समाजवादी)बाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेकपा एमालेबाट युवानेता ठाकुर गैरेले उम्मेदवारी दिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दुर्गा बस्यालले जानकारी दिनुभएको छ ।