• १२ असार २०८१, बुधबार

मधेश प्रदेशमा मनोनयन दर्ता

blog

मधेश प्रदेश ब्युरो

जनकपुरधाम, असोज २४ गते । मधेश प्रदेशका जिल्लाको निर्वाचन क्षेत्रमा आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि सो उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको हो । मधेश प्रदेशमा ३२ वटा प्रतिनिधि सभा क्षेत्र र ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । 

प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठवटै जिल्लामा उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म समय निर्धारण गरिएको थियो तर धेरै उम्मेदवार अपराह्न मात्र मनोनयन दर्ता गर्न आउँदा ढिलो समयसम्म दर्ता भएको थियो ।

माधव नेपालद्वारा मनोनयन दर्ता 

गौर समाचारदाताका अनुसार नेकपा (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य पदका लागि रौतहट क्षेत्र नम्बर १ बाट मनोनयनपत्र दर्ता गराउनुभएको छ । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारको रूपमा नेता नेपाल गौर नगरपालिका कार्यालयमा रहेको अस्थायी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई मनोनयनपत्र दर्ता गराउनुभएको हो । नेता नेपालको प्रस्तावकमा गौर नगरप्रमुख शम्भु साह र समर्थकमा राजदेवी नगरपालिका प्रमुख भिखारीराय यादव रहनुभएको छ ।

मनोनयनपत्र दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा, राजनीतिक परिवर्तन तथा संविधान निर्माणलगायत विकास निर्माणमा आफूले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभयो । अध्यक्ष नेपालले  विकास, न्याय, उत्पीडन, कृषि, शिक्षा, रोजगार, स्वास्थ्यका क्षेत्रमा काम गरी यस क्षेत्रलाई माथि उकास्ने उद्देश्यबाट आफूले उम्मेदवारी दिएको बताउँदै आफ्नो जन्म थलो यहीँ भएको हुँदा यहाँको जनताप्रतिको माया र सद्भावका कारण रौतहट १ लाई रोजेको स्पष्ट पार्नुभयो ।

सप्तरी २ मा यादव र राउतको उम्मेदवारी

कल्याणपुर समाचारदाताका अनुसार सप्तरीको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा दुई पार्टीका दुई जना पार्टी अध्यक्षले उम्मेदवारी मनोनयनपत्र दर्ता गराउनुभएको छ । नेकपा (एमाले)–जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सप्तरीमा प्रतिनिधि सभा सदस्यका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी १२७ जनाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । 

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसहित ११ जनाले प्रतिनिधिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमाले–जसपा गठबन्धनबाट उपेन्द्र यादव, सत्तारूढ गठबन्धनको तर्फबाट जयप्रकाश ठाकुर, जनमत पार्टीबाट डा. राउतले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैला मंसुरी मियाँ, हाम्रो नेपाली पार्टीबाट डम्बरनारायण साह तेली, नेपाली कांग्रेस (बीपी)बाट प्रा.डा. चिरञ्जीवीलाल दास, नेपाल मजदुर किसान पार्टीबाट देवनारायण यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हजरत अलि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरुणकुमार झा र स्वतन्त्र उम्मेदवार वीरेन्द्रकुमार मिश्राले मनोनयन दर्ता गराउनुभएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ एमाले–जसपा गठबन्धनबाट नवलकिशोर साह, सत्तारूढ गठबन्धनबाट रामदेव साह, मङ्गोल नेसनल अर्गनाइजेसनबाट पदमबहादुर राना, नेपाल मजदुर किसान पार्टी हरिशङ्कर पण्डित, राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुदेव यादव, नागरिक उन्मुक्ति पार्टी टीकालक्ष्मी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागेश्वरप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी निरञ्जनप्रसाद कुशवाह, स्वतन्त्र रूपमा कविन्द्र यादव, सर्वेन्द्रकुमार नायक, नारायण ठाकुर, विद्यानन्द लेखी, दिलीपकुमार चौधरी उम्मेदवार बन्नुभएको छ ।

क्षेत्र नम्बर ३ मा एमाले–जसपा गठबन्धनबाट ताराकान्त चौधरी, सत्तारूढ गठबन्धनबाट दिनेशकुमार यादव, हाम्रो नेपाली पार्टीबाट नवीनकुमार मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमोदकुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गङ्गाराम ठाकुर र स्वतन्त्रबाट सीताराम मण्डलले मनोनयन दर्ता गराउनुभएको छ ।

क्षेत्र नम्बर ४ मा सत्तारूढ गठबन्धनबाट तेजुलाल चौधरी, एमाले जसपा गठबन्धनबाट वालकिशोर यादव, नागरिक उन्मुक्ति पार्टीबाट देवान मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मो.इरफान आलम, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कपिलदेव यादव, स्वतन्त्रबाट माधुरीकुमारी साह, सुरेशकुमार चौधरी थारूले मनोनयन दर्ता गराउनुभएको छ ।

ठाकुर र भण्डारीद्वारा उम्मेदवारी दर्ता

महोत्तरी समाचारदाताका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता शरतसिंह भण्डारीले आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ । अध्यक्ष ठाकुरले महोत्तरी क्षेत्र नं. ३ को प्रतिनिधि सभामा तथा भण्डारीले महोत्तरी क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएका अध्यक्ष ठाकुरसँगै लोसपाबाट प्रदेश सभाको ३ ‘क’ मा अभिराम शर्मा तथा ‘ख’ मा रानी शर्मा तिवारीले उम्मेदवारी दिनुभएको छ । सत्ता गठबन्धनले महोत्तरीको प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेपाल कम्प्युनिस्ट पार्टी माओवादीका गिरिराजमणि पोखरेल, क्षेत्र नं. २ मा लोसपाबाट शरतसिंह भण्डारी, क्षेत्र नं. ३ मा लोसपाका अध्यक्ष महन्थ ठाकुर र ४ मा नेपाली कांग्रेस मधेश प्रदेश समितिका सदस्य महेन्द्रकुमार रायलाई उम्मेदवार बनाएको छ । 

यता नेकपा (एमाले)–जसपा गठबन्धनको तर्फबाट महोत्तरी क्षेत्र नं. ३ मा पूर्व मन्त्री हरिनारायण यादव तथा क्षेत्र नं. ४ मा डा. सुरेन्द्र यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । ३ ‘क’ मा मधेश प्रदेशका पूर्व न्यायाधिवक्ता जसपाका दिपेन्द्र झा र ‘ख’ मा एमाले नेता रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नं. ३ मा नेकपा (एमाले) बाट टिकट नपाएपछि नेता रामआधार कापर र लोसपा छाडेर हालै नेकपा (एमाले) प्रवेश गर्नुभएका सुनील रोहितले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सीमा सुरक्षा कडा 

बर्दिबास समाचारदाताका अनुसार भारतको विहारसँग खुला सीमा जोडिएको महोत्तरीमा आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ । भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदान स्थल र मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरी सोही अनुरूप सुरक्षा व्यवस्था भरपर्दो पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचन तयारीसँगै सुरक्षा निकायले जनसम्पर्कसमेत बढाउन थालेपछि जिल्लामा यसको अनुकूल प्रभाव देखिएको छ । 

प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाअनुसार सशस्त्र, नेपाल प्रहरी र नेपाली सेना सम्मिलित तीन तहमा सुरक्षा परिचालनको तयारी गरिएको छ । सुरक्षा बन्दोबस्तीमा आइतबारका लागि निर्धारित उम्मेदवारको मनोनयन दर्ता कार्यक्रमलाई समेत विशेष रूपले समेटिएको उहाँले जानकारी दिनुभयो । “मनोनयन दर्ता आफँैमा संवेदनशील विषय हो,” उहाँले भन्नुभयो, “निर्वाचन अधिकृतको कार्यालय र उम्मेदवारको सुरक्षा, आचारसंहिताको निगरानीलगायतका विषयलाई केन्द्रित गरी सशस्त्र प्रहरीको कमान्डमा सुरक्षा परिचालन गरिएको छ ।” 

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि महोत्तरीमा २५८ मतदान स्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भारतसँग करिब ३९ किलोमिटर खुला सीमा जुटेको महोत्तरीमा आम निर्वाचन आफैंँमा चुनौती हो । यही भौगोलिक अवस्थितिलाई दृष्टिगत गरी २५८ मध्ये १४३ मतदान स्थल अति संवेदनशील, ११४ संवेदनशील र एउटालाई मात्र सामान्यमा वर्गीकरण गरिएको प्रहरी उपरीक्षक (प्रउ) कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । “यसै वर्गीकरणको आधारमा जिल्लाभरका चारवटै निर्वाचन क्षेत्रका मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा बन्दोबस्त मिलाइएको छ,” उहाँले भन्नुभयो ।