• १९ साउन २०८२, सोमबार

‘सिराहामा मलको अभाव छैन’

blog

कृषि सामग्री कम्पनि लिमिटेड शाखा कार्यालयको परिसरमा रहेको गोदामबाट डिएपी मल आपूर्ति गर्दै । तस्बिर : जीवछ यादव

जीवछ यादव

लहान, साउन १९ गते । दुई दिन यता लगातार वर्षा हुन थालेपछि रोपाइँ गरिसकेको खेतमा मल छर्न किसानले मलखादको माग गरिहेका छन् । माग अनुसारको मलखाद वितरण भइरहेको कृषि सामग्री कम्पनि लिमिटेड शाखा लहानले जनाएको छ । 

शाखा प्रमुख दीपराज पौडेलका अनुसार सिराहा जिल्लाको १७ वटा पालिकाहरूमा १२५ कृषि सहकारीलाई दोस्रो पटकको डिएपी र युरिया मल वितरण भइरहेको छ । दोस्रो पटक साउन महिनामा डिएपी ९३९ मेट्रिक टन, युरिया एक हजार ०२७ मेट्रिक टन मल खाद आइपुगेको छ । यसअघि असार महिनामा ८१५ मेट्रिक टन डिएपी एक हजार ०१४ मेट्रिक टन युरिया आएको थियो । दोस्रो पटक आएको मलखाद्य वितरण सकिएपछि तेस्रो चरणको मल पनि आउने भएकोले आपूर्ति सहज छ । 

कृषि सामग्री कम्पनी लिमिटेड लहानमा नै मलखाद खोज्न आइपुगेका नवराजपुर गाउँपालिका-१ का शिवनाथ यादवले नवराजपुर गाँउपालिकामा मलखाद कहाँबाट पाउने बुझन आए बताउनुभयो । 

गाउँपालिकामा रहेका कृषि सहकारीले मलखाद्य उपलब्ध नगराउने मलखाद लिन गएपछि आएको मलखाद सकिएको जवाफ दिएपछि कम्पनि लिमिटेडको कार्यालयमा नै बुझन आएको उहाँले सुनाउनुभयो । यस्तै सखुवनन्कारकट्टी गाउँपालिकामा रहेको कृषि सहकारीले राजनीतिक आस्थाको आधारमा मल वितरण गरिरहेको र सर्वसधारण किसानले पाउन नसकिरहेको गुनासो स्थानीय भोगेन्द्र यादव बतानुभयो । शिवनाथ यादव र भोगेन्द्र यादव जस्तै गुनासो गर्ने किसानहरूको सङ्ख्या उल्लेखनीय छन् । 

यहि जिज्ञासा कम्पनी लिमिटेड शाखा प्रमुख पौडेलसँग राख्दा उहाँले भन्नुभयो, ‘‘कृषि सहकारीहरूले मलखादको वितरणमा पारदर्शिता नीति अवलम्बन नगरेको व्यापक गुनासोको आधारमा साउन १८ गते सिराहा नगरपालिकामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गर्दा केहि सहकारीको मल बजारमा बढी मूल्यमा बिक्री गरेको भेटिएको छ । सिराहा नगरपालिका प्रमुख डा. नविनकुमार यादवले ६०० बोरा मल एउटै हनुमानबाबा सहकारीबाट बिक्री भएको पाएको छ । यस्तो समस्या नवराजपुर भगवानपुर गाउँपालिकाबाट समेत आएको छ ।’’

दोस्रो पटक आएको अठार हजार ६०० बोरा डिएपी मल लहान नगरपालिकाले दुई हजार ०९० बोरा, धनगडीमाई नगरपालिकाले एक हजार ५५५ बोरा, गोलबजार नगरपालिका एक हजार ५१० बोरा, कल्याणपुर नगरपालिका एक हजार ४७० बोरा, सिराहा नगरपालिका दुई हजार २०० बोरा, सुखीपुर नगरपालिका एक हजार २९० बोरा, मिर्चैया नगरपालिका एक हजार २९० बोरा, कर्जन्हा नगरपालिका ७५० बोरा,लक्ष्मीपुर पतारी गाउँपालिका ८७० बोरा, अर्नमा गाउँपालिका ७५० बोरा, सखुवानन्कारकट्टी गाउँपालिका ६७० बोरा,भगवानपुर गाउँपालिका ६३० बोरा,नवराजपुर गाउँपालिका ७१० बोरा,बरियारपटी गाउँपालिका ९५० बोरा, औरही गाउँपालिका ८१० बोरा, नरहा गाउँपालिका ५५० बोरा र विष्णुपुर गाउँपालिकालाई ५१० बोरा वितरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी गराउनुभयो ।