तीन पालिकाका दर्जनौँ गाउँमा नदी पस्यो
नेपालगन्ज, असोज २२ गते । राप्ती नदीमा आएको भीषण बाढीले कुसुमस्थित बाढी मापन केन्द्रको बाढी मापन गर्ने गेज नै डुबाएको छ । नदीमा हालसम्मकै धेरै नौ मिटर बाढी आएको थियो ।
मापन गर्ने गेज नै डुबाएपछि अब मापन गर्न नसकिने र भीषण बाढीको सामना गर्नुपर्ने मापन केन्द्रका प्रमुख भद्रबहादुर घलेले बताउनुभयो । सबै रेकर्ड तोडेर पानीको सतहले नौ मिटर पार गरेपछि राप्तीसोनारी, डुडुवा र नरैनापुरका तीन दर्जन जति गाउँमा बाढी पसेको छ ।
राप्तीको बाढीले नदी आसपासका सबै गाउँहरूलाई डुबान गर्न थालेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढीले कुसुम, बैजापुर, अगैया, कचनापुर, बिनौना, फत्तेपुर, होलिया, बेतहनी, गङ्गापुर लगायत दर्जनौँ गाउँ डुबान गरेको छ ।
कुसुमस्थित बाघ खोरमा रहेका करिब ३५ घर डुबान गरेको इलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज तथा सई पुष्करराज जोशीले जानकारी दिनुभयो । अहिले उक्त गाउँमा सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ ।
सोही प्रकारले राप्तीसोनारीको टिकलीपुरमा नदी पसेपछि पुरा गाउँ नै डुबेको छ भने त्यहाँबाट सयौँ जनालाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।
यस्तै कुसुम वैरियास्थित बाडा टोल, खोकरी, चुनाहा, भवानियापुर, लगायत गाउँ पनि डुबेको खबर प्राप्त भएको छ । जिल्लाका अन्य स्थान पनि डुबेको प्रहरीले जनाएको छ । शुक्रवार राती परेकोले उद्धार र मानिस सार्न समस्या भएको भए पनि शनिवार बिहान सुरक्षाकर्मीले उद्धार तीव्र पारेको जनाएका छन् ।
राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । तर नदीको बहाव उच्च रूपमा बढेर नौ मिटर पार गरेपछि धेरै ठूलो बाढी आएको छ । शुक्रवार राती दस बजेपछि राप्तीसोनारीका धेरै गाउँमा नदी पसेर डुबान भएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।
उहाँले केही स्थानमा आफै पुगेर उद्धार गरे पनि राती परेको र विद्युत् समेत नरहेकोले समस्या भएको बताउनुभयो । शनिवार बिहानैबाट फेरी आफू प्रभावित क्षेत्रमा खटिएको अध्यक्ष पौडेलले बताउनुभयो । पानीको सतह शुक्रवार बिहानैदेखि बढ्दै गएपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शुक्रवार दिनभरि साइरन बजाउने, माइकिङ गर्ने र सामाजिक सञ्चार र एफएममार्फत सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।
विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना, माइकिङमार्फत सचेत पार्नुका साथै सुरक्षाकर्मी र जनप्रतिनिधि मार्फत धेरैलाई सुरक्षित स्थानमा सार्ने कार्य गरिएको बताउनुभयो । होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएको क्षेत्रका बासिन्दालाई सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा पुर्याउने कार्य दिनभरि गरिएको थियो ।