सिराज खान
नेपालगञ्ज, असोज २१ गते । तीन दिनदेखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । सो पालिकाका करिब पाँच हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
लगातारको वर्षाले गर्दा नरैनापुरको वडा १, २, ३, ४, ५ र ६ का अधिकांश गाउँमा बाढीको पानी पस्दा भएको डुबानले करिब पाँच हजार स्थानीय प्रभावित भएको पालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो ।
पालिकाका ६ वटै वडाका अधिकांश गाउँ जलमग्न भई धेरैको घरमा विहीबारदेखि नै खान पाक्न नसकेको उहाँले बताउनुभयो ।
बाढी र डुबान पीडितका लागि तत्काल तयारी खाद्य बस्तुको आवश्यकता परेकाले आवश्यक खाने सामग्री उपलब्ध गराउन जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गरिएको अध्यक्ष साहको भनाइ छ ।
समयमा वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गर्नुपरेको नरैनापुरमा अहिलेको बाढी, डुबान र कटानले धान बाहेकका अलि बाँकी रहेको खेतीपाती पनि सखाप पारेको उहाँले बताउनुभयो ।
गाउँपालिकाको वडा १ बनिया गाउँ, २ को रोशनपुरवा, महतनिया, ३ को बहावपुरवा, गिगली, रदैया, कोटीपुर र कोठीया, वडा ४ को नरैनापुर, घोडदौरिया, पंडितपुरवा वडा ५ को जमुनहा, ६ को दोँदरा लगायतका गाउँका अधिकांश घरमा पानी पसेर अस्तव्यस्त अवस्था रहेको पालिकाले जनाएको छ ।
पालिका अध्यक्ष साहले अझै पनि धेरै ठाउँबाट पानी पसेको र घरमा रहेका सबै सामान भिजेर बेहाल भएको जानकारी आउने क्रम जारी रहेकाले प्रभावितको सङ्ख्या बृद्धि हुने बताउनुभयो ।
अहिले पनि निरन्तर वर्षा भइरहेकाले धेरै ठाउँमा पुग्ने अवस्था नरहेको र दुई दिनदेखि बिद्युत समेत नरहेकाले फोन सम्पर्क गर्न समस्या भइरहेको उहाँले बताउनुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष प्रेम मौर्यले वडाको अधिकांश घरमा खोलाको पानी पसिसकेको बताउनुभयो । वडावासीलाई घरदेखि माथि चौरमा पाल टाँगेर राखिएको उहाँको भनाइ छ । उता, सुरक्षा निकायको संयुक्त टोलीले पनि पालिकाका विभिन्न स्थानमा पुगेर डुबान र बाढीमा फसेकाहरुको उद्धार गर्ने तथा उनिहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।