• ९ मंसिर २०८१, आइतबार

नारायणीको बाढी सुस्तातर्फको बाँध भत्काएर वस्ती पस्यो

blog

नवलपरासीको सुस्तामा नारायणी नदीको बाढीले बाँध भत्काएर बाढी सुस्तामा पसेको अवस्था तस्बिर : गोपी ज्ञवाली

गोपी ज्ञवाली 

नवलपरासी, असोज २१ गते । तीन दिनदेखि लगातार परेको वर्षाका कारण नारायणी नदीको बाढी नवलपरासीको सुस्तामा बाँध भत्काएर गाउँमा पसेको छ । बाढी गाउँ पसेपछि सुस्तामा त्रास फैलिएको छ । 

बिहीवारदेखि लगातार नारायणी नदीमा बाढी बढ्दै गएको अवस्थामा शुक्रवार विहान नारायणी नदीको बाढीले सुस्ता गाउँपालिकाको वार्ड नम्बर ५ पारी सुस्तामा ठोकर नम्बर १ बाट बाढीले बाँध भत्काएको हो । नारायणीको बाढी सुस्तामा पसेपछि सुस्तामा त्रास फैलिएको सुस्ताका स्थानीयवासी रविन्द्र जैसवालले बताउनुभयो ।  

नारायणी नदीमा पानीको बहाव लगातार बढ्दै गएपछि शुक्रवार विहानको समयमा सुस्तामा बाँध भत्काएर नारायणीको बाढी नवलपरासीको त्रिवेणी र सुस्तामा पसेको थियो । नदीको तटीय क्षेत्रमा त्रास फैलिएपछि स्थानीयलाई सुरक्षित स्थानमा लग्नेबारे छलफल भइरहेको छ । 


नदीमा पानीको मात्रा बढ्दै गएपछि बिहीवार बिहानदेखि गण्डक ब्यारेजका ३६ वटै (सबै) ढोका खोलिएको छ । बाढीले त्रिवेणी बजारतर्फको बाँध भत्काए भएपछि स्थानीय युवा सुरक्षा निकाय लगायतको सहयोगमा त्रिवेणीतर्फको बाँधको मर्मत गरिएको थियो । सुस्तातर्फ नदीले भत्काएको बाँधले बढी जोखिम निम्त्याएको गण्डक योजना कार्यालयका भुआर्जन अधिकृत अमित खडकाले बताउनुभयो । 

नवलपरासीमा नारायणी नदीको बाढीका कारण करिब दुई दर्जन गाउँहरु जोखिमा छन् । नारायणी नदीले खतराको निसान पार गरेपछि जिल्लामा सम्भाब्य जोखिमको उद्धारका लागि तीन वटै तहका सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।  

नारायणी नदीमा पानीको मात्रा लगातार बढ्दै गएको छ । नदीको किनारामा बसोबास गर्ने तटीय क्षेत्रका मानिसहरुलाई सावधान रहन सूचित गरिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी पोखरेलले बाताउनुभयो । अहिले नारायणी नदीमा ४ लाख ४० हजार क्युसेक प्रतिसेकेन्डको दरले पानीको बहाव पुगेको बताइएको छ ।