• १२ साउन २०८१, शनिबार

हाम्रो सम्पदा

आकाशयोगिनी विजयश्वरी

blog

धर्म-संस्कृतिमा विभिन्न शक्तिको स्रोतमा स्त्री शक्तिलाई विशेष महत्व दिएकोे छ । विभिन्न स्त्री देवीमा विजयश्वरीको आकाशयोगिनी पनि एक हो । आकाशमार्गबाट आएको हुँदा यस देवीलाई आकाशयोगिनी भनिन्छ ।

यसलाई विजयश्वरी वा विद्याधरी देवी पनि भन्ने गरिएको छ । नेवार समाजभित्र बिज्यासःद्यो, बेसःद्यो भन्ने गरिन्छ । प्रसिद्ध स्वयम्भू महाचैत्यबाट पूर्व र मध्य काठमाडौँको पश्चिम दिशाको बीचमा बगेको केशावती (विष्णुमती) र भद्रावती नदीको सङ्गमस्थल निर्मलतीर्थ (भचाखुसी)को नीलगिरि (नीलकूट) तथा उदयाञ्चल पर्वतको डाँडामा यसको मन्दिर स्थापना गरिएको छ ।

विजयश्वरी देवीको उत्पत्ति

विजयश्वरीको स्थापना कसरी हुन गयो भन्ने यकिन प्रमाण भेटिएको छैन तर पनि विजयश्वरी देवीको प्राचीनताका सन्दर्भमा बौद्ध र शैव, शाक्त मार्गीबीच आ–आफ्ना तर्क–वितर्क र धार्मिक विश्वास रहिआएको छ । इतिहासमा राजा गुणकामदेवले कलिगत वर्ष ३८२५ सालमा करवीर श्मशान, उत्तर दिशाको रक्षार्थ इन्द्रायणी लुति अजिमा पीठ, मनमय्जु पीठ, विजयश्वरी आकाशदेवी रहेको सहर बनाएको उल्लेख छ । विजयश्वरीस्थित आकाशयोगिनीको स्थापना सम्बन्धमा बौद्धमत र हिन्दुमतले हेर्न सकिन्छ ।

बौद्धमत

बौद्ध मतअनुसार स्वयम्भूको उत्पत्ति सम्बन्धमा स्वयम्भू पुराणको आधारमा निर्मलतीर्थको महात्म्यअनुसार पौराणिक कथाका रूपमा उल्लेख छ । विजयश्वरीको स्थापना गर्ने पनौतीका एक जानीमानी तान्त्रिक वज्रपाद वज्राचार्यले आफ्ना शिष्यलाई व्याकरण, छन्द शास्त्र, वेद वेदांत आदिको मन्त्रोच्चारण शास्त्रको ज्ञान दिने गर्दथे तर ज्ञानबाट पारङ्गत गर्ने कार्यमा जीवन अर्पण गर्दा पनि कहिल्यै जस पाउन नसकेकाले खिन्न भएर तान्त्रिक वज्रपाद वज्राचार्य पनौती देश छोडी कान्तिपुरको निर्मलतीर्थ भचाखुसि छेवैमै बस्न आएछन् ।

दिनहुँ बिहानीपख त्यस नदीमा नुहाई धुवाई गरिसकेपछि श्री स्वयम्भूको दर्शन गरी नदीबाट ल्याएको बालुवाकोे चैत्य बनाई पूजाआजा गरी पीपलको पातमा प्रज्ञापारमितामा रहेको षडक्षर मन्त्र ‘ओँं मणि पद्मे हुँ’ लेखेर खोलामा सेलाउने र साँझमा त्यसैमाथि रहेको करवीर श्मशानमा बसी ध्यान योग गर्ने दिनचर्या बन्यो वज्रपादको । यसरी तीर्थसेवा गर्दागर्दै छ वर्षपछि एकदिन वज्रपाद सधैँझैँ योगसाधनामा बसिरहँदा रातो वस्त्रधारण गरेकी, दायाँ हातमा कर्ति र बायाँ हातमा चाँदीको पात्र आदि लिएर उफ्रे जस्तो मुद्रामा आकाशयोगिनी विद्याधरी देवीकोे ज्योति रूप प्रकट भई वज्रपादलाई दर्शन मिल्यो ।

    1. विजयश्वरीस्थित आकाशयोगिनीको स्थापना सम्बन्धमा बौद्धमत र हिन्दुमतले हेर्न सकिन्छ ।
    2. धातुद्वारा निर्मित मूलदेवीमा पूर्वाभिमुख विद्याधरी आकाशयोगिनी छिन् भने त्यसको दायाँ, बायाँमा वज्रवाराही र वज्रयोगिनीको मूर्ति छ ।
    3. ग्रहदशा शान्तिका लागि जप र पाठ गर्ने तथा ‘पात्र थनेगु’ भनी पनि मानिस आउने गर्दछन् ।
    4. हरेक बाह्र वर्षमा विजयश्वरी विद्याधरी आकाशयोगिनीको कलेवर फेर्ने जात्राका लागि प्रतिष्ठा पूजा गरिन्छ ।

देवीले वज्रपादको पुरश्चरणबाट प्रसन्न भई अष्टसिद्धिको वरदान दिई अब उप्रान्त खिन्न हुनुपर्दैन र तिमीले गरेका हरेक कार्य सफल हुँदै जानेछन् भनी आशिर्वाद दिइन् । त्यसपछि वज्रपादले विद्याधरी विजयश्वरी देवीलाई सदैव त्यहीँ बसिदिन प्रार्थना गर्दा उनले आकाशमार्गमै विचरण गर्दै सम्पूर्ण प्राणीलाई रक्षा गरी हिँड्नुपर्ने कुरा बताइन् । त्यसपछि विद्याधरीले आफ्नो ज्योति छोडी त्यस ज्योतिलाई सधैँ पूजा गर्नु भनी अन्तध्र्यान भइन् । यही ज्योति र आकाशमा आफूले देखेको आकृतिअनुसार वज्रपादले विजयश्वरी देवीको स्थापना गरे ।

केही समयपश्चात् पनौतीका सबै शिष्य आफ्ना गुरु वज्रपादसित गुरुको सञ्चो बिसञ्चो थाहा पाउन र उनलाई पनौती फर्काउन  धन सम्पत्ति, पीतपीताम्बर, वस्त्र लिई कान्तिपुरको निर्मलतीर्थ आई वज्रपादलाई फर्काउन अनुरोध गर्न थाले तर उनले पनौती फर्किन मानेनन् । अन्ततः शिष्यहरूले आफूले ल्याएका सबै धन सम्पत्ति गुरुको चरणकमलमा राखी क्षमा माग्दै पनौती फर्किए । वज्रपादले आफ्ना शिष्यहरूबाट प्राप्त धन सम्पत्ति सही ठाउँमा प्रयोग होस् भन्ने भावनाले निर्मलतीर्थ शोभाभगवतीसँगै रहेको उदयगिरि पर्वतको माथिल्लो स्थानमा एउटा विहार तथा मन्दिर बनाई विजयश्वरी देवीको प्रतिमूर्ति दर्शनार्थ प्रतिष्ठा गरिदिए ।

हिन्दुमत

हिन्दुमार्गीहरूका अनुसार विद्याधरी देवीलाई देवगणका रूपमा नहेरी मानवीय अस्तित्व बोकेकी एक ब्राह्मणकी छोरीका रूपमा स्वीकार गरिएको छ । विजयश्वरी देवी मखनटोलका ब्राह्मणकी कन्या भन्ने स्पष्ट कुरा देवमाला वंशावलीमा उल्लेख छ । 

काठमाडौँको मखनटोलका नेवार राजोपाध्यायहरूले विद्याधरीलाई अहिले पनि आफ्नो छोरीका रूपमा लिई धार्मिक कार्य र अन्य संस्कार जस्तो घरमा बच्चा जन्मिँदा सुपारी, अदुवा, नुनका साथ टीकाटालो विद्याधरी देवीलाई चढाउनुपर्ने चलन छ । कोही मरेमा विद्याधरी देवीकहाँ भन्न पठाउनुपर्छ र जुठो फुकाउनु परेमा नेवार परम्पराअनुसार पिना (खौ) राख्नुपर्ने तथा श्राद्ध गर्दा जातकर्म, नामकर्म, व्रतबन्ध, विवाह र गुठी हुँदा पूजा लैजानुपर्ने परम्परा रहिआएको छ । 

विजयश्वरी मन्दिरको स्वरूप

हिन्दु र बौद्धहरूका आराध्य देवीहरूमध्ये विजयश्वरी देवीको मन्दिरभित्र विभिन्न योगिनीका मूर्ति छन् । धातुद्वारा निर्मित मूलदेवीमा पूर्वाभिमुख विद्याधरी आकाशयोगिनी छिन् भने त्यसको दायाँ, बायाँमा वज्रवाराही र वज्रयोगिनीको मूर्ति छ । तल दक्षिणाभिमुख गरी उभिएको खड्गयोगिनी पनि रहेको छ । अर्को एक नैरात्मा योगिनी सानो आकारको छ । यस्तै पश्चिमतिर पूर्वाभिमुख भएको गन्धुरी अक्ष्योभ्य बुद्ध ध्यानमुद्रामा रहेको एउटा विहारसमेत छ । 

मन्दिरभित्रको चोकमा चार चारवटा तीन लाइनमा गरी १२ वटा चैत्य द्वादशाङ्ग प्रतीत्य समुत्पादको दिव्य प्रतीकका रूपमा धर्मचक्र महाविहार भावनामा आधारित स्थापना गरिएको छ ।   विजयश्वरीभित्रका विभिन्न मूर्तिमा महामञ्जुश्री, सरस्वती देवी, विलँभाजुको सालिक, नारायणको एउटा मुहार र चार हात उठाएको, अक्ष्योभ्य बुद्ध भूस्पर्श मुद्रामा वज्रासनमा रहेका मूर्ति छन् । 

विजयश्वरी देवीको महत्व

बौद्ध र हिन्दु धर्मावलम्बीहरूले आस्था राख्ने प्राणी मात्रको कल्याण गर्ने देवी हुनाले श्रद्धालु भक्तजनहरू विभिन्न पूजा, भाकल लिएर आउने गर्छन् । काठमाडौँका नेवार आफ्नो शरीरको कुनै अङ्गमा पीडा हुँदा आइतबार बाहेक अन्य दिनमा विजयश्वरीको दोष हटाउन भनी ‘पुँइँहाय्केगु’ भन्दै कपासको प्युरीलाई १५ वा २१ तहको गोलामा सिम्रिक रङ्ग लगाई नागको प्रतीक मानी कसैलाई नछोइकन यहाँ विशेष ढक्की वा डोला (कलः)मा पूजा राखी आउने गर्छन् ।

धेरैजसो नेवार नवविवाहित दुलहीलाई विवाहको दोस्रो दिन ‘वंजला वनेगु’ भनी विजयश्वरीमा आई विद्याधरीको अगाडि विशेष पूजा गरिसकेपछि उभिएर देवतासामु दुलहाले दुलहीको सिउँदोमा सिन्दूर हाल्ने चलन छ । यस्तै ग्रहदशा शान्तिका लागि जप र पाठ गर्ने तथा ‘पात्र थनेगु’ भनी पनि मानिस आउने गर्दछन् ।

विजयश्वरीको विभिन्न पर्व जात्रामा बालाचह्रे पर्वका दिन विशेष जात्रा हुने गर्छ । जात्राका लागि बालाचहे्रको दिन विद्याधरी देवीको मूर्र्तिलाई खट्मा राखी मूलढोका अगाडि राखिएको हुन्छ । हरेक बाह्र वर्षमा विजयश्वरी विद्याधरी आकाशयोगिनीको कलेवर फेर्ने जात्राका लागि प्रतिष्ठा पूजा गरिन्छ । यसलाई ‘रङ्गाधिवासन’ लँपुछाय्गु, यस्तै पञ्चरङ्गारोहण पनि भन्ने गरिन्छ । विजयश्वरी देवीको पालो बस्ने कण्ठ सम्बन्धमा विजयश्वरी देवीकै पुजारी अत्तलखु विहारका शाक्यहरूको पाँचवटा कवलले पालो पालो बस्ने गरेको छ । 

Author

मुनीन्द्ररत्न वज्राचार्य