• १२ साउन २०८१, शनिबार

फेरियो चाडपर्व मनाउने शैली

blog

दोधारा चाँदनीअसोज २१ गते । पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने र दसैँको दिन शरीरका पाँच भागमा सेतो टीका लगाउने परम्परा रहेको थारु समुदायमा पछिल्लो समय अन्य समुदायको जस्तै घटस्थापनाका दिन नै जमरा राख्ने र रातो टीका लगाउने गरिन्छ ।

थारु अगुवाका अनुसार केही समययता चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । थारु अगुवा बलबहादुर डगौराले थारु समुदायमा परम्परा अनुसार दसैँको टीका सेतो लगाउने चलन रहे पनि अहिले रातो लगाउन थालिएको बताउनुहुन्छ । “हाम्रो परम्परा अनुसार दसैँमा सेतो टीका शरीरका पाँच भागमा लगाइन्छ”, उहाँले भन्नुभयो– “अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालेका छन् ।”    

समय अनुसार चाडपर्व मनाउने चलन पनि फेरिँदै गएको हो । कञ्चनपुरको सुडाका हरिकृष्ण भट्टले पहिला पहिला दसैँको बेला मन्दिरमा जाने पूजापाठ गर्ने, रातभर मन्दिरमा जाग्राम रहने र मान्यजनबाट जमरा ग्रहण गरी आशीर्वाद लिने चलन रहे पनि पछिल्लो समय दसैँ केवल खानपिनमा मात्रै सीमित भएको बताउनुभयो । “अहिले पहिलाको भन्दा फरक तरिकाले चाडपर्व मनाउन थालिएको छ”, उहाँले भन्नुभयो–“उतिबेला मन्दिरमा जाने चलन थियो, अहिले घुम्न जाने, रमाइलो गर्ने, खानपिनमा बढी ध्यान दिने गरिन्छ ।” अहिले पुस्ताले रमाइलोमा बढी ध्यान दिने गरेको उहाँको भनाइ छ ।    

अहिले प्रविधिको विकासले पनि चाडपर्व मनाउने चलन फेरिँदै गएको स्थानीय विष्णुदत्त पन्तले बताउनुभयो । “टाढा भए पनि प्रविधिको माध्यमले आफन्तसँगै भएको जस्तो हुन थालेको छ”, उहाँले भन्नुभयो–“इन्टरनेटको प्रयोगले विदेशमा रहेकाहरू ‘भर्चुअल’ माध्यमबाट टीका लगाएर खुसीयाली मनाउने तथा आशीर्वाद लिने गरेका छन् ।” रासस