• १३ असोज २०८१, आइतबार

चितवन नछाड्न दाहाललाई गठबन्धनको अपिल

blog

फाइल तस्बिर

शालिग्राम नेपाल 

चितवन, असोज १८ गते । चितवनको पाँचदलीय गठबन्धनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई चितवनबाटै निर्वाचन लडेर अभिभावकत्व लिन अनुरोध गरेको छ । गठबन्धनको मङ्गलबार भरतपुरमा बसेको बैठकले संयु्क्त रुपमा निर्णय सार्वजनिक गर्दै चितवन जिल्ला छाडेर अन्यत्र स्थानमा निर्वाचन लड्न नजान बैठकले अनुरोध गरेको हो । 

नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्र परिवर्तन नगरी चितवनबाटै निर्वाचन लडेर अभिभावकीय भूमिका निर्वाह गर्न अपिल गरेको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दहाल गठबन्धनको शीर्षनेताले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक हुँदैन त्यसैले पाँचदलीय गठबन्धनको बैठक बसेर उहाँलाई यहीँबाट सङ्घीय संसद्को निर्वाचनमा उठ्न अपिल गरेको कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताउनुभयो । 

दाहाललाई जिल्लामा निर्वाचन उठ्न असहज हुने भन्दै गोरखा २ बाट उठ्ने चर्चा चलेको छ । जिल्लामा उठ्ने वातावरण बिग्रँदै गएको भन्दै पाँच दलभित्र बहस चलेको थियो । मङ्गलबार भएको गठबन्धनको बैठकमा काँग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने, राष्ट्रिय जनमोर्चाबाट नेता विष्णु पौडेल, जसपाबाट प्रेम भुजेल सहभागी हुनुहुन्थ्यो ।