• १३ साउन २०८१, आइतबार

बस र ट्रक एकापसमा ठोक्किँदा १२ यात्रु घाइते, चार गम्भीर

blog

भिमदत्त राजमार्गमा सोमबार एक आपसमा ठोक्किएका बस र ट्रक । तस्बिर : सामाजिक सञ्जाल

पुष्कर भण्डारी 

डडेल्धुरा, असोज १७ गते । सुदूरपश्चिमको मुख्य राजमार्ग भिमदत्त राजमार्गमा बस र ट्रक एकापसमा ठोक्किँदा १२ यात्रु घाइते भएका छन् । कैलाली अत्तरियाबाट बझाङतर्फ गइरहेको सुदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको बझाङबाट धनगढीतर्फ गइरहेको ट्रक सोमबार दिउँसो एकापसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका हुन्  । 

राजमार्गको डडेल्धुरामा पर्ने सडकखण्ड महाभारत पर्वतको आलिताल गाउँपालिका –१ घण्टेश्वरमा बस र ट्रक एक आपसमा ठोक्किएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार घाइते ४ जनाको अवस्था गम्भीर छ । घाइते अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उपचारका लागि घाइते २ जनालाई धनगढी र २ जनालाई डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले बताएको छ । घाइते सबैको पहिचान खुलेको छैन । बसमा २४ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।