• ८ मंसिर २०८१, शनिबार

१० खेलाडीको ओसासुनासँग रियलको बराबरी

blog

स्पेनिस ला लिगामा प्रतिस्पर्धा गर्दै रियल र ओसासुनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज १७ गते ।  साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा रियल तुलनात्मक रूपमा कमजोर टोली ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

रियललाई १० खेलाडीमा समेटिएको ओसासुनाले कडा टक्कर दिएको थियो । रियलका लागि भिनिसियस जुनियरले गोल गर्नुभयो । ओसासुनाका किकेले बराबरी गोल फर्काउनुभएको थियो ।

खेलको सुरुवात देखिनै आक्रामक देखिएको रियलले पहिलो हाफको अन्तिममा गोल गरेको थियो । ४२औँ मिनेटमा भिनिसियसले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । उहाँले डेभिड आलाबाको पासमा गोल गर्नुभएको हो । त्यसपछि दोस्रो हाफको सुरुवातमै ओसासुनाले बराबरी गोल फर्कायो ।

किकेले ५०औँ मिनेटमा युनाई गार्सियाको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउनुभयो । तर, ७८औँ मिनेटमा ओसासुना १० खेलाडीमा समेटियो । विपक्षी करिम बेन्जेमालाई फल हानेपछि डेभिड गार्सिया सोझै रातो कार्ड पाउँदै बाहिरिनु भएको थियो ।

त्यसको फाइदा रियलले उठाउन भने सकेन । अन्तिममा खेल बराबरीमा सकियो । यस बराबरीसँगै रियलले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । लिगमा सात खेल सकेको रियल १९ अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ ।

समान १९ अङ्क बनाएको बार्सिलोना गोल अन्तरका आधारमा शीर्षस्थानमा छ । रियललाई रोकेको ओसासुना १३ अङ्कसहित छैटौँ स्थानमा छ ।

अन्य खेलमा रियल सोसिडाडले गिरोनालाई ५-३ र सेल्टा भिगोले रियल बेटिसलाई १-० गोलले पराजित गरेको छ । दुवै टोली १० खेलाडीमा समेटिएको अर्को खेलमा स्पान्योल र भ्यालेन्सियाले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी