• १३ साउन २०८१, आइतबार

बाढी प्रभावितलाई बासकै चिन्ता

blog

अविनाश चौधरी

धनगढी, असोज १७ गते । गाउँसहर, सबैतिर दशैं पर्वको उल्लास छ । किनमेलमा नेपाली व्यस्त छन् तर बाढी प्रभावित पार्वती विकलाई भने के खाने, के लगाउने चिन्ता । भजनी नगरपालिका–८, काँढाढिककी पार्वतीको घर अब घर जस्तो रहेन ।

दशैंको मुखैमा गत असोज १ गते आएको बाढीले घरलाई गोठजस्तो बनाइदियो । भत्किएका भित्तासमेत मर्मत गर्न सक्नुभएको छैन उहाँले । “भएको अन्नपात बाढीले सबै बगायो,” उहाँले दुखेसो गर्नुभयो, “के गरी दशैँ मनाउने ?”

विकका अनुसार अहिलेसम्म राहतका नाममा एउटा÷एउटा त्रिपाल, झुल र हाइजेनिक कीट मात्रै मिलेको छ । छाक टार्न नै धौ–धौ भएकाले मनमा दशैंको कुनै पनि उमङ्ग नरहेको उहाँको भनाइ छ । 

त्यस्तै काँढाढिककै रति ढकाललाई पनि दशैंको रमझमले छुन सकेको छैन । घरमा रहेका खाद्यान्न बाढीले बगाएपछि उहाँको दिन चिन्तामै बितिरहेको छ । दशैँ आए पनि मनमा खुसी, उमङ्ग नआएको ढकालको भनाइ छ । “दशैँ त आयो तर हामी बाढी प्रभावितहरूको मनमा न उमङ्ग छ न त खुसी,” उहाँले भन्नुभयो । विक र ढकाल त प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । अहिले धेरै बाढी प्रभावितको अवस्था उहाँहरूको जस्तै छ । केही दिनअघि मात्रै बाढी डुबानका कारण दुःखमा परेका उनीहरू कसरी चाडपर्व मनाउने भन्ने चिन्तामा छन् । 

घरमा भएको खाद्यान्न बाढीले बगाएर लगेको छ । बग्नबाट जोगिएको खाद्यबाली भिजेर नष्ट भइसकेको छ । पर्वमा मीठोमसिनो खानेभन्दा पनि दुई छाक कसरी टार्ने, त्यसको चिन्ता आफूहरूलाई रहेको भजनी नगरपालिका–८, सोनाफाँटाको तुल्सीदेवी चौधरीको भनाइ छ । “चाडपर्वमा त के, साँझ–बिहान नै के खाने भन्ने चिन्ता छ,” उहाँले भन्नुभयो, “यहाँ सबैको अवस्था यस्तै छ । मीठो खान, राम्रो लगाउनका लागि कसको अगाडि हात जोड्नु ?” 

दुई हप्ताअगाडि आएको बाढीले कैलालीको भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकामा ठूलो नोक्सान ग¥यो । सबैभन्दा बढी प्रभावित भजनी नगरपालिकामा छन् । कैयौँ स्थानीय घरबारविहीन भएका छन् भने घर जोगिएकाहरूको घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा जोगिएन । उनीहरू सडकमा भागेर ज्यान त जोगाए तर घरभित्रको सरसामान जोगाउन सकेनन् । ती प्रभावितहरूलाई चाडपर्व कसरी मनाउने भन्ने चिन्ता छ । 

दशैंका लागि सम्पूर्ण परिवारलाई खाद्यान्न वितरण गर्न नसकिएको भजनी नगरपालिकाले जनाएको छ । अत्यन्त नाजुक अवस्था भएका करिब २५० परिवारलाई मात्रै २५ केजीका दरले चामल वितरण गरिएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष विक्रम चौधरीले बताउनुभयो । 

“प्रभावित यति धेरै छन् कि हामीले सबैलाई चामल दिनै सकेका छैनौँ,” उहाँले भन्नुभयो, “त्यसैले हामीले सम्पूर्ण सहयोगी सङ्घसंस्थाहरूलाई चामल र त्रिपाल मात्रै दिन आग्रह गरेका छौँ ।” भजनी नगरपालिकाका करिब साढे सात हजार परिवार बाढीले प्रभावित भएका थिए । जसमध्ये तीन हजार तीन सय परिवार विस्थापित भएका थिए । विस्थापित भएकाहरू अब फर्केर घर मर्मत, सरसफाइलगायतका कार्य गरिरहेका प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।