• १३ असोज २०८१, आइतबार

खैरहनीमा अतिक्रमण हटाउन थालियो

blog

चितवन समाचारदाता

चितवन, असोज १७ गते । चितवनको खैरहनी नगरपालिकाले बजार व्यवस्थापन तथा अतिक्रमण हटाउने काम सुरु गरेको छ । सडक तथा सार्वजनिक क्षेत्रमा बनाएका घर टहरा तथा बजारको संरचना हटाउन सुरु गरेको हो । सार्वजनिक क्षेत्र मिचेर व्यवसाय सञ्चालन गर्दा बजार अव्यवस्थित तथा कुरुप बनेको थियो ।

बजार व्यवस्थापनका लागि खैरहनी नगरपालिकाले जारी गरेको सूचनाप्रति अटेर गर्नेहरूमाथि नगरपालिका कठोर बनेको हो । पसलको सटरभन्दा बाहिर राखेका व्यवसायजन्य वस्तु हटाउन नगरपालिकाले आग्रह गरेको छ भने पोलहरूमा रहेका प्रचार सामग्री जफत गरेको छ । खैरहनी नगरपालिकाले इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा आफ्ना प्रहरी खटाएर व्यवस्थापनको काम सुरु गरेको हो । “सडक अतिक्रमण गरेर कसैले पनि व्यवसाय गर्न पाउँदैन,” खैरहनी नगरपालिकाका नगरप्रमुख शशि खनियाँले भन्नुभयो, “सुन्दर र व्यवस्थित सहर निर्माणमा सबैको सहयोग चाहिन्छ ।” बजार व्यवस्थापनका लागि नगरले सार्वजनिक सूचना जारी गरेकोमा त्यसको सबैले पालना गर्नुपर्ने प्रमुख खनियाँले बताउनुभयो ।

ठेला, घुम्तीजन्य व्यवसायले बजारको सौन्दर्य हराउनुका साथै सडक पनि साँघुरो भएर पैदलयात्रुलाई आवतजावतमा समेत समस्या पर्दै आएको छ । ठेला, रिक्साजन्य व्यवसाय बिस्तारै हट्ने क्रममा रहेको नगरप्रमुख खनियाँले जानकारी दिनुभयो ।