• १३ असोज २०८१, आइतबार

‘डम्फु जीवन्त सङ्ग्रहालय’ निर्माण

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, असोज १७ गते । बीपी राजमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने उद्देश्यले जिल्लाको रोशी गाउँपालिकाले बीपी राजमार्गछेउमा ‘डम्फु पार्क’ निर्माण सुरु गरेको छ । गाउँपालिकाले बीपी राजमार्ग भएर जाने यात्रुका लागि विश्राम तथा मनोरञ्जन स्थलका रूपमा विकास गर्ने उद्देश्यले वडा नम्बर–११ मा डम्फु पार्कसहितको तामाङ सङ्ग्रहालय निर्माणको काम अगाडि बढाएको हो ।

“गाउँपालिकाको तल्लो भेगलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिकाले डम्फु जीवन्त सङ्ग्रहालय निर्माण सुरु गरेको हो,” गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँले डम्फु पार्क निर्माणपछि बीपी राजमार्गमा यात्रा गर्ने यात्रुलाई आधा÷एक घण्टा विश्राम गर्ने र तामाङ संस्कृतिका बारेमा अध्ययन गर्ने थलोका रूपमा विकास हुने बताउनुभयो ।

उहाँले सङ्घीय सरकारको सहयोगमा निर्माणाधीन सङ्ग्रहालयको हालसम्म डम्फु मात्रै निर्माण सम्पन्न भएको बताउँदै आगामी दुई वर्षभित्र पार्क, सङ्ग्रहालयलगायतका सबै काम पूरा हुने बताउनुभयो । “गाउँपालिकाले अघि बढाएको यो कार्यक्रम गाउँपालिकाको गौरवको योजना हो,” अध्यक्ष लामाले थप्नुभयो । गाउँपालिकाका इन्जिनियर भूपेन्द्र अधिकारीले आर्थिक वर्ष २०७७÷०७८ बाट डम्फु जीवन्त सङ्ग्रहालय निर्माणको काम सुरु गरिएको बताउनुभयो ।

उहाँले प्राकृतिक विपत्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै नौ डायमिटरको डम्फु निर्माण गरिएको बताउनुभयो । उहाँले सङ्ग्रहालयका लागि भवन, पुस्तकालय भवन, पिकनिक स्थल, पार्किङ स्थल र बगैँचा निर्माणको काम बाँकी रहेको बताउनुभयो ।

इन्जिनियर अधिकारीले सङ्ग्रहालय निर्माण गर्न करिब ११ करोड रुपियाँ रकम लाग्ने भन्दै हालसम्म दुई करोड ६० लाख रुपियाँ खर्च भइसकेको र चालू आर्थिक वर्षमा सङ्ग्रहालय र पुस्तकालय भवन निर्माण गर्न सङ्घीय सरकारको तीन करोड र गाउँपालिकाले २५ लाख रुपियाँ विनियोजन गरेको बताउनुभयो ।

सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा तामाङ जातिको जनजीवनमा प्रयोग हुने सामग्री र पुस्तकालयमा तामाङ भाषाका पुस्तक रहनेछन् ।