• १३ असोज २०८१, आइतबार

देवीका मन्दिरमा भक्तजनको भीड

blog

मकवानपुर समाचारदाता

हेटौँडा, असोज १७ गते । हिन्दु धर्मावलम्बीहरूको महŒवपूर्ण पर्व विजयादशमीको सातौँ दिन आइतबार मकवानपुर जिल्लाका विभिन्न स्थानमा रहेका देवीका मन्दिरमा दर्शनार्थी तथा पूजाआजाका लागि भक्तजनको भीड लागेको छ ।

फूलपातीको दिन सबेरैदेखि पूजा सामग्रीसहित देवीका मन्दिरहरूमा भक्तजन पूजाआजा र साधनाका लागि पुगेका थिए ।

यस क्षेत्रकै शक्तिपीठ भुटनदेवी मन्दिरसँगै हेटौँडाका चुरियामाई, दक्षिणकाली, वनस्खण्डी, पाथीभरा, त्रिवेणीधामस्थित देवीको मन्दिर, मकवानपुरगढी गाउँपालिकास्थित मनकामना, थाहा नगरमा रहेका वज्रवाराहीलगायतका मन्दिरमा लामबद्ध भएर भक्तजनले श्रद्धापूर्वक दर्शन एवं पूजाआजा गरेका छन् । फूलपाती भिœयाउने र बिदाको दिनसमेत भएकाले नवरात्र सुरु भएयताका दिनमध्ये फूलपातीको दिन भक्तजनको ठूलो उपस्थिति थियो ।

उता देवीका मन्दिरमा कतिपय भक्तजनले कुखुरा, हाँस, बोकालगायतका पशुपन्छीको बलि चढाउन र सवारीसाधनको पूजाआजा गर्न व्यस्त देखिन्थे । पशुपन्छीको बलि नचढाउनेहरूले नरिवलको बलि दिएका छन् ।

साथै जिल्लाको विभिन्न स्थानमा दुर्गापूजा समितिले माटोको देवीको मूर्ति र अस्थायी पूजा स्थल निर्माण गरी पूजाआजाको व्यवस्था मिलाएका छन् ।

हेटौँडा १० स्थित शक्तिपीठ भुटनदेवी मन्दिर र हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा बाजागाजासहित फूलपाती भिœयाइएको छ ।

भुटनदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भक्तजनको सहभागितामा झाँकीसहित बजार परिक्रमा गरी फूलपाती भिœयाइएको थियो ।

यहाँका देवीका मन्दिरमा नवरात्र सुरु भएदेखि नवमीसम्म बलि दिने र आफ्ना सवारीसाधनको पूजाआजा गर्ने प्रचलन छ । साथै घरघरमा हिन्दु परम्पराअनुसार फूलपाती भिœयाउने प्रचलन छ ।

शक्तिपीठ र देवीका मन्दिरहरू निर्माण भए पनि देवी पूजाका नाममा विभिन्न स्थानमा माटाका मूर्ति निर्माणमा हुने गरेको लाखौँ रुपियाँ खर्च हुने गरेको छ ।

धार्मिक आस्थाका आधारमा लाखौँ खर्चेर निर्माण गरिने माटाका मूर्ति दशैँ सकिएसँगै खोला, नदीआसपासका क्षेत्रमा विसर्जन गरेर उपयोगितासमेत समाप्त हुने गरेको छ ।

बजारमा भीडभाड कम

नवरात्रि सुरु भएयताको दिनको तुलनामा फूलपातीको दिन हेटौँडा बजारमा भीडभाड कम र सवारीसाधनको आवागमनको चाप कम रह्यो । दशैँका लागि गाउँघर जाने बढ्दै गएपछि बजारमा किनमेललगायतका कामका लागि हेटौँडा बजारमा गतिविधि कम देखिन्थ्यो ।

बजार क्षेत्रमा चहलपहल घट्दै गएपछि दशैँका लागि गाउँघर जाने बढेसँगै गाउँघरमा चहलपहल र दशैँको रौनक बढ्दै गएको छ । फूलपातीको दिनसमेत हेटौँडा–१० स्थित खसीबजारमा उपभोक्ता र व्यापारीहरू खसीबोकाको किनबेचका लागि मोलमोलाइमा व्यस्त देखिन्थे ।