• ६ जेठ २०८१, आइतबार

लघु बीमाका लागि ३१ कम्पनीको आवेदन

blog

काठमाडौँ, असोज १६ गते । न्यून आय भएका व्यक्तिलाई बीमाको दायरामा ल्याउन लघु बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको छ । लघु बीमा सञ्चालन गर्ने अनुमतिका लागि ३१ वटा कम्पनी इच्छुक देखिएका छन् । 

नियामक निकाय बीमा समितिले भदौ १० गते लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन आह्वान गरेकोमा ३१ वटा आवेदन परेको हो । समितिका अनुसार १५ वटा लघु जीवन बीमा कम्पनी र १६ वटा लघु निर्जीवन बीमा कम्पनीले आवेदन दिएका हुन् । समितिले प्राप्त आवेदनमध्ये तीनवटा जीवन बीमा र चारवटा निर्जीवन बीमा गरी सात लघु बीमा कम्पनीलाई मात्रै लाइसेन्स वितरण गर्नेछ । 

समितिको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले लघु बीमक संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो । सोही निर्देशिकाका आधारमा लघु बीमा सञ्चालनका लागि समितिले आवेदन माग गरेको हो ।

समितिले लघु बीमा कम्पनी स्थापनाका लागि प्रस्ताव आह्वान गर्नुअघि नै करिब एक दर्जन कम्पनीले आवेदन दिएका थिए । ती आवेदन रद्द गर्दै नयाँ प्रस्ताव आह्वान गरिएको हो ।

मुलुकका ठूला कम्पनीले लघु बीमामा जान नमानेपछि नियामक निकाय बीमा समितिले नयाँ लघु बीमा कम्पनी स्थापना गर्न लागेको हो । हाल सञ्चालनमा रहेका बीमा कम्पनीले लक्ष्य पूरा गर्न नसक्दा लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्न लागिएको समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो । बीमा कम्पनीले समितिको निर्देशन अनुसार लक्ष्य पूरा गर्न नसक्दा लघु बीमा व्यवसाय गर्नकै लागि लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्न लागिएको समितिले जनाएको छ । अहिलेका बीमा कम्पनीले समग्र व्यवसायमा दुई प्रतिशत मात्रै लघु बीमा गरेको जानकारी दिँदै अध्यक्ष सिलवालले भन्नुभयो, “नेपालमा २५ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको छ । गरिबी निवारणको एउटा उपकरण लघु बीमा पनि एक हो ।”

ग्रामीण एवं दुर्गम भेगमा बसोबास गर्ने जनताले आफ्नो स–सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडीबुटीलगायतको बीमा गरी जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्न लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्न लागिएको समितिले जनाएको छ ।

लघु बीमा कम्पनीहरू ग्रामीण इलाकामा जाने र त्यहाँका उपभोक्ता समूह, सहकारी, आमा समूह, युवा समूह, क्लबलगायतका माध्यमबाट सानो सानो बीमाङ्कको बीमा गर्ने भएकाले उनीहरूले सजिलै लघु बीमा गर्नसक्ने समितिको भनाइ छ ।

स्थानीय सरकारले पनि यस्ता लघु बीमा कम्पनीमार्फत गरिब जनताको बीमा गर्नसक्ने भन्दै समितिका अध्यक्ष सिलवालले स्थानीय सरकारले अनुत्पादनमूलक क्षेत्रमा खर्च गर्ने बजेटलाई नियमित रूपमा बीमामार्फत सुरक्षित गर्न सक्ने र दीर्घकालीन दायित्वबाट बच्न सक्ने बताउनुभयो । नयाँ लघु बीमा कम्पनी आएपछि पनि अहिलेका बीमा कम्पनीले पनि लघु बीमा गर्न सक्ने छन् तर अब लघु बीमा कम्पनीको स्थापनासँगै जम्मा व्यवसायको १० प्रतिशत लघु बीमा व्यवसाय गर्नुपर्ने लक्ष्य भने नहुने भएको छ ।

गत आर्थिक वर्षको बजेट वक्तव्यमा कुल बीमाको दायरामा रहेको जनसङ्ख्यामा लघु बीमाको हिस्सा १० प्रतिशत पुराउनुपर्ने लक्ष्य रहेको थियो तर उक्त लक्ष्य पूरा हुन सकेको छैन । कुल बीमाको दायरामा रहेको जनसङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भए पनि लघु बीमाको हिस्सा न्यून भएका कारण नेपाल सरकारले दुर्गम पिछडिएका र न्यून आय भएका वर्गमा बीमाको पहुँच पुर्‍याउने उद्देश्यले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा लघु बीमा कम्पनी स्थापना गर्ने उल्लेख गरेको छ ।

चुक्ता पुँजी ७५ करोड

प्रस्तावित लघु बीमा कम्पनीको चुक्ता पुँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपियाँ हुनुपर्ने छ भने संस्थापकहरूले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीमा हुन नहुने समितिले जनाएको पनि व्यवस्था गरेको छ । लघु बीमा संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका अनुसार लघु बीमा सञ्चालन गर्न पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने कम्पनीले चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्छ । 

यस्तै संस्थापकको पनि न्यूनतम ५१ प्रतिशत सेयर हुनुपर्ने निर्देशिकामा व्यवस्था छ । लघु बीमा कम्पनीको कर्पोरेट कार्यालय काठमाडौँ उपत्यका बाहिर हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।

कसले दिए आवेदन ?

लघु बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन दिने कम्पनीमध्ये जीवन बीमातर्फ स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो लाइफ इन्स्योरेन्स, गरिमा माइक्रो लाइफ, सीजी लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिम शिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा, स्वर्गद्वारी लघु जीवन बीमा कम्पनी रहेका छन् ।

निर्जीवन बीमा कम्पनीतर्फ नियो लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेस्ट माइक्रो इन्स्योरेन्स, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो जनरल, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, गरिमा माइक्रो इन्स्योरेन्स, सीजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेनस, स्टार माइक्रो इन्स्योरेन्स, केयर माइक्रो जनरल र अभियान लघु बीमाले आवेदन दिएका छन् ।

Author

भेषराज बेल्बासे