बाबुराम शर्मा
चरीकोट, असोज १६ गते । तामाकोसी नदीका तेल दल्ने साँघु लोप हुन लागेकोमा जमानामा निजी लगानी गरेर निर्माण गर्नेलाई भन्दा स्थानीयवासीलाई चिन्ता लागेको छ ।
तामकोसी नदीका वारपार गर्न लामाबगर, साँघुरे, सुरीदोभान, भोर्ले, सिँगटी, पिखुती, नागदहलगायतका स्थानमा यस्ता साँघु बनेको ७७ वर्षीय बलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार यी सबै व्यक्तिले आफ्नै खर्चमा बनाएका हुन् । सय वर्षअघिका धेरै साँघु मासिए पनि जामुनेमा रहेको साँघु नदीमा खस्ने अवस्थामा रहेको छ । तत्कालीन समयमा पुर्खाले बनाएका यस्ता साँघु संरक्षण भएको भए राम्रो हुन्थ्यो ।
संरक्षण गर्ने भन्छन् तर साङ्लाले ठाउँ छाड्न थालिसके । तामाकोसी नदी तरेर ऊ बेला लुगाफाटो किन्न गएको सम्झना ताजै छ, ७४ वर्षीय रत्नबहादुर जिम्बालाई । २०१९ सालमा १३ वर्षको उमेर उहाँ पहिलो पटक काठमाडौँ लुगा किन्न पुग्नुभएको थियो । उहाँले भन्नुभयो, “तामाकोसी नदीमा बनेको स्थानीय भाषामा फलामे साँघु तरेर एक हप्ता लगाएर काठमाडौँ पुगेको थिएँ । तामाकोसी नदी तर्न ठाउँठाउँमा फलामे साँघु हालिएका थिए । यी फलामे साँघु तत्कालीन सरकारले नभएर व्यक्तिले बनाएका थिए । रामेछापको ठोसे मेक्चनमा रहेको फलाम खानीबाट काँचो फलाम बोकेर हप्तौँ लगाएर फलाम ल्याइन्थ्यो ।
यो फलामलाई साँघु निर्माण स्थलमा आरन राखेर कालीगडले साङ्लोको आकार दिन्थे । तत्कालीन समयमा यस्ता साँघु बनाउन कम्तीमा छ महिना लाग्ने गरेको बताउँदै उहाँले भन्नुभयो, काँचो फलाम डोकोमा बोकेर ल्याइन्थ्यो । म जन्मनुअघि बाउबाजेको पालामा बनेको हो, साँघु । बाउबाजेले भनेकै आधारमा हामीले थाहा पाएका हौँ । तामाकोसी नदीमा यस्ता फलामे साँघु बाजेकै पालामा बनेकाले कहिले बन्यो ? भनेर यकिन गर्न नसकिने बताउँदै रत्नबहादुरले भन्नुभयो, “तत्कालीन बुलुङ र खारे जोड्ने फलामे साँघु प्रयागराज पण्डितले आफ्नै खर्चमा बनाउनुभएको हो । २००३ सालमा यो साँघुमा दोस्रो साङ्लो थपिएको मलाई सम्झना छ ।
७७ वर्षीय खड्कालाई प्रयागराजले साँघु रेखदेखका लागि गुठीको जग्गा दिएर ल्याउनुभएको थियो । खड्काले भन्नुभयो, “प्रयागराजले साँघु मात्रै बनाउनुभएन, साँघु रेखदेखका लागि आफ्नो निजी जग्गा गुठी बनाएर तेल दल्ने व्यवस्था मिलाउनुभयो । यो गुठीको जग्गा दिएर २५ वर्षको उमेरमा बलबहादुरलाई साँघु रेखदेखका जिम्मा दिइएको थियो । २०२८ सालमा प्रयागराजको निधनपछि यो साँघुमा तेल दल्न छाडिएको बलहादुरले बताउनुभयो । घामपानीले फलामका साङ्लामा खिया लाग्ने र चुँडिने हुँदा प्रत्येक वर्ष साँघुका साङ्लामा विशेष तरिकाले तेल दलिन्थ्यो । उहाँले भन्नुभयो, “२०२८ सालपछि साँघुमा तेल दल्न बन्द भयो । त्यपछि आधा शताब्दी भयो साँघुमा तेल दल्न छाडेको । २०४४ सालमा पञ्चायत सरकारले साँघु मर्मत गरिदिएपछि यो पुल मर्मत भएको छैन ।”
गत २०४५÷४६ सालमा सुरीदोभानमा ट्रस्टको झोलुङ्गे पुल बनेपछि अलपत्र अवस्थामा रहेको साङ्ला बोकर ल्याई जामुनेमा साँघु सार्नुभएको थियो ८३ वर्षीय अच्युतप्रसाद आचार्यले । उहाँले सोही वर्ष यो फलामे साँघुमा तेल दल्नुभएको थियो । यो साँघु पहिराले क्षति गरेपछि साङ्ला अलपत्र थिए । “जसले बनाएको भनेर दाबी गरे उनैले लगेको हुनुपर्छ,” उहाँले भन्नुभयो, “म जन्मनु भन्दाअघिका साँघु हुन् यी । कम्तीमा पनि डेढ सय वर्ष पुराना फलामका यस्ता साँघु अहिले हराए । साँघु बनाएको मैले पनि बुबाको मुखबाट मात्रै सुनेको हो । यस्ता साँघुमा घोडासमेत तारिन्थ्यो ।”
लत्ताकपडा किन्न काठमाडौँ जाँदा धेरै यस्ता साँघु तरेर दुई हप्ता लगाएर पुगी फर्कन्थे । उहाँले भन्नुभयो, “अहिलेसम्म केही भएको छैन, कति बलियो रहेछ । काँचो फलाम हप्तौँ लगाएर बोकेर ल्याइन्थ्यो । साँघु बनाउने स्थलमा भारीका भारी दाउरा ल्याएर फलाम गालेर साङ्ला बनाइन्थ्यो ।
त्यसपछि ढुङ्गामा गहिरो प्वाल खोपेर फलामका ठेडी गाडिन्थ्यो । सो ठेडीमा अङ्कुश बनाएर साङला तन्काएर साँघु हालिन्थ्यो । साँघुमा स्थानीय टुनी जातका फल्याक हालिने गरिन्थ्यो । साँघु तर्दा हल्लिन्थ्यो तर साङ्ला कसिलो भएकाले चँुडिने डर थिएन । तत्कालीन समयमा फलामे साङ्लाले बनेका साँघुको उपमा पाएका यस्ता साँघुमा वर्षमा एक पटक तेल दल्ने चलन थियो । व्यक्तिले बनाएकाले कुनै पनि साँघु कहिले बनाइयो भनेर लिपि राखिएको थिएन । स्थानीयवासीका अनुसार तामाकोसी नदीमा यस्ता फलामे साँघु डेढ सय वर्ष अघिदेखि थिए । खासगरी तामाकोसी कोरिडोर चीन–नेपाल–भारत व्यापारिक मार्ग पनि हो । व्यापारिक मार्गकै कारण देशकै पुरानोमध्येको लामाबगर भन्सार कार्यालय अझै पनि छँदै छ ।