• ११ असोज २०८१, शुक्रबार

निर्वाचन निष्पक्ष बनाउन पाँचथरका राजनीतिक दल एकमत

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनपछि समूहिक तस्बिरमा कार्यक्रममा उपस्थित दलका प्रतिनिधिलगायत। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज १५ गते। पाँचथर जिल्लाका प्रमुख राजनीतिक दलले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दलका नेताले यस्तो बताएका हुन्। 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बेले निर्वाचनमा ठूला दलबाट आचारसंहिता उल्लंघन हुने भन्दै सचेत हुन निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराउनुभएको छ। 

जनता समाजवादी पार्टीका जिल्ला सचिव कमलराज नेम्वाङले कानुन सबैका हकमा लागू हुने भएकाले दलहरुले आचारसंहिताको पालना गरे निर्वाचन स्वच्छ र निष्पक्ष हुने धारणा राख्नुभयो।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तुलसी थापाले विगतमा पनि पाँचथरमा शान्तिपूर्वक निर्वाचन सम्पन्न भएको भन्दै स्वस्थ प्रतिस्पर्धा गर्न दल प्रतिबद्ध रहेको बताउनुभयो। 

नेपाली कांग्रेसका जिल्ला सभापति रुपनारायण जवेगूले सुरक्षा निकाय, कर्मचारी, निर्वाचन कार्यालय र दलको निरन्तर संवादले निर्वाचन निष्पक्ष गर्न सहयोग पुग्ने बताउनुभयो। 

कार्यक्रममा जनमुक्ती पार्टीका जिल्ला अध्यक्ष हेम योङहाङ, राप्रापा जिल्ला उपाध्यक्ष झलक थापा, नेकपा (एकीकृत समाजवादी)का जिल्ला सदस्य खड्ग बोहोरा लगायतले निर्वाचन धाँदलीरहित बनाउन सहयोग गर्ने प्रतिबद्वता जनाउनुभएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले निर्वाचनमा आवश्यकता अनुसारको शान्ति सुरक्षाको प्रबन्ध गर्न सुरक्षा निकाय तत्पर रहेको बताउनुभयो। 

मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले दलको सद्भाव र समन्वयबाट मात्रै निर्वाचन सफल हुने भन्दै सहयोग गर्न आह्वान गर्नुभयो। फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले मतदानका क्रममा अपांगता भएका ज्येष्ठ नागरिक र बिरामीलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।