• ११ असोज २०८१, शुक्रबार

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछिको सामूहिक तस्बिर। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १५ गते। ताप्लेजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङ जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश निर्मला योङ्याले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयको शुभारम्भ गर्नुभएको हो। मुख्य निर्वाचन अधिकृत योङ्याले कार्यालयको शुभारम्भ गर्नुहुँदै आगामी निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबै पक्षसँग सहयोगका लागि आग्रह गर्नुभयो। 

उहाँले लोकतन्त्रको आधार स्तम्भका रुपमा रहेको निर्वाचनलाई मर्यादित बनाउनका लागि राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज, सञ्चार क्षेत्र तथा आम मतदाताको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। 

निर्वाचन आचारसंहिताको पूर्ण पालनाका लागि सम्बन्धित सबैलाई उहाँले आग्रह पनि गर्नुभयो। शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सबै पक्षको सहयोग रहेमा निर्वाचन भयरहित र शान्तिपूर्ण ढङ्गमा सम्पन्न हुनेमा कुनै शङ्का नरहने बताउनुभयो।

यस्तै प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउनमा राजनीतिक दलको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो। जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले निर्वाचनलाई मर्यादित बनाउनका लागि सबै राजनीतिक दल तथा उम्मेदवारले स्वच्छ प्रतिस्पर्धाको सोच लिएर चुनावी मैदानमा उत्रनुपर्ने धारणा राख्नुभयो।

 कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। यता मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापनासँगै जिल्लामा निर्वाचनको गतिविधि सुरु भएको र अब चाँडै सबै राजनीतिक दलको सहभागितामा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया गरिने जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो।