• १० वैशाख २०८१, सोमबार

हाम्रा सम्पदा

उत्खननको पर्खाइमा गोटिहवा

blog

कपिलवस्तु, असोज १५ गते । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा बजारदेखि दक्षिण पश्चिमको चार किलोमिटर र कुदान अर्थात् निग्रोधरामबाट दुई किलोमिटर पश्चिम गोटिहवा गाउँको खुला र हरियालीको बिचमा रहेको छ अशोक स्तम्भ । जुन क्रकुच्छन्द बुद्धसँग सम्बन्धित रहेको छ ।

सम्राट् अशोकको धर्मयात्रामा सर्वप्रथम सम्राट् अशोक बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न आएका थिए । आफ्नो पूर्वजहरूका बारेमा बुद्धद्वारा दिर्घनिकाय महापदान सुन्तमा देशना गरेको विषयलाई सम्झँदै कपिलवस्तु क्षेत्रमा रहेको कोणागमन बुद्धसँग सम्बन्धित निग्लिहवा र क्रकुच्छन्द बुद्धसँग सम्बन्धित गोटिहवामा पुगी आफ्नो श्रद्धा व्यक्त गरेका थिए ।



आफ्नो सम्झना र उपस्थित जनाउन कोणागमन क्रकुच्छन्द बुद्धका बारेमा लोकले जानुन् भनी यही स्तम्भ र स्तुपा निर्माण गर्न लगाएका थिए ।

गोटिहवाको अशोक स्तम्भको माथिल्लो भाग फुटेको देख्न नपाइए पनि व्होयनसांगले आफ्नो यात्राको क्रममा गोटिहवाको स्तम्भमा पनि अभिलेख देखेका थिए । यस स्तम्भ अभिलेखमा पनि निग्लिहवा स्तम्भको जस्तै भाषा रहेको अनुमान गर्न सकिन्छ ।

गोटिहवाको स्तम्भको माथिल्लो भाग उपलब्ध नभई अभिलेख देख्नमा नआए तापनि दिव्यावदान साहित्यले सम्राट् अशोकको स्पष्ट उपस्थितिको बारेमा वर्णन गरेको छ । त्यसो त सम्राट् अशोकको कपिलवस्तु यात्रामा स्तम्भ र स्तुपाको निर्माण गरेको थियो भनी उल्लेख गरिएको छ ।



पछिल्लो समयमा गरिएको उत्खननको क्रममा प्राप्त, मौर्यकालीन विषयवस्तुले उनको कार्यकालमा अन्य भौतिक संरचनाहरूको पनि निर्माण भएको भन्ने बुझिन्छ । निग्लिहवाको स्तम्भमा मौर्यको चित्र कुँदिएकाले अशोकपछि अन्य मौर्य राजाहरूको पनि यस क्षेत्रमा उपस्थिति भएको बुझिन्छ । यी सबै कुराले प्रस्ट के हुन्छ भने कपिलवस्तुको वास्तविक पहिचान स्थापित गर्ने कार्यमा सम्राट् अशोकको आगमन र योगदानले विशेष महत्त्व र भूमिका रहेको प्रस्ट बुझन सकिन्छ ।

फाहियान कपिलवस्तु पुग्ने यात्रीमध्ये पनि एक थिए । फाहियानले आफ्नो यात्रा वर्णनका क्रममा उक्त स्थानलाई क्रकुच्छन्द  बुद्धको जन्म तथा पितापुत्रको दर्शन र परिनिर्माण स्थानका रूपमा चित्रण गरेका छन् । फाहियानले यस स्थानमा प्रशस्त स्तुपाहरु देखेका थिए । फाहियानले पहिचान गरेका उक्त स्थानलाई अहिले गोटिहवा भने तापनि बुद्धवंशमा भने यस स्थानलाई क्षमावती नगर भनेर उल्लेख गरिएको छ ।

अर्का चिनियाँ यात्री हवेन्सांग पनि एक थिए । उनले पनि कपिलवस्तु नगरको पचास ली दक्षिण क्रकुच्छन्द बुद्धको जन्म तथा पितापुत्रको दर्शन र परिनिर्वाण स्थलको रूपमा वर्णन गरेका छन्। । यात्राको क्रममा उनले त्यहाँ प्रशस्त बुद्धका अस्तुसहितका स्तुपाहरु देखेका थिए । स्तम्भको शीर्ष भागमा सिंहको मूर्तिसहित क्रकुच्छन्द बुद्धका बारेमा वर्णनहरू लेखिएको अभिलेखलाई पनि देखेका थिए ।

जितारि मल्ल र रिपुमल्लले लुम्बिनीको दर्शन गरिसके पश्चात् कपिलवस्तुको गोटिहवा र निग्लिहवा आएर पूजा अर्चना गरी श्रद्धा व्यक्त गरेका थिए ।

जितारि मल्लले झैँ रिपुमल्लले पनि आफ्नो उपस्थिति जनाउन अशोक स्तम्भमा ‘ओम मणि पद्मे हुँ रिपुमल्लस्प चीर जयन्तु १२३४ रिपुमल्ल सदा विजयी रहु नै’ वाक्य कुन्दन लगाएका थिए । हाल सो वाक्य गोटिहवा अशोक स्तम्भको बाँकी भागमा रहेको देखिँदैन। तथापि नेपालको इतिहास लेखन कार्यमा कपिलवस्तुको पहिचान र प्रामाणिकता स्थगित गर्नका लागि सामग्री र अभिलेखका वाक्यहरू आधार स्तम्भका रूपमा रहेको पाइन्छ ।

हाल यहाँ रहेको अशोक स्तम्भ टुक्रिएको अवस्थामा छ । यस स्तम्भको के कति भाग जमिन मुनी रहेको छ, सो निर्क्योल हुनसकेको छैन । क्रकुच्छन्द बुद्ध, गौतम बुद्धभन्दा अघिका बुद्ध हुन । यस गोटिहवा गाउँमा विद्वानहरूले भने अनुसार यहाँ निकै नै स्तुपाहरु रहेका छन् । तसर्थ यस स्थलमा विस्तृत रूपमा पुरातात्त्विक उत्खनन भइनसकेको छ । तसर्थ यहाँ उत्खनन गर्न अति नै आवश्यक छ ।



प्राचीन गोटिहवा ईटाको स्तुप, अशोक स्तम्भले तल्लो भागमा पोखरी रहेको छ र आधुनिक गाउँले घेरिएको छ । यो ठाउँमा सर्वप्रथम अन्वेषण सन् १८९० को दशकमा भएको थियो । सन् १८९८ मा स्तुपमा मेजर वाडेलव्दारा आंशिक उत्खनन गरिएको थियो । पहिलाका केही पुरातत्वविद्हरुले यो स्मारकले पूर्व क्रकुच्छन्दको जन्मस्थानलाई संकेत गर्दछ भनि विश्वास गरेका छन् ।

यो स्तुपमा सन् १९९०को दशकमा ईटालीका पुरातत्वविद् जियोभानी भेरार्डिले पुनः उत्खनन गरी स्तुपको निर्माण २ तहमा भएको पहिचान गरेका थिए । आरम्भिक कालको स्तुपको नाप १९.५ मिटर ब्यास रहेको र धेरैजसोमा चिन्ह कुँदिएको आयाताकार र त्रिकोणात्मक इँटाव्दारा घट्दो क्रमको गोलाकाररूपमा निर्मित थियो । पछि स्तुप २१.५ मिटर ब्यासमा आयातकार ईटाहरुमात्र प्रयोग गरी विस्तार गरियो ।

भेरार्डिले स्तुपको सर्वप्रथम निर्माणकर्ता श्रेय सम्राट अशोकलाई (ईसापूर्व तेस्रो शताब्दी) दिएको र ईसा पूर्व १०० देखि इ स ३०० को विचमा कुषाणकालमा स्तुपको विस्तार भएको उल्लेख गरेका छन् । उत्खनन स्तुप बन्नुभन्दा पूर्वदेखि नै यस ठाउँमा बसोबास रहेको तथ्य प्रकाशमा ल्याएको थियो ।

कार्वन तिथि निर्धारणबाट यस स्थलको तिथि ईसा पूर्व ८०० आएको थियो र आरम्भिक उत्तरी कालापालिस गरिएका माटोको भाँडाका टुक्राहरुको प्राप्तिले यो ठाउँ लुम्बिनी गाउँ जतिकै ईसापूर्व १३०० कै समकालीन भएको सङ्केतसमेत प्राप्त भएको व्यहोरा गोटिहवामा राखिएको सूचना पाटीमा उल्लेख गरिएको छ ।