• ४ जेठ २०८१, शुक्रबार

आउन थाल्यो भारतबाट दूध

blog

काठमाडौँ, असोज १५ गते । दूध आयात गर्न खुला भएपछि भारतबाट कच्चा दूध आयात गर्न थालेका छन् । दूधको अभाव हुन थालेपछि डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेका थिए । सोही मागअनुसार कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि दूध आयात गर्ने अनुमति दिएको हो । 

आयात खुला भएपछि सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले हालसम्म ६० हजार लिटर दूध आयात गरिसकेको छ भने अरू ल्याउने प्रक्रियामा छ । डीडीसीका महाप्रबन्धक सञ्जीव झाले विहारको पटनाबाट ६० हजार लिटर दूध आयात गरेको जानकारी दिनुभयो । “भारतमा पनि अहिले दूध अभाव छ । चाहिनेजति दूध दिइरहेको छैन, थोरैथोरै भए पनि दिइरहेको छ,” उहाँले भन्नुभयो । 

पोखराको सुजल फुड प्रालिले भारतबाट दूध आयात गर्न थालेको छ । सुजलका व्यापार प्रमुख दशरथ सिलवालले ४० हजार लिटर दूध आयात गरेको र अरू आउने प्रक्रियामा रहेको बताउनुभयो । “भारतबाट दूध ल्याउन सरकारी प्रक्रिया नै झन्झटिलो छ । दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न भनेको छ तर प्रक्रिया यति झन्झटिलो छ कि त्यो पूरा गर्दैमा समय खेर गइरहेको छ,” उहाँले भन्नुभयो । 

भारतबाट दूध आयात गर्न पशुसेवा विभागबाट अनुमति लिनुपर्छ भने त्यसपछि क्वारेन्टाइन चेकजाँचको प्रमाणपत्र लिएर मात्र दूध ल्याउन पाइन्छ । कृषि मन्त्रालयले असोज मसान्तभित्र दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्ने अनुमति दिएको छ । त्यसमा दैनिक ४० हजार लिटर डीडीसीले ल्याउन पाउनेछ भने बाँकी ८० हजार लिटर निजी उद्योगीले ल्याउन पाउनेछन् । डीडीसीले भारत विहारको पटनाबाट दूध ल्याइरहेको छ भने सुजलले एक पटक विहारको आरा र अर्को पटक उत्तर प्रदेशको बहराइचबाट ल्याएको छ । 

प्रमुख सिलवालले भारतमा दूध खरिद गर्दा प्रतिलिटर ७८ रुपियाँदेखि ८५ रुपियाँ पर्ने गरेको र कारखानासम्म ल्याइपुर्याउँदा प्रतिलिटर ८५ रुपियाँदेखि ९० रुपियाँ लागत पुग्ने बताउनुभयो । काठमाडौँ र पोखरामा दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँमा बिक्री हुन्छ ।