हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन १९ गते । मुस्ताङको लोमान्थाङ गाउँपालिका–५,लोमान्थाङको लोवथाङमा गल्फ कोर्समा चौथो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ । समुद्री सतहबाट ४ हजार ७ सय मिटरको उचाइ लोवथाङमा भदौ २८ र २९ गते अन्तराष्ट्रिय गल्फर सहितको उपस्थितिमा हुने प्रतियोगिताको तयारी सुरू भएको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक विष्टले बताउनुभयो ।
प्रबन्ध निर्देशक विष्टले भन्नुभयो,‘‘विश्वभर रहेका गल्फरहरूलाई निमन्त्रणा पठाएका छौं, यसपटक विदेशी गल्फरले समेत चासो देखाउनुभएको छ ।’’ प्रतियोगिताका लागि हाल गल्फर आबद्ध सङ्घसंस्थालाई पत्रचार, मेडल तथा अन्य पुरस्कारको व्यवस्थापनका साथै आर्थिक सहयोग संकलन भइरहेको छ ।
चिसो हावापानी, प्राकृतिक र हिमशृङ्खलाले घेरिएको स्थानमा रहेको कोर्सले विश्वभरबाट गल्फका पारखीहरूलाई आकर्षित गर्ने गरी प्रचारप्रसारसहित यसपटक थप उत्कृष्ट बनाउने मुस्ताङ गल्फ कोर्सले जनाएको छ । लोमान्थाङमा रहेको गल्फ कोर्ष हाईअल्टिच्युडको दृष्टिकोणले विश्वकै अग्लो स्थानमा रहेको दाबीसमेत गरिएको छ । छिमेकी देश भारतको सिक्किममा याक गल्फ ३ हजार ९ सय ७० मिटरमा छ ।
बोलिभिको ला पाजमा ३ हजार २ सय ६० मिटरको उचाइ र ३ हजार ३८ मिटरमा चीनको जाडे ड्रागन माउण्टेन गल्फ क्लब र कुपर क्रिक गल्फ क्लब ३ हजार ६ मिटर उचाइमा रहेको गल्फ संघ गण्डकी प्रदेश समितिका अध्यक्ष विष्टले बताउनुभयो ।
गत वर्ष सम्पन्न भएको तेस्रो संस्करणको गल्फ प्रतियोगितामा पुरुषतर्फ इन्द्रधारा विष्ट र महिलातर्फ बालकाशी गुरुङले उपाधि जित्नुभएको थियो । प्रतियोगितामा ३६ जनाको सहभागिता थियो । यसबर्ष होल इन वान हान्ने खेलाडीलाई घोडा उपहारसहित आकर्षक पुरस्कार दिने आयोजकले जनाएको छ ।