• १२ असार २०८१, बुधबार

दुर्घटना न्यूनीकरण गर्न समय तालिका

blog

हेटौँडा, असोज १५ गते । चाडपर्वमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रमुख राजमार्गमा ‘टाइम कार्ड’ लागू गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले प्रदेशअन्तर्गतका मकवानपुरसहित चार जिल्लामा चाडपर्वलाई लक्षित गरी शुक्रबारबाट ‘टाइम कार्ड’ लागू गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सिन्धुली जिल्ला हुँदै जाने बीपी राजमार्गको भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखि नै ‘टाइमकार्ड’ लागू हुँदै आएको छ । चाडपर्वलाई लक्षित गरी थप चार जिल्ला मकवानपुर, चितवन, धादिङ र काभ्रे जिल्लाका प्रमुख राजमार्गमा टाइम कार्डको व्यवस्था थप गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले चाडपर्व नजिकिएसँगै सडकमा सवारीसाधनको अत्याधिक चाप बढ्ने, तीव्र गतिमा सवारीसाधन चलाउने तथा सवारी नियमको उल्लङ्घनसमेत बढ्न गई हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न तथा सवारीको गति नियन्त्रण गर्न बागमती प्रदेशअन्तर्गतका प्रमुख राजमार्गमा ‘टाइमकार्ड’ लागू गरिएको जानकारी दिनुभयो । प्रमुख राजमार्गमा सम्बन्धित जिल्लाको जिल्ला सुरक्षा समितिको निर्णयानुसार थप टाइम कार्ड लागू भएका राजमार्गमा मुग्लिङ–नारायणगढ खण्ड, पूर्व–पश्चिम राजमार्गको मकवानपुरको चुरियामाईदेखि चितवनसम्म, पृथ्वी राजमार्गको धादिङको खानीखोलादेखि मझिमटारसम्म, अरनिको राजमार्गको धुलिखेल दोलालघाटसम्म र बीपी राजमार्गको मङ्गलटारदेखि काभ्रेभन्ज्याङसम्म रहेको छ । प्रवक्ता रेग्मीले टाइमकार्ड लागू गरिएका राजमार्गमा निश्चित दूरी र समय मिलाई सवारी आवागमनको व्यवस्था मिलाइएको बताउनुभयो ।