• ८ मंसिर २०८१, शनिबार

‘मामाघरको दशैँ सम्झिरहन्छु’

blog

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी यो वर्षको दशैँ काठमाडौँमै मनाउने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार दशैँ भनेको परिवार, आफन्त जम्मा भएर टीका लगाउने, सबैसँग भेटघाट गर्ने चाड हो । बाल्यकालमा पिङ खेल्न र चङ्गा उडाउन निकै रमाइलो हुन्थ्यो तर अहिले पिङ र चङ्गा संस्कृति समाजबाट हराउँदै गएको उहाँ बताउनुहुन्छ । सानो छँदा दशैँमा नयाँ कपडा किनेको, कपडा मन परेन भने घरपरिवारसँग घुर्की लगाएको सधैँ याद आइरहने बताउने अभिनेता केसीसँग सम्झनामा दशैँ मन्थन गरेका छौँ ।

वर्षभरिमा दशैँ रमाइलो 

बाल्यकालमा मलाई दशैँ भनेपछि खुब रमाइलो लाग्थ्यो । दशैँ नजिकिँदै छ भनेपछि नयाँ कपडा लगाउन पाइन्छ, पिङ खेल्न पाइन्छ भन्ने हुन्थ्यो । त्यसकारण पनि बाल्यकालको दशैँका घटना सधैँ ताजा नै रहन्छन् । 

दशैँमा लिङ्गे पिङ खेल्न निकै मजा आउँथ्यो । दशैँलाई भनेर लुगा किन्न बजार जाने भन्नेबित्तिकै उफ्रिन मन लाग्थ्यो । अहिले पिङ नै देखिँदैन । टीका थाप्न मामाघर जाँदाको रमाइलो छुट्टै हुन्थ्यो । दशैँमा मामाघर जाँदा आफन्तहरूले ओहो कत्रो ठूलो भइसकेको छ भन्थे, आफूलाई देखेर आफैँ मख्ख परिन्थ्यो, त्यसमाथि नयाँनयाँ नोटका दक्षिणा पाउँदाको खुसी अहिले के व्यक्त गर्न सकिन्छ र ? 

अहिलेसम्म खासै त्यस्तो केही बनाएको छैन । नेपाली दाजुभाइ, दिदीबहिनीले जसरी दशैँ मनाउनुहुन्छ त्यसरी नै मनाउने हो । त्यस्तो नयाँ यही गर्छु भन्ने छैन । यस पटक अलि व्यस्त पनि भइएको छ । त्यसैले दशैँमा खासै त्यस्तो विशेष योजना नबनाएको हो । घरपरिवारसँग रमाइलो गरेर दशैँ मनाउने सोचमा छु । 

पहिला पहिला नातागोता सम्झी सम्झी टीका थाप्न गइन्थ्यो तर अहिले धेरै ठाउँमा दशैँ आफ्नै परिवारसँग मात्र सीमित भएको छ । सबैलाई आफ्नै कामको चटारो छ ।

बाल्यकालको दशैँलाई हामी कसैले पनि बिर्सन सक्दैनौँ । बाल्यकालको दशैँ सबैका लागि रमाइलो नै हुन्छ । दशैँका धेरै सम्झना छन्, जुन यहाँ भनेर सकिँदैन । दशैँ भनेकै बाल्यकालमा रमाइलो हुने हो । फेरि अहिले बाल्यावस्थामा फर्कन पनि सकिँदैन । त्यो बेलाको हाम्रो समयको दशैँ र अहिलेको दशैँमा धेरै परिवर्तन भइसक्यो । पिङ खेल्न जाने, चङ्गा उडाउने, नयाँ नयाँ लुगा लगाउने, मिठो मिठो खाने यही नै त हो दशैँ । कस्तो रमाइलो थियो, त्यो समय । घरमा बुवाले खसी किनेर ल्याउनुहुँदा अब चाहिँ दशैँ लाग्यो है भन्ने महसुस गरिन्थ्यो । त्यो समय दशैँको उत्सव धेरै नै भिन्न थियो । मामाघर गएर सबैसँग टीका लगाएर दक्षिणा बटुल्दाको रमाइलो नै बेग्लै किसिमको हुन्थ्यो । अहिले पनि यी कुरा नगरिने होइन तर बाल्यकालको जस्तो हुँदैन । बाल्यकालको दशैँ धेरै नै अविस्मरणीय थियो । 

दशैँको टीका र दक्षिणा

दशैँ भनेकै टीकाटाला गर्ने उत्सव हो । मलाई त्यो बेला टीकाको महìव खासै थाहा थिएन । टीका लगाउनु भनेको खाली दक्षिणा बटुल्ने मात्र हो भन्ने थियो । मेरो ध्यान दक्षिणा कति पाइन्छ भन्नेमा मात्र हुन्थ्यो । हजुरबुवा, हजुरआमा, मामामाइजू र अन्य मान्यजनबाट कति दक्षिणा पाइन्छ भन्नेमा मात्र मेरो ध्यान हुन्थ्यो । दशैँमा पाएको दक्षिणा म सकेसम्म खर्च गर्दैनथेँ । खुत्रुकेमा साँचेर राख्थेँ । पहिला पहिला दशैँमा सबै केसी परिवारको जमघट सिनामङ्गलमा नै हुन्थ्यो र टीका लगाउनेहरू दुई सय जनाभन्दा बढी हुन्थे । हजुरआमाले सबैलाई एक÷एक जना गरेर टीका लगाउन साध्य नभएर अक्षता छर्किदिनु हुन्थ्यो । टीका लगाएको दक्षिणा पनि त्यतिबेला खासै धेरै हँुदैनथ्यो । 

दशैँ सुरु हुनु दस-पन्ध्र दिनअघि नै घरमा खसी ल्याउने गरिन्थ्यो । सबैको घरमा एक–एकवटा खसी ल्याइन्थ्यो । अझ म त एक÷दुई पटक खसी चराउन पनि गएको छु । साथीभाइसँग मिलेर खसी चराउन जाँदा एकदमै रमाइलो लाग्थ्यो । बेलुका घर ल्याएपछि कसको खसी राम्रो, ठूलो र खाइलाग्दो भनेर हेरिन्थ्यो । ती सबै अब सम्झनामा मात्र । यो उमेरमा गर्न पाइँदैन । सानो छँदा पनि मासु खान म निकै सौखिन थिएँ । छानी छानी मिठो मिठो मासु खान मन लाग्थ्यो । 

दशैँको रमाइलो तास खेल्नु पनि हो, त्यो पनि चोरी चोरी । तास खेल्दा निकै रमाइलो लाग्थ्यो । तास खेल्दा कहिले हारिन्थ्यो त कहिले जितिन्थ्यो तर हारजितका लागि खेल्नेभन्दा पनि रमाइलो र उत्सवका लागि तास खेलिन्थ्यो । त्यतिबेला परिवारमा सबै जमघट भएर तास खेल्नुको मजा नै बेग्लै हुन्थ्यो ।

सानै छँदादेखि म लुगामा धेरै नै सौखिन मान्छे । दशैँ कहिले आउला र नयाँ लुगा लगाउँला भन्ने हुन्थ्यो । नयाँ लुगा लगाएर चिटिक्क भएर मामाघर टीका लगाउन गइन्थ्यो । धेरैले कति राम्रो देखिएको भनेर जिस्काउने पनि गर्नुहुन्थ्यो । 

चङ्गा उडाउन कति मजा आउने हो त्यो बेला ? चङ्गा त एकदमै उडाइन्थ्यो । आफ्नो चङ्गाले अरूको चङ्गा काट्दाको मजा नै बग्लै हुन्थ्यो । कहिलेकाहीँ आफ्नो चङ्गा काटिँदा मुख ठुस्स मात्र होइन, कहिलेकाहीँ त रुन मन लाग्थ्यो । सहरमा बसे पनि दशैँमा पिङ खेल्न चाहिँ छुटाइँदैनथ्यो । एक पटक म पिङ खेल्दाखेल्दै पिङ चुँडिएर लडेको पनि छु । 

दशैँ पहिला र अहिले 

बाल्यकालमा दशैँ जति रमाइलो हुन्थ्यो, अहिले त्यो छैन । अहिले समाजमा दशैँ मनाउने तरिका नै परिवर्तन भएको छ । पहिले दशैँमा खसी घरमा नै काटेर सबै जमघट भएर रमाइलो गर्ने चलन थियो भने अहिले त्यो चलन हराउँदै गएको छ । अहिले धेरैको घरमा खसी काटेर तामझाम गर्नेभन्दा पनि धेरैले पसलबाट मासु किनेर लाने चलन छ । पहिला हामी टीका लगाउँदा भुइँमा, चकटीमा बसेर लगाउने गथ्र्यौं भने अहिले टेबल, कुर्सीमा बसेर लगाउने चलन छ । टीका कुर्सीमा बसेर लगाउन नहुने भन्ने होइन तर अहिले धेरै कुरामा परिवर्तन आइरहेका छन् भन्ने मात्र जनाउन खोजेको हुँ । पहिला हाम्रा मान्यजनले टीका लगाइदिएपछि उहाँहरूको खुट्टामा नै गएर ढोग्ने चलन थियो तर अहिले समय बदलिएको छ । अहिले खुट्टामा भन्दा पनि टीका लगाइदिएपछि हातमा नै छोएर आशीर्वाद दिने चलन छ । यो पनि एउटा परिवर्तन नै त हो । यी सबै परम्पराका कुरा हुन् । मान्छेलाई समयअनुसार चल्नका लागि स्वतन्त्रता छ तर हामीले कहिल्यै पनि आफ्नो परम्परा र संस्कृतिलाई भने बिर्सनु हुँदैन । 

पहिला पहिला नातागोता सम्झी सम्झी टीका थाप्न गइन्थ्यो तर अहिले धेरै ठाउँमा दशैँ आफ्नै परिवारसँग मात्र सीमित भएको छ । सबैलाई आफ्नै कामको चटारो छ ।

(केसीसँग सुकृत नेपालले गर्नुभएको कुराकानीमा आधारित)