कञ्चनपुर, वैशाख १ गते । ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ ।
वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ । जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको सङ्ख्या उल्लेख्य छ ।
नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन् ।
बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहिआएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूर्वअध्यक्ष हरिप्रसाद जोशीले बताउनुभयो । उहाँका अनुसार यस पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, लाउन ९पुरी०, बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारिन्छन् ।
यी परिकार केवल खानाका रूपमा सीमित नभई पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीको प्रतीकका रूपमा रहेको जोशीले बताउनुभयो । उहाँका अनुसार बिसु पर्वको अर्को महत्वपूर्ण पक्ष बिहानै अनिवार्य स्नान गर्ने हो । “बिहान ब्रह्ममुहूर्तमा नुहाएपछि रोगव्याध हट्ने र शरीर शुद्ध हुने जनविश्वास रहिआएको छ”, उहाँले भन्नुभयो, “ननुहाए ‘विष लाग्ने’ भन्ने मान्यता पनि प्रचलित छ ।”
स्नानपछि देवदर्शन गर्ने, मान्यजनबाट टीका ग्रहण गर्ने र परिवारसँग बसेर मिठामसिना परिकार खाने चलनले धार्मिक आस्था र पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने जोशीको भनाइ छ । उहाँका अनुसार बिसु पर्वमा बिहानैदेखि महिलाहरू घरायसी परिकार तयार पार्न व्यस्त हुन्छन् । स्नानपछि देवदर्शन गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर टिकोटालो गर्ने, मिलेर मौलिक परिकार खाने र भलाकुसारी गर्ने परम्पराले सामाजिक एकता र आत्मीयता बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“यो पर्वको सबैभन्दा रोचक र मौलिक पक्ष ‘सिस्नो लगाउने’ चलन हो”, स्थानीय संस्कृतिका जानकार तर्कराज भट्टले भन्नुभयो, “देवरभाउजबीच रमाइलोका रूपमा सिस्नो लगाएर ठट्टा गर्ने चलनले परिवारभित्रको सम्बन्धलाई हाँसो, माया र नजिकपनले भरिदिने गर्छ । “भाउजु नभएकाहरूले आफैँले सिस्नो छुने चलन पनि छ । यसले शरीरका विकार हट्ने, जाडोको असर कम हुने र बाथजस्ता रोग नलाग्ने विश्वास गरिन्छ ।”
शुक्लाफाँटा नगरपालिका–११ का शङ्करदत्त जोशीका अनुसार पहिले पर्वमा सिस्नु लगाउने चलन निकै उत्साहका साथ मनाइन्थ्यो । “सिस्नो लगाउन आएका देवर देखेर भाउजु लुक्ने गर्दथे । लुकेको ठाउँ पत्ता लगाएर सिस्नो लगाइन्थ्यो”, उहाँले भन्नुभयो, “भाउजुले पनि यसलाई सहज रूपमा स्वीकार्थे । लुकेर देवरलाई खोज्न लगाउने र सिस्नो लगाउनेसम्मका रमाइला दृश्य हुन्थे ।” पछिल्लो समय यस्तो रौनक विस्तारै हराउँदै गएको उहाँको भनाइ छ ।
ज्योतिषीय दृष्टिले बिसु पर्वलाई ‘अकाट्य’ वा ‘अपुच्छय’ दिनका रूपमा लिइन्छ । स्थानीय दामोदर जोशीका अनुसार यसदिन विवाह, व्रतबन्ध, गृहप्रवेशलगायत शुभकार्यका लागि साइत हेर्नु वा ज्योतिषलाई सोध्नु आवश्यक पर्दैन । “आज सिधैँ गरिएका कार्य पनि शुभफलदायी हुने विश्वास छ”, उहाँले भन्नुभयो ।
बिसुलाई वर्षभरिका चाडपर्वहरूको समापन र नयाँ वर्षको स्वागत गर्ने दिनका रूपमा लिने गरिएको जोशीले बताउनुभयो । “यसदिन पुराना दुःख, असफलता र थकानलाई बिदाइ गर्दै नयाँ उर्जा र आशासहित जीवनलाई अगाडि बढाउने सांस्कृतिक सन्देश दिइन्छ । यही कारण बिसु सुदूरपश्चिमको मौलिक पहिचान बोकेको महत्वपूर्ण पर्वका रूपमा स्थापित भएको छ”, उहाँले भन्नुभयो ।
आधुनिक जीवनशैली, बसाइँसराइ र व्यस्तताका कारण केही परम्परागत अभ्यासहरू ओझेलमा पर्दै गएकामा जोशीले चिन्ता व्यक्त गर्नुभयो । विशेषगरी देवरभाउजुबीचको सिस्नो लगाउने चलन, सामूहिक भेटघाट र लामो समयसम्म चल्ने भलाकुसारी अहिले घट्दै गएको उहाँले बताउनुभयो ।
परिवर्तनका बीच पनि बिसु पर्वको मूल सार भने अझै जीवित रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार परिवारप्रतिको माया, आफन्तबीचको सम्बन्ध, सामाजिक सहकार्य र सांस्कृतिक निरन्तरताको भावना यस पर्वमा अझ मजबुत रूपमा देखिन्छ ।
सुदूरपश्चिममा मनाइने बिसु पर्वले समयसँगै रूप परिवर्तन गरे पनि यसको आत्मा भने उस्तै सशक्त र जीवन्त रहँदै आएको जानकारहरू बताउँछन् । रासस