• १ वैशाख २०८३, मङ्गलबार

दमौली–देवघाटमा स्नानार्थीको ओइरो

blog

मादी र सेतीको नदीको सङ्गमा स्नान गर्दै भक्तजनहरु । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १ गते ।
नयाँ वर्षको पहिलो दिन मङ्गलबार तनहुँको पवित्र तीर्थस्थल देवघाटधाम र व्यासभूमिको रूपमा परिचित दमौलीस्थित व्यास गुफा क्षेत्रमा स्नान तथा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । वैशाख १ गतेको बिहानीसँगै पुण्य प्राप्तिको कामनासहित त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाटमा र मादी तथा सेती नदीको तटमा स्नान गर्ने भक्तजनको लस्कर लागेको हो ।

भगवान् वेदव्यासको जन्मभूमि तथा महर्षि परासर ऋषिको तपोभूमि मानिने व्यास गुफामा आज बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ । यस क्षेत्रको मादी र सेती नदीमा स्नान गर्नाले आत्मिक शुद्धता प्राप्त हुने विश्वास गरिन्छ । विशेष गरी दमौलीमा हिमालबाट बगेर आएको सेती नदी उत्तर वाहिनी भएर बग्ने हुनाले यसको धार्मिक र आध्यात्मिक महत्व विशिष्ट रहेको छ । उत्तरतिर फर्केर बग्ने नदीमा गरिने स्नान अत्यन्त फलदायी मानिने भएकाले यहाँ भक्तजनको आकर्षण बढ्दो रहेको व्यासका अध्यता काशीनाथ न्यौपाने बताउनुहुन्छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारीले नयाँ वर्षमा यहाँ स्नान गर्नु धार्मिक र सांस्कृतिक दृष्टिले उच्च महत्त्वको विषय भएको बताउनुभयो । उहाँका अनुसार, भक्तजनको सहजताका लागि समितिले विशेष सुरक्षा प्रबन्ध र स्वयंसेवक परिचालन गरेको छ । यसैगरी, व्यास अन्न क्षेत्रका प्रमुख संरक्षक शान्तिस्वरुपानन्द दामोदर बाबाले स्नानको आध्यात्मिक महत्वमाथि प्रकाश पार्दै हजारौँ काम छोडेर भए पनि बिहानै स्नान गर्नु स्वास्थ्यका लागि अनिवार्य रहेको बताउनुभयो ।  व्यास नगरपालिका १२ कमलबारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक रामचन्द्र न्यौपाने मन र शरिरमा स्फूर्ति बढाउन नयाँ वर्षमा आफ्नो परिवार सहित मादी नदीमा स्नान गर्न आएको बताउनुभयो ।

वरिष्ठ आयुर्वेद चिकित्सक डा। लक्ष्मीकान्त चापागाईका अनुसार स्नान शरीरको शोधन प्रक्रिया हो, जसले रक्तसञ्चारलाई चुस्त बनाउँछ र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । आयुर्वेद र विज्ञान दुवैले स्नानलाई शरीर सफा गर्दै मनलाई एकाग्र र निरोगी बन्ने माध्यमको रूपमा लिएको उहाँले बताउनुभयो ।