• १६ भदौ २०८१, आइतबार

मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप

blog

पोखरा समाचारदाता

पोखरा, असोज १४ गते । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चात्ताप भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचेअनुरूप काम हुन नसकेकोसमेत स्वीकार गर्नुभयो ।

प्रदेश सरकारले बजेटका बेला सवारीसाधन र मालपोतलगायतका क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएको समेत मन्त्री थापाले जानकारी दिनुभयो । “सङ्घीयतापछि पहिलो प्रदेश सरकार भएका कारण केही कमीकमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्नेछौँ,” उहाँले भन्नुभयो ।

उहाँले बजेट निर्माणका क्रममा आफूले कुनै भूमिका नपाएको र मन्त्रालयले पाउँदै आएको बजेट पनि कटौती भएकोप्रति गुनासो राख्दै यस किसिमको असन्तुलित बजेटले विकास हुन नसक्ने धारणा राख्नुभयो । पार्टीले टिकट दिए फेरि पनि कास्की क्षेत्र नम्बर २ (२) बाटै चुनाव लड्ने इच्छा रहेको मन्त्री थापाले बताउनुभयो ।

पार्टीले योगदान र जित्ने आधार हेरेर जसलाई टिकट दिन्छ, उसैलाई सहयोग गर्ने प्रतिबद्धता उहाँको छ । २०७४ सालको चुनावमा कास्की–३ को प्रदेश सभा १ क्षेत्रमा कांग्रेसबाट थापाले मात्रै जित्नुभएको थियो । कास्की २(२) क्षेत्रकै बहालवाला भौतिक पूर्वाधार मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्का उहाँका प्रतिस्पर्धी रहनुभएको छ ।

सो अवसरमा उहाँले प्रदेश सभा सदस्यमा निर्वाचित भएदेखि हालसम्म खाइपाई आएको सेवासुविधा विकास निर्माण र सामाजिक कार्यमा खर्चिएको रकम विवरण सार्वजनिक गर्नुभएको छ । 

२०७४ सालमा निर्वाचित भएदेखि २०७८ चैतसम्म विकास निर्माण र सामाजिक कार्यमा उहाँले ५८ लाख २९ हजार खर्च भएको जानकारी पत्रकार सम्मेलनमा दिनुभएको हो । उहाँले सार्वजनिक गरेको विवरणअनुसार २०७४ सालदेखि हालसम्म उनको बैङ्क खातामा ४० लाख ७१ हजार रुपियाँ रहेको छ । जुन रकम बैठक भत्तादेखि मासिक पारिश्रमिक र अन्य सेवा सुविधासमेतको भएको थापाले बताउनुभयो ।