• १३ साउन २०८१, आइतबार

प्रहरी र अदालतसमेत तिर्दैनन् खानेपानी महसुल

blog

डोटी समाचारदाता

दिपायल, असोज १४ गते । सरकारी ऐन, कानुन, नीति, नियमको नियमन, अनुगमन र कार्यान्वयनको जिम्मा पाएका डोटीका सरकारी कार्यालय स्वयं नियमित रूपमा खानेपानी महसुल तिर्दैनन् । सिलगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ग्राहक बनेर खानेपानी उपभोग गरिरहेका १६ वटा सरकारी कार्यालयले १३ लाख ३० हजार बढी महसुल बुझाउन बाँकी रहेको पाइएको छ । 

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अनुसार जिल्ला समन्वय समिति, जिल्ला अस्पताल, अदालत, प्रहरी कार्यालयदेखि विद्यालयसम्मका कार्यालयले महसुल बुझाएका छैनन् । सरकारी तथा संस्थागत कार्यालयको मात्रै साढे २० लाख महसुल बक्यौता रहेको समितिका अध्यक्ष जगतबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिगत ग्राहकको साढे ११ लाख रुपियाँसहित जम्मा ३२ लाख बढी रकम बक्यौता रकम उठ्न बाँकी रहेको छ ।

खानेपानीका ग्राहकले समयमै महसुल नबुझाउँदा प्रशासनिक खर्च व्यवस्थापन गर्न र खानेपानीको मर्मत गर्न समस्या भएको समितिका अध्यक्ष खड्काले बताउनुभयो । व्यक्तिगत र सरकारी ग्राहकलाई पटक–पटक महसुल तिर्न पत्राचार तथा जानकारी गराउँदासमेत अटेर गर्ने गरेको उहाँले बताउनुभयो ।

सरकारी र संस्थागत गरेर ३० वटा कार्यालयले महसुुल बुझाउन बाँकी रहेको छ । १२७ जना व्यक्तिगत ग्राहकले पनि महसुल नबुझाएको बताइन्छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपलब्ध गराएको विवरणअनुसार सबैभन्दा बढी रकम खेलकुद विकास समितिले तिर्न बाँकी छ । खेलकुद विकास समितिको नाममा दुई लाख ५० हजार बढी रकम बक्यौता छ । त्यस्तै जिल्ला अस्पतालको नाममा एक लाख ९८ हजार, जिल्ला अदालतको नाममा एक लाख १४ हजार, जिल्ला प्रहरी कार्यालयको नाममा ६६ हजार र डोटी ब्यारेकको नाममा ७६ हजारभन्दा बढी रकम बक्यौता रहेको जनाइएको छ । 

जिल्ला समन्वय समितिका नाममा तीनवटा धारा छन् । तीनवटै धाराको महसुल जोड्दा ९४ हजार बढी रकम बक्यौता रहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले समेत १७ हजार बढी महसुल तिर्न बाँकी रहेको छ ।

समितिका अध्यक्ष खड्काले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिनुभएको हो ।