दिवाकर पोख्रेल
देउखुरी, असोज १३ गते । दाङको लमही नगरपालिकामा कार्यपालिका सदस्यहरू आन्दोलित भएका छन् । आफू अनुकूलको प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै लमही नगरपालिकाका नौ वटै वडा सदस्य र कार्यपालिका सदस्यहरूले लमही नगरपालिमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।
बिहीबार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृत गहेन्द्रवहादुर डाँगी सरुवा हुन नखोजेको र प्रमुख प्रशासकीय अधिकृतको रूपमा देवेन्द्रप्रसाद श्रेष्ठ कार्यरत रहेकाले डाँगीलाई हाजिर नगराउन माग गरेका हुन् ।
लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने विषयमा मेयर उपमेयर र अन्य कार्यपालिका सदस्य विभाजित भएका छन् । कार्यपालिका सदस्यहरूले मेयर उपमेयरको सक्रियतामा गेहेन्द्रबहादुर डाँगीलाई पुनः लमही नगरपालिकामा ल्याउन पहल गरिएको भन्दै मेयर उपमेयरको आलोचना समेत भएको छ । पत्रकार सम्मेलनमा लमही नगरपालिकाका प्रवक्ता तथा लमही नगरपालिका वडा ७ का वडा अध्यक्ष मोहन गिरीले डाँगी लमहीमै बस्न खोजे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
पहिलो चरणमा लमही नगरपालिकामा धर्ना, दोस्रो चरणमा नगरपालिकामा तलावन्दी गर्ने र तेस्रो चरणमा सबै वडा कार्यालय बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । लमही नगरपालिकामा देवेन्द्र श्रेष्ठ र गेहेन्द्र डाँगी प्रमुख प्रशासकीय अधिकृतको रूपमा दुई जना बहाल रहनुभएको छ ।