• १३ साउन २०८१, आइतबार

आन्तरिक पर्यटनका लागि सडक महोत्सव

blog

कास्की समाचारदाता

कास्की, असोज ११ गते । विश्व पर्यटन दिवस सेप्टेम्बर २७ का दिन पोखरामा एकदिने सडक महोत्सव हुनेभएको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो।

‘पर्यटनमा पुनर्विचार गरौँ’ भन्ने नारासहित यस वर्ष पर्यटन दिवस मनाउन लागिएको रेवानका महासचिव एवं कार्यक्रम संयोजक विकास भट्टराईले जानकारी दिनुभयो। हरेक वर्ष गर्दै आएको एकदिने सडक महोत्सव यस वर्ष लेकसाइड क्षेत्रको फिस्टेल गेटदेखि बाराहीचोकसम्म आयोजना हुनेछ।

सो क्षेत्रमा बेलुका ५ बजेदेखि राति १० बजेसम्म महोत्सव हुने भट्टराईले बताउनुभयो। सडकको दायाँबायाँ किनारामा विभिन्न किसिमका परिकार बिक्री वितरणका लागि राखिने छन्। नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रमका साथै स्वदेशी तथा विदेशी खानाका थुप्रै परिकार राखिनेछन्। जातीय भेषभूषासहितको सांस्कृतिक नृत्य, गन्धर्व गायन, नेवारी लाखे नाच, पञ्चेबाजा र साहसिक खेलकुद तथा पर्यटकीय आकर्षण वृत्तचित्र प्रदर्शनी गरिनेछ। 

मुलुकका लागि आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन व्यवसायलाई विभिन्न पक्षसँग जोडेर पर्यटकीय गतिविधि बढाउन यस्तो कार्यक्रम आयोजना गरिएको रेवानले जनाएको छ। अब पर्यटनलाई परम्परागतभन्दा नवीनतम सोचबाट पुनर्विचार गरेर अगाडि बढाउनुपर्ने रेवानका कार्यवाहक अध्यक्ष विश्व पौडेलले बताउनुभयो। 

देशमा रहेका सांस्कृतिक सम्पदा संरक्षण संवर्धन र विकास गर्दै आर्थिक उपार्जनमा जोडेर जानुपर्नेमा उहाँले जोड दिनुभयो। यसमा मिडियाकर्मीको प्रवर्धनात्मक भूमिका महत्वपूर्ण छ, उहाँले थप्नुभयो, “पर्यटन सुस्ताएको बेला अब जागेको खबर प्रचारप्रसार गर्न जरुरी छ।” 

सो अवसरमा पोखरा पर्यटन परिषद्ले पनि ‘पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट र विश्व पर्यटन बजार’ विषयमा कार्यक्रम गर्न लागेको परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो। उहाँले पोखराको पर्यटनलाई विश्व बजारमा पु-याउनका लागि छिमेकी मुलुक भारतका विभिन्न सहरबाट १० जना पत्रकारलाई पोखरामा पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गराई अन्तर्राष्ट्रिय उडान गरेका एयरलाइन्सका ‘कन्ट्री म्यानेजर’हरूसँग अन्तर्क्रिया गर्ने कार्यतालिका रहेको जनाउनुभयो।

पोखरामा अहिले २४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्। तीमध्ये १० एयरलाइन्सका प्रतिनिधि  कार्यक्रमका सहभागी हुनेछन्। नेपालको आर्थिक विकासका लागि पर्यटनको महत्वपूर्ण योगदान रहेको जनाउँदै पर्यटन दिवसमा पोखराका पर्यटन सम्बद्ध सङ्घसंस्थाले पनि क्षेत्रगत रूपमा विभिन्न कार्यक्रम तय गरेका छन्।