• १३ साउन २०८१, आइतबार

सप्तरी सुरक्षाका लागि प्रहरीको पच्चीस बुँदे रणनीति

blog

फाइल तस्बिर

देवरामप्रसाद यादव

सप्तरी, असोज १० गते । सप्तरी प्रहरीले दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी २५ बुँदे  सुरक्षा रणनीति सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले पर्वको अवसरमा सो सुरक्षा रणनीति सार्वजनिक गरेको हो ।

चाड पर्वका बेला हुनसक्ने घटना, दुर्घटना न्यूनीकरण गर्न सुरक्षा रणनीति योजना प्रहरीले  सार्वजनिक गरेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्लामा शान्ति सुरक्षा प्रभावकारी बनाउन जिल्लास्थित मातहतका सुरक्षा निकायका प्रतिनिधिलाई सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

सुरक्षा योजनाको बारे सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले चाडबाडको अवधिभर सवारी दुर्घटना, चोरी डकैती, लुटपाट, पटका आतस बाजी लगायतका विस्फोटक पदार्थको तस्करी, कालोबजारी, दुर्घटना न्यूनीकरण तथा हिंसात्मक घटना हुन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइने बताउनुभयो ।

जिल्लामा रहेको प्रहरी कार्यालयलाई जिम्मेवारी क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम राख्न जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयले  तयार पारेको सुरक्षा योजनामा जिल्लामा कार्यरत प्रहरी जनशक्ति, सवारी साधन लगायतका स्रोत साधन परिचालन गर्न तथा अनुगमनका लागि ७ सय प्रहरी, १७ वटा ४ पाङ्ग्रे र ३६ वटा २ पाङ्ग्रेको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

सूचना सङ्कलनका लागि सादा पोसाकमा प्रहरी परिचालन गरी थप प्रभावकारी सुरक्षा व्यवस्था मिलाइने काफ्लेले बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिमा यहाँस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सप्तरीसँग समन्वय सहकार्य गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

विभिन्न नाका र राजमार्गमा लुटपाट, चोरीका घटनाहरू हुन नदिन संवेदनशील क्षेत्रलाई विशेष निगरानीमा राखी प्रहरी टोली परिचालन गरिने जानकारी दिनुहुँदै विभिन्न स्थानमा सर्प्राइज चेकलगायतका चेकप्वाइन्ट राखिने उहाँले जानकारी दिनुभयो । 

यसैगरी बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्ने, बसपार्कहरूमा यात्रा सुरक्षासँग सम्बन्धित सूचना निरन्तर रूपमा प्रसारण गरी यात्रुहरूलाई सुसूचित बनाउन इलाका स्तरमा यात्रु सहायता कक्ष राखिएको काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार संवेदनशील क्षेत्रहरूमा बढी दुर्घटना हुने स्थान, मठमन्दिरको मेलाको समयमा हुने भिडभाडलाई विशेष निगरानी राखी प्रहरी टोली परिचालन गरिने व्यवस्था मिलाइएको छ । बैङ्क तथा वित्तीय संस्थालाई लक्षित गरी प्रहरी परिचालन गर्ने र त्यस स्थानमा भिडभाड हुन नदिन मोबाइल, पिकेट खटाइने, बैङ्कका गार्डहरूको निगरानी गर्ने र रातको समयमा चनाखो रहन जानकारी गराउने, एटिएम रहेको स्थानको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।