साना, असोज १० गते । यमनमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय महासचिव र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्षका बीचमा छलफल भएको छ । प्राप्त समाचार अनुसार महासचिव एन्टोनियो गुटरेस र यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीका बीचमा आइतबार कुराकानी भएको यमनी टेलिभिजनले जनाएको छ ।
उहाँहरुका बीचमा यमनमा जारी रहेको गृहयुद्ध अन्त्यका लागि आवश्यक छलफल भएको र यसका लागि शान्ति प्रक्रियाको सुरुआत गर्नुपर्ने विषयमा सहमति भएको पनि बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन जानुभएका यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसद अल अलिमीले महासचिव गुटरेसलाई अमेरिकाको न्युयोर्कमा भेट गर्नुभएको थियो ।
त्यस क्रममा यमनमा जारी हत्या हिंसालाई रोक्न यहाँको गृहयुद्धको अन्त्य गर्न शान्तिवार्ताको प्रक्रिया अविलम्ब थाल्नुपर्नेमा उहाँहरुले जोड दिनुभएको थियो ।त्यस भेटका क्रममा यमनको राष्ट्रपतीय नेतृत्व परिषदका अध्यक्ष रसदले महासचिव गुटरेसलाई यमनको पछिल्लो अवस्थाका साथै यहाँ शान्ति स्थापनाका लागि जारी रहेको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यसक्रममा यमनको गृहयुद्ध रोक्नका लागि संयुक्त राष्ट्रसङ्घले खेलेको भूमिकाका लागि अध्यक्ष रसदले महासचिव गुटरेसलाई विशेष धन्यवाद दिनुभएको थियो । उता महासचिव गुटरेसले पनि यमनमा आवश्यक सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको भन्दै यमनको गृहयुद्ध रोक्न राष्ट्रसङ्घका तर्फबाट आवश्यक पर्ने सहयोग निरन्तर राख्ने पनि जानकारी दिनुभएको थियो ।
राष्ट्रसङ्घको पहलमा यमनमा शान्ति स्थापनाका लागि यसअघि पनि धेरै पटक पहल भएका र वार्ता पनि भएका थिए । तर वार्ता सफल हुन भने सकेको छैन । रासस/सिन्ह्वा