नयाँदिल्ली, असोज १० गते । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थरुरले उम्मेदवारी दर्ता गर्नुहुने भएको छ । सङ्घीय संसद्को सांसद समेत रहनुभएका थरुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्नुहुने भएको हो । उहाँले भन्नुभयो, “कांग्रेसका देशभरिका प्रतिनिधिहरूले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरूको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”
उम्मेदवारी दर्ताका लागि ५० जना प्रस्तावक चाहिनेमा सबै प्रस्तावकको तयारी भइसकेको पनि उहाँले जानकारी दिनुभयो । उहाँ अध्यक्षमा निर्वाचित हुनुभयो भने भारतीय राष्ट्रिय कांग्रेसमा २५ वर्षपछि मात्रै गान्धी परिवारभन्दा बाहिरको व्यक्ति अध्यक्ष हुनेछ । यसअघि सन् १९९६ मा सीताराम केसरी गान्धी परिवारभन्दा बाहिरको नेता काँग्रेसको अध्यक्ष हुनुभएको थियो । उहाँले शरद पावर र राजेश पिलोटलाई पराजित गर्नुभएको थियो । त्यसपछिको निर्वाचनमा भने सन् १९९८ मा जितेन्द्र प्रसादलाई सोनिया गान्धीले अध्यक्षमा पराजित गर्नुभएको थियो ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष मधुसूदन मिस्त्रीले पार्टी केन्द्रीय कार्यालयमै उम्मेदवारी दर्ता फाराम उपलब्ध हुने जानकारी दिनुभयो । भारतीय राष्ट्रिय काँग्रेसलाई लामो समयदेखि अन्तरिम अध्यक्षले सञ्चालन गर्दै आउनुभएको छ । गत आम निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको थियो ।
उहाँको राजीनामा लामो समयसम्म अस्वीकृत गर्दै उहाँलाई नै अध्यक्षको जिम्मेवारी सम्हाल्न आग्रह गरिएको थियो । तर जति आग्रह गर्दा पनि उहाँले नमानेपछि उहाँकै आमा तथा पूर्व अध्यक्ष सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्षको जिम्मेवारी दिएको छ ।
अब हुने महाधिवेशनबाट पनि राहुल गान्धीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिँदै आएका नेताहरूको सङ्ख्या धेरै छ । तर उहाँको बारेमा स्पष्ट निर्णय भइनसकेको बेला थारुले उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।
पार्टीभित्रको आन्तरिक विवाद र अन्योलका बीच लामो समयपछि भारतीय काँग्रेसले नयाँ नेतृत्व पाउने भएको छ । रासस/एएनआई