• ९ वैशाख २०८२, मङ्गलबार

युरोपेली सङ्घको टोली आउँदै

कालोसूचीबारे पुनर्विचार गरिने

blog

मीनराज भण्डारी

काठमाडौँ, असोज १० गते ।  सन् २०१३ देखि युरोपेली सङ्घ (ईयू)को कालोसूचीमा रहेको नेपालबारे पुनर्विचार गर्न ईयूको टोली दशैँको टीकाको दिन नेपाल आउने भएको छ । युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी (ईआसा)को पाँच सदस्यीय उक्त टोलीले असोज २० गतेदेखि स्थलगत अध्ययनको काम सुरु गर्नेछ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले गरेको मूल्याङ्कन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएपछि उक्त टोली बिनासर्त स्थलगत अध्ययनका लागि नेपाल आउन लागेको हो । 

आठ वर्षपछि नेपाल आउन लागेको यो टोलीले गर्ने स्थलगत अध्ययन र अनुगमनपछि नेपाली विमान युरोपमा उड्न पाउने नपाउनेबारे निर्णय गर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपालले सन् २०१३ यता हवाई सुरक्षामा राम्रो सुधार गरिसकेको र आईकाओले समेत त्यस्तै प्रतिवेदन दिएकाले नेपाल कालोसूचीबाट हट्ने अपेक्षा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थलगत अध्ययनमा आउने टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्दिनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गर्नेछ ।”

नेपालले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेको उहाँको भनाइ छ । “आईकाओका हवाई सुरक्षा सुधार ६० प्रतिशत वा सोभन्दा माथि कायम हुनुपर्छ । गत अप्रिलमा आईकाओको टोलीले गरेको परीक्षणमा नेपालको विस्तृत सुरक्षा परिपालन दर ७०.१ प्रतिशत रहेकाले प्रबिन्धबारे ईयूले निर्णय पुनर्विचार गर्ने आशा गरिएको छ,” प्रवक्ता निरौलाले बताउनुभयो ।

असार पहिलो साता दक्षिण कोरिया र साउनमा श्रीलङ्कामा भएको एसिया तथा प्रशान्त क्षेत्रका नागरिक उड्डयन निकायका प्रमुखको बैठकमा समेत ईयूको उड्डयन सुरक्षा निकाय (ईएएसए)का प्रतिनिधिबीच नेपालको हवाई सुरक्षा चासोबारे छलफल भएको थियो ।

आईकाओ र ईयूले नेपालको हवाई नियामक र व्यवस्थापन गर्ने काम संस्था एउटै भएको प्रश्न उठाउँदै आएको छ । प्राधिकरणलाई नियामक र व्यवस्थापकीय काम गर्ने दुई संस्थामा छुट्याउने विधेयक राष्ट्रिय सभाबाट पारित भए पनि प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै निष्क्रिय भएको छ ।  

सन् २०१० मा एकै वर्ष तीनवटा विमान दुर्घटना र सन् २०११÷१२ मा एक–एक विमान दुर्घटना भएपछि नेपाललाई सन् २०१३ डिसेम्बर ५ गतेदेखि ईयूले नेपाललाई कालोसूचीमा राख्दै आएको छ ।

ईयूले त्यस्तो प्रतिबन्ध लगाउँदा आईकाओको प्रतिवेदनलाई आधार मानेको थियो । आईकाओले भने चार वर्षपछि सन् २०१७ को जुलाइमा नेपालको प्रतिबन्ध फुकुवा गरिसकेको छ । 

कालोसूचीका कारण हाल नेपाली वायुसेवा ईयूअन्तर्गतका कुनै पनि देशमा जान पाएका छैनन् । हाल नेपाल वायुसेवा निगमको जहाज जापानको नारितासम्म उड्दै आएको छ । हालको सबैभन्दा लामो दूरी भनेको नारिता मात्रै हो ।