गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ९ गते । इसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार निधन भएको छ । निमोनियाबाट ग्रसित उहाँको ८८ वर्षको उमेरमा निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उहाँ लामो समयदेखि बिरामी भएर आराम गरिरहनुभएको थियो ।
आइतबार इस्टर पर्वको शुभकामना दिन भ्याटिकन सिटीको सेन्ट पिटर्समा उपस्थित हुनुभएका उहाँको निधन भएको हो । उहाँ रोमन क्याथोलिक चर्चको सर्वोच्च पद पोपमा नियुक्त हुनुभएका पहिलो ल्याटिन अमेरिकी नागरिक हुनुहुन्थ्यो । चर्चका कार्डिनल केभिन फारेलले उहाँको सोमबार बिहान निधन भएको जानकारी दिँदै सम्पूर्ण जीवन प्रभु र चर्चको सेवामा समर्पित गर्दै स्वर्गमा पिताको घरमा फर्कनुभएको सन्देश दिनुभएको थियो ।
सन् १९३६ मा इटलीमा आप्रवासी परिवारमा पोप फ्रान्सिसको जन्म भएको थियो । धार्मिक यात्राका क्रममा उहाँ सन् २०१३ मा पोप पदका लागि चयन हुनुभएको थियो । विगतको कट्टरताभन्दा धर्मलाई उदारवारी सोचका साथ अपनाउनुपर्ने धारणा उहाँले राख्नुभएको थियो । जसका कारण समाजमा सबै प्रकारका व्यक्तिको धारणा र संस्कारप्रति नरममिजाज राख्नुभएका कारण सम्बन्धविच्छेद र समलिङ्गी विवाहलाई सामान्य रूपमा लिनुभएको थियो । तथापि चर्चको संस्कार र नियमलाई भने कडाइका साथ पालना गराउँदै आउनुभएको थियो ।