• ९ वैशाख २०८२, मङ्गलबार

तेत्तिस प्रतिशत युवा अनिवार्य

blog

गोरखापत्र समाचारदाता

ललितपुर, वैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन काठमाडौँमा आयोजना गर्ने युवा उत्सव (सेलिब्रेसन) को तयारीका लागि पार्टी केन्द्रीय महासचिवले निर्देशन जारी गरेको छ । निर्देशन जारीलगत्तै बागमती प्रदेश कमिटी विशेष रूपले तयारीमा जुटेको छ । 

एमालेले वडा, पालिका कमिटीमा ३३ प्रतिशत युवा अनिवार्य गरेको छ । वैशाख ११ गते कमिटीमा भएका ती युवालाई अनिवार्य उपस्थित गराउन निर्देशन दिएको हो । त्यस्तै जिल्ला कमिटीमा १५ र प्रदेश कमिटीमा १० प्रतिशत युवा निर्वाचित भएका छन् । जिल्ला र प्रदेश कमिटीमा रहेका सबै युवालाई अनिवार्य आउन पार्टी महासचिव शङ्कर पोखरेलले निर्देशन पठाउनुभएको छ । स्थानीय जनप्रतिनिधिहरू मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सबैलाई वैशाख ११ गते काठमाडौँ आउन निर्देशन गरिएको छ । सम्पर्क मञ्चका सबै तहका कमिटीमा आबद्ध ४० वर्षमुनिका युवालाई पनि सहभागिताका निम्ति निर्देशन दिइएको छ । 

मुलुकलाई अस्थिरतामा लैजान खोज्ने दशकौँको बलिदानी सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिने, जनताका अधिकार खोस्न खोज्ने तत्वलाई फेरि टाउको उठाउन नसक्ने गरी पराजित गर्न, युवालाई लोकतन्त्रप्रतिको गौरवबोध गराउन उपरोक्त कार्यक्रममा योजनाबद्ध रूपमा सक्रिय सहभागिताका लागि संयोजन र कार्यान्वयन गर्न/गराउनुहुन निर्देशन गरिन्छ, महासचिव पोखरेलले परिपत्रमा उल्लेख गर्नुभएको छ । 

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टी सचिवालय बैठकले कार्यक्रम गर्ने निर्णय गरेपछि त्यही अनुसार वडा तहसम्म सर्कुलर गरेको जानकारी दिनुभयो । उहाँले प्रत्येक वडाबाट पार्टीले तोकको सङ्ख्यामा युवाको उपस्थिति गराउने सर्कुलर गरिसकेको बताउनुभयो । 

बागमती प्रदेशका ११९ वटै पालिकाका इन्चार्जलाई पनि जिम्मेवारी प्रदान गरेको बताउँदै उहाँले प्रत्येक वडाबाट तोकिएका युवा सहभागी गराउने जिम्मेवारी पालिका तहको नेतृत्वले गर्ने भट्टराईले जानकारी दिनुभयो । पार्टीको सिङ्गो पङ्क्तिलाई परिचालित गर्ने, जनताको तहमा यो विषयलाई पुर्‍याउनका लागि जनतासँग विशेष सम्बन्ध राख्ने जनप्रतिनिधिलाई परिचालित गरेर कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो । 

वैशाख ११ कहिल्यै पनि बिर्सन नहुने दिन भएको बताउँदै बागमती प्रदेशको प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले यसलाई बिर्साउनका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने काम भएको उहाँले बताउनुभयो । अहिले समाजमा देखिएका केही निराशामाथि टेकेर संविधान र गणतन्त्रलाई नै असफल गराउने दुष्प्रयास गर्न खोजिएको बताउँदै लामाले युवा सधैँ अधिकार र स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्नुभयो । 

उहाँले एमालेका पक्षमा युवा र जनमत छैन भनी गरिएको गलत प्रचारलाई चिर्नु पनि कार्यक्रमको लक्ष्य रहेको बताउँदै युवा ठुलो सङ्ख्यामा सहभागी हुने दाबी गर्नुभयो । 

सो अवसरमा सांस्कृतिक कार्यक्रमका साथै कलाकार र ब्यान्डले आफ्नो प्रस्तुति दिने छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरू, युवा नेताहरूलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउँदै उहाँले अरूभन्दा यो कार्यक्रम विशेष हुने दाबी गर्नुभयो ।