• १३ साउन २०८१, आइतबार

झन्डै डेढ हजारले गरे कैलाश दर्शन

blog

राजन रावत 

हुम्ला, असोज ६ गते । हुम्लाको लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न आएका विदेशी पर्यटक फर्केका छन् । यस वर्ष एक हजारभन्दा बढी विदेशी पर्यटकले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन् । यसका साथै करिब तीन सय आन्तरिक पर्यटकले पनि लाप्चाबाट दर्शन गरेका छन् । 

चीनको तिब्बती क्षेत्रमा अवस्थित मानसरोवर कैलाश हिन्दु धर्मावलम्बीको पवित्र स्थल हो । मानसरोवर कैलाश पुग्न कठिन भएकाले पछिल्लो समय हुम्लाको लाप्चाबाट दर्शन गर्ने पर्यटकको सङ्ख्या बढेको छ । होटल व्यवसायी विजय लामाले यस वर्ष लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकको सङ्ख्या एक हजार १७५ जना पुगेको र उनीहरू सबैले लाप्चाबाट दर्शन गरेर फिर्ता भएको जानकारी दिनुभयो । 

लामाका अनुसार मौसम राम्रो भएका कारण एक÷दुई समूहबाहेक अन्य सबै पर्यटक कैलाश दर्शन गर्न सफल भएका छन् । एक जना पर्यटकलाई भने श्वासप्रश्वासमा समस्या आएपछि ताक्चीबाटै फिर्ता हुनुपरेको थियो । यस पटक धार्मिक पर्यटकमा भारतीय सद्गुरु (जग्गी वासुदेव)समेतले लाप्चाबाट चीनको तिब्बतमा अवस्थित मानसरोवर कैलाशको दर्शन गर्नुभएको छ । यस वर्ष लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेमा भारतीय नागरिक धेरै छन् । भारतबाहेक बेल्जियम, अमेरिका, जर्मनलगायत १९ देशका नागरिकले पनि लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गरे । 

तीन सय आन्तरिक पर्यटक

आन्तरिक पर्यटक भने लाप्चा पुगेर दर्शन गर्ने क्रम अझै चलिरहेको छ । नाम्खा गाउँपालिका–६, लिमीका वडाअध्यक्ष पाल्जोर तामाङले तीन सयभन्दा बढी आन्तरिक पर्यटकले लाप्चाबाट दर्शन गरेको बताउनुभयो । उहाँले सद्गुरुले दुई वर्ष लगातार लाप्चाबाट दर्शन गरेपछि यसको महत्त्व बढेको जनाउनुभयो । 

ताक्चीबाट उठाइयो बास व्यवस्था

हुम्लाको ताक्चीमा पर्यटकका लागि बास व्यवस्थापन गर्दै आएका पर्यटन व्यवसायी फिर्ता भएका छन् । यस पटक धार्मिक पर्यटकको ठूलो समूहले दर्शन गर्ने काम सकिएपछि व्यवस्थापनमा खटिएका पर्यटन व्यवसायी फर्किएका हुन् । होटल व्यवसायी विजय लामाले ताक्चीमा पर्यटकको व्यवस्थापनका लागि खटिएका पर्यटन व्यवसायी सदरमुकाम सिमकोट फर्किएको बताउनुभयो । ताक्चीमा करिब एक सय पर्यटन व्यवसायी खटिएका थिए । ती व्यवसायी एक महिनाअघिदेखि ताक्चीमा बसेका थिए ।

लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकका लागि सुरुमा सिमकोट, लेकधिङ्गा र ताक्चीमा बासको व्यवस्था गरिएको भए पनि लेधधिङ्गामा व्यवस्थापन गर्न कठिन भएपछि सिमकोटस्थित रानीवनमा व्यवस्था गरिएको थियो । मानसरोवर कैलाशको दर्शन गर्न आउने पर्यटकका कारण यस क्षेत्रको आर्थिक गतिविधि बढेको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । यसबाट किसान, सवारीसाधन सञ्चालक र होटल व्यवसायी प्रत्यक्ष लाभान्वित भएका छन् ।