• १३ साउन २०८१, आइतबार

वीरगञ्ज बजार सुनसान

रक्सौल बजारमा थामिनसक्नु भीड

blog

वीरगञ्ज समाचारदाता

वीरगञ्ज, असोज ३ गते । वीरगञ्जको रानीघाटमा बस्ने जयकिशन यादव शनिबार बिहान ११ बजे एउटा बोरा साइकलको पछाडि त्यसमाथि दुई प्याकेट बिस्कुट अनि साइकलको ह्यान्डलको दुवैतर्फ दुई झोला झुन्ड्याएर भारत सीमावर्ती बजार रक्सौलबाट आउँदै हुनुहुन्थ्यो। करिब आधा भरिएको जस्तो देखिने उक्त बोरामा पाँच किलो आलु, पाँच किलो प्याज रहेको एउटा झोलामा तीन लिटर खाने तेल, दुई लिटर रिफाइन तेल, छवटा नुहाउने साबुन, छवटा कपडा धुने साबुन र तीन किलो सर्फ थियो। अर्को झोलामा पाँच किलो चिनी, चियापत्ती, मसला, अगरबत्ती, चिउरा र सखर (भेली) रहेको उहाँले बताउनुभयो।

उहाँका अनुसार वीरगञ्जभन्दा रक्सौलमा सामान करिब पाँच सयदेखि ५५० रुपियाँ सस्तो पर्छ। जान आउन १५÷२० मिनेट, समान किन्न २५÷३० मिनेट गरी एक÷सवा घण्टामा पाँच सयदेखि साढे पाँच सय रुपियाँसम्म बचत हुने गरेकाले थोरै सामान किन्न भए पनि आफू रक्सौल नै जाने गरेको उहाँले बताउनुभयो।

मुख्य भन्सार एकीकृत जाँच चौकी सिर्सियामा सरेपछि जाँदा आउँदा जाम नहुने, रक्सौलमा रेल आउँदा पनि फ्लाइओभर ब्रिजबाट सहजै साइकलमा आउजाउ गर्नसकिने भएकाले जाममा पनि फस्नुपर्ने समस्या नरहेकाले रक्सौल बजार जान आउन सहज भएको उहाँले तर्क गर्नुभयो। उहाँले थप्नुभयो, पाँच किलो प्याज र आलु रक्सौलमा एक सय भारुमा पाइयो तर वीरगञ्जमा २४० रुपियाँ र २८० रुपियाँ छ। १६० भारुमा एक लिटर खाने तेल पाइन्छ तर यहाँ २९० रुपियाँ नेपाली पर्छ। सबै सामान यहाँभन्दा सस्तो छ, आउजाउमा पनि समस्या छैन।  

जयकिशन त प्रतिनिधि पात्र हुनुहुन्छ, वीरगञ्जका अधिकांश घरपरिवारले रासनका लागि आवश्यक धेरैजसो सामग्री सीमावर्ती बजार रक्सौलकै भर पर्ने गरेका छन्। दशैँको बजार गर्नेको आकर्षण पनि रक्सौलतिर नै सोझिएकाले वीरगञ्जको बजार सुनसान रहेको वीरगञ्जको मिना बजारमा किराना पसल गर्नुहुने व्यापारी लड्डु साह बताउनुहुन्छ। पहिले पहिले गाउँगाउँका मानिस दशैँका लागि किनमेल गर्न वीरगञ्ज आउने गरेका थिए तर विगत दुई÷तीन वर्षयतादेखि बजार सुनसान छ, कोभिडका कारण हो कि ठानेको तर अहिले मुख्य समयमा पनि बिक्री नबढ्दा आफू चिन्तामा रहेको उहाँले बताउनुभयो। बैङ्क ब्याज कसरी तिर्ने भन्ने चिन्ताले दिनरात सताउन थालेको व्यथा उहाँले सुनाउनुभयो। 

वीरगञ्जको माईस्थानमा रहेको फेन्सी पसलका सञ्चालक नैशुल्लाह अन्सारीको कथा पनि त्यस्तै छ। आयो, पसल खोल्यो, कहिले बोहनी पनि हुँदैन, पहिले पहिलेको दशैँको बेला यसै समयतिरको बिक्री सम्झिँदै उहाँ भन्नुहुन्छ, “यहाँ बिक्री घटेको छ, अनि भारतीय सीमावर्ती बजार रक्सौलमा जाने नेपाली ग्राहकको सङ्ख्या बढेको छ। रक्सौलको कपडा पसलमा थाामिनसक्नु भीड हुँदा वीरगञ्ज बजार भने सुनसान रहेको उहाँले बताउनुभयो।” 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सह–कोषाध्यक्ष एवं खुद्रा व्यापार समितिका संयोजक प्रेमचन्द्र गोयलले बजारको स्थिति डरलाग्दो भएको दाबी गर्नुभयो। ‘बिक्री छैन, व्यापारी तनावमा छन्, बैङ्कले ऋण दिइरहेका छैनन्, हिजोको विश्वकर्मा पूजा हेर्नोस् न पहिले कति धूमधामले चोक–चोकमा हरेक मेसिनरी व्यापारिक फर्ममा माटाका ठुल्ठूला मूर्ति, भव्य साउन्ड सिस्टम अनि टेन्ट लगाएर गरिन्थ्यो। आक्कलझुक्कल स्थानमा मात्र माटाका मूर्ति थिए तर पूजा सामान्य नै थियो। पहिलेको जस्तो उल्लास थिएन’, उहाँले भन्नुभयो। उहाँका अनुसार भारतीय सीमावर्ती बजार रक्सौलमा व्यापार बढेकाले वीरगञ्जको व्यापार घटेको एउटा महìवपूर्ण आर्थिक मन्दी हो भने बजारमा पैसा अभाव पनि अर्को कारण हो।