• १३ साउन २०८१, आइतबार

किसानलाई धान उत्पादन घट्ने चिन्ता

blog

राँझा,  असोज २ गते । समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपालि धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नसकेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । 

यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताउनुभयो । यस वर्ष समयमै पानी नपरेका कारण ढिलो गरी धान रोपाइँ भएको थियो । खेतीका बेला मल नपाउँदा खेती लाउन नपाइएको उहाँको भनाइ छ ।

बाँकेको नरैनापुर गाउँपालिकामा पानी नपर्दा यस वर्ष १५ प्रतिशत मात्र धान रोपाइँ भएको स्थानीयले बताएका छन् । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीका भरमा धानखेती गर्दै आएका नरैनापुरका किसानले यो वर्ष रोपाइँ गर्न नपाएको सोहनलाल यादवले बताउनुभयो । 

पर्याप्त सिँचाइको व्यवस्था नभएकाले किसानले नरैनापुरमा धान रोपाइँ गर्न पाएका छैनन् । वैकल्पिक उपायमार्फत लगाएको धानबालीसमेत नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले बताउनुभयो । बाँकेमा खडेरीका कारण यो वर्ष धानखेतीयोग्य १० प्रतिशत जमिन बाँझै रहेकाले अघिल्लो वर्षको तुलनामा उत्पादन कम हुने अनुमान गरिएको उहाँले बताउनुभयो । 

बाँकेमा अन्य स्थानीय तहमा धेरै समस्या नभए पनि नरैनापुरमा खडेरीका कारण यो वर्ष धानखेती गर्न सकिएको छैन । पानीको अभावमा समस्या भएपछि नरैनापुरलाई गाउँपालिकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । नरैनापुरमा धानखेती हुने क्षेत्रफल करिब चार हजार दुई सय हेक्टर छ । जिल्लाका अन्य क्षेत्रमा ८७ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।