• ११ असोज २०८१, शुक्रबार

मुक्लीमा सुविधा सम्पन्न सामुदायिक अस्पताल

blog

नवनिर्मित दूधकोसी सामुदायिक अस्पताल भवन । तस्बिर : सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, असोज १ गते । सोलुखुम्बुको थुलङदूधकोशी गाउँपालिका –६ मुक्लीमा दूधकोकी सामुदायिक अस्पताल तयार भएको छ । दुर्गम गाउँपालिकामा श्रीमद् भागवत महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने व्यक्तिबाट रकम सङ्कलन गरी सुविधा सम्पन्न ५० शैयाको अस्पताल निर्माण गरिएको हो ।

विपन्न नागरिकलाई गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाको केन्द्र मुक्लीमा निर्माण सम्पन्न ५० शैयाको सुविधा सम्पन्न अस्पताल रौता कुवर जेभी निर्माण कम्पनीले १० करोड १० लाख ७२ हजार ७५३ रुपियाँमा तयार भएको अस्पताल व्यवस्थापनले जनाएको छ । 

गाउँमै राजधानी सरहकै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएकाले अब जनता गुणस्तरीय स्वास्थ्य सेवाका लागि भौतारिनु नपर्ने थुलुङ दूधकोकी गाउँपालिकाका अध्यक्ष असीम राईले बताउनुभयो । अस्पतालबाट प्रसूति लगायतका सेवा दक्ष चिकित्सकबाट प्रवाह गरिने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । मातृशिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश  १ कै सुविधा सम्पन्न अस्पतालको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

अस्पतालको दिगो सञ्चालनका लागि धुलिखेल अस्पतालसँग पनि सहकार्यको सम्झौता भएको राईले बताउनुभयो । अस्पताल निर्माणसँगै व्यवस्थापन र दिगो सञ्चालनमा ध्यान दिनुपर्ने स्थानीयको भनाई छ । अस्पताल निर्माणको लागि मोहन राई, पविमाया राई, भिम बहादुर राई, ललितबहादुर राई, जोरमान राई, हरिसिंह राई, सौरभ किराँती र हेमन्तकुमार राईले साढे २३ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।