• १३ साउन २०८१, आइतबार

राप्ती नदीमा बाढी

बाँकेको चौफेरी गाउँमा बाढी पस्यो

blog

राप्ती नदी डुडुवाको चौफेरी गाउँमा बाढी पसेपछि । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असोज १ गते । अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढ्दै गएर आएको बाढी बाँकेको डुडुवाका विभिन्न क्षेत्रमा पसेको छ। सो क्रममा सधैँ बाढीको जोखिम रहँदै आएको डुडुवा १ कृषि चौफेरी र पाँझा गाउँमा पानी पस्दा स्थानीय त्रसित बनेका छन्। 

कृषि चौफेरीका स्थानीय धनिराम यादवले राप्तीको बाढी गाउँमा पसेको र पानी बढ्दै गएकोले सबै जना त्रसित अवस्थामा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘अहिलेसम्म त पानी गोठ र घरको आँगनसम्म पुगेको छ, यसरी नै बढ्दै गयो भने साँझसम्म गाउँ नै डुब्ने आशङ्का छ।’  

उता, कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रले पानीको सतह घट्दै गएको जनाउँदै दिउँसो पानीको सतह ६ मिटर २२ सेन्टिमिटर पुगेकोमा अपराह्न ५ मिटर ८० सेन्टिमिटरमा झरेको जनाएको छ। 

खतराको चिह्नभन्दा माथि नै रहेकोले अझै सचेत रहनुपर्ने जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। उहाँले नदी वरिपरिका दर्जनौँ गाउँ बस्ती बाढीको जोखिममा रहेकोले सतर्क रहन साइरन बजाइएको र सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताउनुभयो।