आरोहणले उपन्यास लेखेको थियो । ऊ त्यसलाई प्रकाशित गर्न चाहन्थ्यो । उसले गुगल सर्च गरी प्रकाशन गृहहरूको नाम–नम्बर सङ्कलन ग-यो । अनि प्रकाशसँग भेटघाट गर्न थाल्यो । प्रकाशक ‘ए’ कहाँ पाण्डुलिपि बुझाउन गएको दृश्यबाट उसको यो यात्रा आरम्भ हुन्छ । प्रकाशक
‘ए’ आफूलाई देशकै सर्वश्रेष्ठ प्रकाशन गृह भएको दाबी गर्दथ्यो । उसले मेल ठेगानामा उपन्यासको पाण्डुलिपि पठाउन सुझाव दियो । आरोहणले त्यसै ग-यो ।
पाण्डुलिपि पठाएको महिनौँ बिते । प्रकाशकले हुन्छ/हुँदैन केही भनेन । तब आरोहणले प्रकाशकलाई टेलिफोन ग-यो । तर ऊ सम्पर्कमा आउँदै आएन ।
प्रकाशक ‘ए’ दृश्यबाट हराएपछि प्रकाशक ‘बी’ कथाको धागोमा उनिन आइपुग्छ । प्रकाशक ‘बी’ पनि चानेचुने कहाँ हो र ! ऊ नामुद चलचित्रकर्मी, मिडियाकर्मी, उच्च नेता, प्रशासक, पुरस्कार विजेता लेखकबाहेक अरूका कृति कमै छाप्थ्यो । तर मुखले चाहिँ सबैसँग पाण्डुलिपि पठाउन अनुरोध गर्दथ्यो । आरोहणले प्रकाशक ‘बी’ले भनेअनुसार इमेलमा उपन्यासको पाण्डुलिपि पठायो । छ महिना बिते, यो पटक पनि दृश्य पुरानै दोहोरियो । प्रकाशकको मौनतापछि आरोहण उसलाई भेट्न कार्यालयमा पुग्यो । भेटमा प्रकाशक ‘बी’ ले दिएको जवाफ यस्तो थियो–
‘तपाईंको उपन्यास कागजको फूल हो भन्दा हुन्छ । जसमा न रस छ, न सुगन्ध ! बुद्धिमान उत्पादक बजारको मनोविज्ञान बुझेर सामान उत्पादन गर्छन् । चलचित्रमा युवतीका सुडौल नितम्ब, नग्न शरीर, यौन, अपराध, मायाप्रीतिका दृश्य किन देखाइन्छन् ? दर्शकको ब्रेन वास गर्न । उत्तेजनाको पारो उरालेर व्यापार बढाउन । यस्ता कुरा लेखकले पनि सिक्न जरुरी छ ।’
‘अनि अर्को कुरा, बजारले क्याटवाक् मागिरहेको बेला लेखक कुकुरझैँ लखरलखर हिँड्ने हैन । बजारले हिपहिप हुर्रे सुन्न चाहिरहेको समयमा लेखक भजन गाउनुको पनि कुनै तूक छैन । ¥यापरहरूको बाहुल्य छ भने लेखक ¥याप गावस् । बेले नृत्यलाई वान्समोर भन्नेहरूको जमात छ भने लेखक स्वयं ठुम्का लगावोस् । लेखकलाई उल्टो दिशामा जाने छुट छैन । हामी व्यापारी हौँ । मुनाफा हाम्रो अविचलित लक्ष्य हो । हामी पाठक अमैत्री वस्तुमा लगानी गर्दैनौँ ।’ उल्लिखित भनाइका साथ प्रकाशक ‘बी’ दृश्यबाट अलग भयो ।
प्रकाशक ‘बी’ पछि प्रकाशक ‘सी’ कहानीको अग्रभागमा आइपुग्छ । आरोहण, प्रकाशक ‘सी’ को दैलोमा उपन्यासको पाण्डुलिपिसहित हाजिर भयो । पाण्डुलिपि टक्¥याउन खोज्दै थियो ऊ । प्रकाशकले कोभिड महामारीबाट पुस्तक व्यवसायमा छाएको मन्दीको रामकहानी सुनाउन थाल्यो । रुस–युक्रेन युद्धबाट कागजमा भएको भारी मूल्य वृद्धिको सन्दर्भ झिक्यो । पाण्डुलिपि ग्रहण गर्नु कता हो कता, ऊ गुगलमा आरोहणको नाम सर्च गर्न थाल्यो । फेसबुक ‘वाल’मा ‘फ्रेण्ड–फलोअर’ गन्ती गर्न लाग्यो । प्रकाशकको निधारमा फुकाउनै नसकिने गाँठा पर्न थाले । ‘सरी सर ! म तपाईंको उपन्यास छाप्न सक्दिनँ । बजार छैन । पाठक छैनन् । पढ्ने संस्कृतिमा ह्रास आएको छ । घाटा खाने जान्दाजान्दै किन छाप्ने । प्रकाशन खर्च आफैँ व्यहोर्छु भन्नुहुन्छ भने चाहिँ वेलकम । पन्ध्र दिनमा पुस्तक विमोचन हुन्छ ।’ उसले भन्यो ।
पाण्डुलिपि हातैमा थियो । आरोहण बसेको स्थानबाट जुरुक्क उठ्यो । ‘व्यक्तिगत लगानीमा उपन्यास छाप्ने औकात भएको भए तपाईंकहाँ आउने नै थिइनँ । समय दिनुभएकोमा धन्यवाद ।’ यति भन्दै ऊ बाहिरियो ।
आरोहण त्यस दिन नौ बजे डेराबाट निस्केको थियो । तीन बज्दासम्म पेटमा पानीबाहेक केही परेको थिएन । उसलाई भोक लागिरहेको थियो । आरोहण केही खाने अभिप्रायले होटलभित्र छि¥यो । ऊ जहाँ बस्यो, त्यसभन्दा पर दुई जना अधवैँसे थिए । जो खाजा खाँदै पुस्तक प्रकाशनकै बारेमा गफिइरहेका थिए–
‘आत्मीय मित्र सम्झेर भनेको हुँ । कुरा अन्त नजाओस् । खासमा घोष्टराइटिङ्ग थियो त्यो । मैले आफ्नो सिर्जना भन्दै बुझाएर आएँ । पुस्तक तीन महिनाभित्र बजारमा आउँछ भनेको छ । त्यो पनि व्यक्तिगत खर्च नगरीकन । कृतिले आउने सालको राष्ट्रिय पुरस्कार पाउने ग्यारेन्टी पनि मिलेको छ ।’
‘कृति नै ननिस्की पुरस्कारको ग्यारेन्टी !’
‘त्यो त निस्किहाल्छ नि ।’
‘पुरस्कार पाउन के कसो गर्नुपर्ने रहेछ ?’
‘दुई–तीन उपाय छन् । एक त आफ्नो मान्छे हुनुप¥यो । दोस्रो, एक हातले दिने अर्को हातले लिने । तेस्रो, प्रभु भजन गाउने, दूधभात खाने ।’
‘एक्सक्यूज मी सर !’ अधबैँसेहरू गफ गरिरहेका थिए । आरोहण बोल्यो ।
दुवैले आरोहणको अनुहारमा आश्चर्यसूचक नजरले हेरे । आरोहण भन्नथाल्यो –
‘हजुरले त पुरस्कारको ग्यारेन्टीसमेत पाइसक्नु भएछ । म चाहिँ उपन्यास छाप्ने स्थानको खोजीमा भौँतारिएको तीन वर्ष बित्योे, भेटेको छैन । व्यक्तिगत खर्च नगरीकन उपन्यास छापिदिने कोही देख्नुभएको छ भने भनिदिनुस् न प्लिज ।’ आरोहणले भन्यो ।
‘किन नदेख्नु । यहीँ काठमाडौँमा छन् । उता हेर्नुस् । त्यो बिल्डिङ देख्नुभो नि ? त्यहाँ जानुस् ।’ अधबैँसेले हातको इसाराले देखायो । आरोहण खाजा खाइसकेर अधबँैसेले देखाएको संस्थातर्फ सोझियो । त्यहाँ उसको भेट आख्यान हेर्ने अधिकारीसँग भयो । सङ्क्षिप्त वार्तामा अधिकारीले उपन्यासको पाण्डुलिपि बुझाएर जान निर्देशन दिए । तीन महिनापछि ती अधिकारीले फोन गरे र भने, ‘हामी तपाईंको उपन्यास छाप्न असमर्थ छौँ । यसका विविध कारण छन् जुन तपाईंलाई अहिले उल्लेख गर्न सकिँदैन ।’
आरोहणको असफलताको शृङ्खला लामै भइसकेको थियो । तथापि उसले हार भने मानिसकेको थिएन । ऊ त्यसको भोलिपल्ट एक जना नवोदित प्रकाशककहाँ पुग्यो । प्लट त्यस्तै । कथानक त्यस्तै । पात्रहरूबीचको संवाद पनि त्यस्तै । त्यहाँ पनि प्रकाशकले उसलाई ‘पाण्डुलिपि बुझाएर जान र केही समय पर्खन’ भन्यो । पाण्डुलिपि बुझाएको एक महिना बित्दानबित्दै खबर आयोे– ‘तपाईंले हाम्रा नेतालाई खलनायक भन्न खोज्नुभएको रहेछ । तपाईंको उपन्यास पूर्वाग्रही छ । हामी यस्तो उपन्यास छाप्दैनौँ ।’ उसले ठाडै भनिदियो । आज बित्यो । भोलि बित्यो । सयौँ भोलि बिते । आरोहणको उपन्यास छापिने दिन कहिल्यै आएन ! कहाँकहाँ धाएन ऊ । आरोहणको अवस्था पानीको खोजीमा मरुभूमिमा भट्किरहेको यात्रीको जस्तै थियो । ऊ भित्रको कुण्ठा र निराशा विस्फोटक बिन्दुतर्फ लम्किन थाल्यो । साधनालाई लोग्नेभित्र मच्चिरहेको भीषण उथलपुथल बुझ्न गाह्रो परेन । ‘उपन्यास छाप्न कति रकम लाग्छ ? एक लाख ?’ एक दिन सोधी उसले ।
‘त्यतिले पुग्दैन ।’
‘विदेशतिर राम्रा लेखकलाई सरकारले हेर्छ भन्छन् । हाम्रोमा भने पैसा खर्च गर्न नसक्ने र गुटमा नलागेका अनाथ बन्नुपर्ने ! बिना पैसा उपन्यास छाप्न सेलिब्रिटी नै हुनुपर्ने ! धिक्कार छ नेपाली भाषा–साहित्य प्रवद्र्धनको नाममा च्याउझैँ उम्रेका व्यापार
गृहहरूलाई ! धिक्ककार छ हाम्रो पद्धतिलाई ! कतिलाई हात जोड््नुहुन्छ ? कतिको पाऊ पक्रिनु हुन्छ ? बरु औँठी, सिक्री, तिलहरी जेजे बेच्नुपर्छ बेचुँला । बन्धकी राख्नुपरे राखुँला । तपाईंको उपन्यास छपाउने जिम्मेवारी म लिन्छु !’ साधनाले उद्घोष गरी ।
आरोहणले साधनाको उद्घोष अपलक सुन्यो मात्र । त्यस दिन आरोहणलाई मध्यरातसम्म निद्रा परेन । ऊभित्र साधनाका शब्दहरू हुण्डरी बनी सुसाइरहे । निस्तब्ध कालो रात । सर्वत्र सन्नाटा । आरोहण त्यस रात कथालाई अनपेक्षित मोड दिने टुङ्गोमा पुग्यो । परन्तु त्यो मोड कस्तो थियो ? यसको जानकारी भविष्यबाहेक अरू कसैलाई थिएन । साधना मस्त निद्रामा थिई । उसले साधनाको केशमा मायालु स्पर्श ग¥यो । अनि उपन्यासको पाण्डुलिपि बोकेर भान्सा कोठामा पस्यो । उसले ग्यास चुलोको बटन घुमाएर आगो बाल्यो । बर्नरमा भर्भराउँदो आगो प्रकट भयो । आरोहणले बलिरहेको आगोमा उपन्यासका पानाहरू एकएक गर्दै सल्काउँदै गयो । आगोको ज्वालासँगै तन जल्यो, मन बल्यो ।
जब उपन्यासको अन्तिम पाना राख भयो, आरोहणले आफूभित्रको लेखकलाई अन्तिम श्रद्धाञ्जलि दियो । अनि निधारमा अस्तुको टीका लगायो । यतिकैमा ऊ पागलझैँ बर्बरायो– ‘ए स्वार्थी मान्छेहरू हो ! ए विवेकहीनहरू हो ! तिमीहरू कान खोलेर सुन । मलाई श्रीमतीको तिलहरी बन्धकी राखेर उपन्यास छपाउनु थिएन । उनको मङ्गलसूत्र बेचेर लेखक बन्नु थिएन । बरू म आफूभित्रको लेखकको निर्मम हत्या गर्न तयार थिएँ । म आइन्दा आख्यान लेख्ने छैन । अहं लेख्ने छैन । यो नै मेरो प्रथम र अन्तिम आख्यान हुनेछ ।’ ऊ चिच्चायो । मध्यरात्रिको समय । झमझम पानी परिरहेको थियो । मेघ गर्जिरहेको थियो । उसको चिच्याहट न साधनाले सुनी । न छरछिमेकीका कानसम्म पुग्यो !
साधना भोलिपल्ट बिहान भान्सामा गएकी थिई । आरोहण उसको पछिपछि थियो । भान्सामा खरानीका कणहरू छरिएका थिए । ‘के हुन् यी ?’ खरानीका कणहरूलाई देखाउँदै सोधी उसले । ‘मभित्रको लेखकको अस्तु ! गयराति मैले उपन्यासको पाण्डुलिपि जलाएँ
साधना !’ आरोहणले नढाँटी भन्यो ।
साधनाले आरोहणका कुरा सुनी मात्र, बोलिन । त्यस बिहान ऊ खासै बोलिन पनि । भातेधन्दा सकेर घरबाट निस्केकी ऊ सहरको एक प्रकाशन गृहको द्वारभित्र प्रवेश गरी । प्रकाशन गृह गम्भीर र स्तरीय पुस्तक प्रकाशनमा कहलिएको थियो । ढक्ढक् आवाजसँगै प्रकाशन गृह मालिकको ढोका खुल्यो ।
‘म्याडम कति कामले पाल्नुभयो ?’ सोध्यो उसले ।
‘मुर्दामा प्राण भर्न आएकी ।’
साधनाको जबाफ अनौठो थियो । ऊ छक्क प¥यो ।
‘मुर्दा ! कस्तो मुर्दा ?’
‘उपन्यासको मुर्दा । जसको अन्त्येष्ठी गएराति मेरा श्रीमान्ले गर्नुभएको थियो ...।’ साधनाले सबै वृत्तान्त खुलाई । प्रकाशक साधनाको बयान सुनेर भावुक भयो । उसले साधनासँग उपन्यासको पाण्डुलिपि माग्यो । साधनाले पाण्डुलिपि कपि गरिएको पेनड्राइभ प्रकाशकको
हातमा राखिदिई ।
एक हप्ता नबित्दै खबर आयो –
‘आरोहणजीको उपन्यासले मेरो मन छोयो । उहाँको उपन्यास नेपाली समाजलाई अवलोकन गर्ने ऐना हो । यो आख्यान जगत्मा नयाँ प्रयोग पनि हो । उपन्यासले नेपाली जनजीवनको जीवन्त कथा वाचन गरेको छ । आरोहणजीले उपन्यासलाई ‘मेरो अन्तिम आख्यान’ भन्नुभएको रहेछ । यस प्रकारको आख्यान अन्तिम हुनै सक्दैन । यति बृहत आयाम समेटिएको सम्भवतः यो नै पहिलो नेपाली आख्यान हो । त्यस मानेमा यो उपन्यास नयाँ शैली, स्वाद र सन्देश बोकेको प्रथम आख्यान हो । तसर्थ म उपन्यासको नाम ‘अन्तिमबाट प्रथम’ प्रस्तावित गर्न चाहन्छु ।
अनि अर्को कुरा, हामी आरोहणजीको उपन्यास आफ्नै लगानिमा छाप्ने छौँ । प्रकाशनका लागि लेखकसँग रकम लिने छैनौँ ।’ उसले सुनायो ।
अब भने आरोहणको कथामा गजबको मोड आइसकेको थियो । वियोगान्त बिन्दुमा पुगेको कथा संयोगान्त मोडमा विचरण गर्नु असीम हर्षको कुरा थियो । खबर सम्प्रेषण भएसँगै साधनाभित्र खुसीको तूफान मडारिन थाल्यो । उता, अन्तिम श्रद्धाञ्जलि दिइसकेको उपन्यासले पुनर्जीवन पाएकोमा आरोहणको खुट्टा भुइँमा थिएन ।