• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

blog

काठमाडौं, भदौ ३१ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४.१० अङ्कले ओरालो लागेर एक हजार नौ सय १०.३८ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२३ अङ्कले ओरालो लागेर ३७१.९० मा सीमित भएको छ । कुल दुई सय २० कम्पनीको २९ लाख १६ हजार दुई सय ७१ कित्ता शेयर रु. ९० करोड ८१ लाख ८६ हजार चार सय ८८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । सो उपसमूहको शेयर मूल्य ०.०१ अङ्कले उकालो लागेको छ । यस्तै, बैंकिङ ६.८७, व्यापार ६.०२, होटल तथा पर्यटन १९.३, विकास बैंक ४४.०१, जलविद्युत् २५.२४, वित्त २२.४१, निर्जीवन बीमा २७.३५, उत्पादन ५५.८९, अन्य ४.०६, लघुवित्त ४३.८६, जीवन बीमा २२.२६ र लगानी ०.७६ अङ्कले ओरालो लाग्यो ।

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु. २७ खर्ब ४४ अर्ब ८८ करोड ३५ लाख ८५ हजार बराबर छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्षस्थानमा छ । सो कम्पनीको रु. चार करोड २३ लाख ३२ हजार छ सय ७७ बराबरको कारोबार भयो ।

यस्तै, हिमालयन डिस्टिलरी रु. तीन करोड दुई लाख दुई हजार दुई सय ६८, नबिल बैंक रु. तीन करोड ५५ हजार, नेपाल लाइफ इन्स्योरेन्स रु. दुई करोड ८४ लाख ६९ हजार चार सय ८१ र अपि पावर कम्पनी रु. दुई करोड ७५ लाख ७५ हजार चार सय दुई बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार नबिल ब्यालेन्स फण्ड दोस्रो ७.८७, बुद्ध भूमि नेपाल हाइड्रोपावर छ, अप्पर हेवाखोला हाइड्रोपावर ५.७५, लाइफ इन्स्योरेन्स कर्पोरेशन ३.९९ र हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ३.५७ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, मिर्मिरे माइक्रोफाइनान्स ५.५९, रिभल फल्स पावर ५.३१, अप्पर सोलु हाइड्रोपावर ५.३०, ग्रीन डेभलपमेन्ट बैंक ४.०९ र एनएमबी– ५० का लगानीकर्ताले ३.८७ प्रतिशतले गुमाएका छन् ।