लुम्विनी, भदौ ३१ गते । महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
५० प्रतिशत बढी जनसङ्ख्या ओगटेका महिलाको सशक्तीकरण गर्न सके नेपालले प्रगति हासिल गर्ने उहाँको विश्वास थियो । पुरातनवादी दृष्टिकोणका कारण महिलाई पछाडि पारिएको जनाउँदै उहाँले अब महिला नेतृत्व तहमा आउनुपर्नेमा जोड दिनुभयो ।
पूर्व सांसद गोकर्ण विष्टले सामाजिक न्याय, समानता र विश्वव्यापी भाइचाराको विकास गर्न आवश्यक रहेकामा जोड दिनुभयो । पूर्व सांसद देवेन्द्रराज कँडेलले गरिबीको रेखामुनि रहेको समुदायलाई सहकारीमार्फत जीवनस्तर उकास्ने काम राज्यको भए पनि यसमा हेफरको योगदान भएको चर्चा गर्नुभयो । नेकपा (एमाले) का प्रमुख सचेतक भूमिश्वर ढकाल, नेपाली काँग्रेसका प्रमुख सचेतक तुलाराम घर्ती र नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले महिलाले सञ्चालन गरेका सहकारी समुदायमा स्थापित भएको जनाउँदै त्यस्ता सहकारीमार्फत महिलाको आर्थिक सशक्तीकरण भएको बताउनुभयो ।
हेफर इन्टरनेशनलका प्रमुख वित्तीय अधिकृत मार्सिया रस्मुसेनले हेफरलाई महिलाले अभिभावका रूपमा लिएकामा गर्व लागेको बताउनुभयो । हेफरले साझेदारीलाई महत्त्व दिँदै स्थानीय तह र निजी क्षेत्रसँग जोडिएर काम गर्दै आएको बताउनुभयो । हेफर नेपालका वरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले २५ वर्षअघि २५ महिलाबाट सुरु भएको संस्थामा अहिले दुई सय ५५ सहकारीका झण्डै चार लाख परिवार जोडिएको बताउनुभयो ।
यस अवधिमा समूह र सहकारीमा आबद्ध महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, क्षमता विकास गर्दै बाख्रा, दूध, स्थानीय जातको कुखुरा, तरकारी, बङ्गुरलगायतका कृषि तथा पशु मूल्य शृङ्खलाको क्षेत्रमा सहयोग र सहजीकरण गर्दै आएको उहाँको भनाइ छ ।
हेफरका राष्ट्रिय निर्देशक शुभनारायण महतोले सामाजिक रूपान्तरणका लागि विभिन्न स्थानीय तहसँगको समन्वयमा काम गर्दै आएको बताउनुभयो । हेफरका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले कुनै बेला अनाथ बालबालिकालाई दूध बाँडेर सुरुआत भएको यो संस्थाले पछि दूधको सट्टा गाई दिनुपर्छ भन्ने सोच राखेर एक सय २५ देशका साढे तीन करोड परिवारसम्म पुगेको बताउनुभयो ।
कृषि व्यवसाय प्रवर्द्धनका लागि उत्पादनका सामग्री, सेवा, वित्तीय व्यवस्थापन र सहयोग, बजार र समन्वयका क्षेत्रमा काम गरिँदै आएको साना किसानका सहकारीहरूले एक सय ६० वटा सङ्कलन केन्द्र तथा चार सय ७८ वटा उपकेन्द्र निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेलगायत स्थानीय तहका प्रतिनिधि र सहकारीका प्रतिनिधिले महिलाको जीवनस्तर उकास्न हेफरको कार्यक्रम र सहयोग प्रभावकारी रहेको बताउनुभयो । सामाजिक महिला उद्यमी महिला सञ्जालका अध्यक्ष पार्वती न्यौपानेले सञ्जालमार्फत साना किसानमैत्री नीति निर्माण संलग्न भई सरकारसँगको समन्वय, साझेदार र सहयोगमा कृषि उत्पादन र उत्पादकत्व वृद्धिका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
साना किसानले उत्पादन गरेका कृषि तथा पशु उपजको बजारीकरणको समस्या समाधान गर्न र बजारको पहुँचको सुनिश्चितताका लागि ७७ वटा सहकारीले हेफरको सहयोगमा ढुवानीका साधन सञ्चालनमा ल्याएका छन् । त्यस्तै ३२ वटा सहकारीले ढुवानीका साधन सहयोग प्राप्त गरेका छन् ।
सहकारीको मूल्याङ्कन र वार्षिक प्रगतिका आधारमा एक वटा सहकारीले राष्ट्रियस्तरको पुरस्कार र तीन वटा सहकारीले क्षेत्रीयस्तरको पुरस्कार प्राप्त गरेका छन् । दाङ जिल्लाको लमही नगरपालिका–९ मा अवस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले रु तीन लाख नगद र सम्मानपत्रसहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै सिन्धुली जिल्लाको दुधौली नगरपालिका –८ मा अवस्थित प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था, कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिकामा अवस्थित बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्थाले रु एक लाख ५० हजार नगद र सम्मानपत्रसहित क्षेत्रीय स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा आयोजना गरिएको उत्सवमा देशभरका विभिन्न सामाजिक उद्यमी महिला सहकारी संस्थाहरूबाट चार हजार पाँच सय महिला सहभागी भएका थिए ।