• १३ साउन २०८१, आइतबार

मेलम्ची प्रभावितका बारेमा ध्यानाकर्षण

समस्या समाधान प्राथमिकतामा

blog

राममणि दाहाल

हेटौँडा, भदौ २९ गते । भूकम्प र बाढीपहिरोका कारण मानवीय र भौतिक क्षति बेहोरेको मेलम्चीसहित सिन्धुपाल्चोक जिल्लाको अवस्थाका बारेमा बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । भूकम्प र त्यसपछि आएका बाढीपहिरोले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायत सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. १ तहसनहस बनेपछि स्थानीय प्रभावितहरूको जनजीवन कष्टकर हुँदै आएको छ । 

बाढीपहिरो प्रभावित क्षेत्रको स्थायी रूपमा संरक्षणसँगै स्थानीय प्रभावितहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहितको टोलीले बागमती प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायत सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रमा आवश्यक बजेट व्यवस्था गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हेटौँडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मङ्गलबार भेट गरी आग्रह गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य बस्नेतले गुरुयोजना बनाएर बाढीपहिरो प्रभावितको बासस्थानको व्यवस्था, बस्ती र खेतीयोग्य जमिनको संरक्षणलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै यसका लागि प्रदेशसँगै तीन तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । पूर्वमन्त्री बस्नेतले बाढीपहिरोबाट विस्थापित भएकाहरूको आवास र प्रभावित क्षेत्रमा तटबन्धलगायतका कामका लागि  स्थानीय सरकारहरू सहयोग गर्न तयार रहेको जानकारी गराउनुभएको थियो । 

सो अवसरमा मुख्यमन्त्री पाण्डेले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायत सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्रको समस्या समाधान प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउँदै यसअघि चार करोड रुपियाँ विनियोजन गरी काम भएकोमा चालू आर्थिक वर्षमा थप १० करोड रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । “बजेट निकासाको प्रक्रियामा गइसकेको छ, स्थानीय प्रभावितहरूसँगको समन्वयमा संरक्षणलगायतका कामहरू हुनेछन्,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “निकासा भएको बजेट प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले कार्यान्वयन गर्ने गरी व्यवस्था गरिएको छ ।”

मुख्यमन्त्री पाण्डेले मेलम्ची प्रभावित क्षेत्रको संरक्षणलगायतका काममा बजेट अभाव नहुने बताउनुभयो । यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहनकुमार शाक्यले विनियोजन भएको बजेट तत्कालीन प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने योजना सुनाउँदै हालसम्म ३७ वटा संरक्षणलगायतका कामहरू माग भएको बताउनुभयो । 

यस्तै पूर्वमन्त्री बस्नेतले प्रदेश र सङ्घीय राजधानी जोड्ने छोटो दूरीको मार्ग व्यवस्थित गर्न, प्रदेश मन्त्रालय र मातहतको कार्यालयका पूर्वाधार निर्माण गर्न र हेटौँडाको मुख्य बजार क्षेत्रमा यसअघि भएको निर्णयअनुसार सहरी मार्ग कायम गरी काम अगाडि बढाउन मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराउनुभएको थियो ।

साथै मकवानपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल र कांग्रेस मकवानपुरका जिल्ला सदस्य आनन्दराम पराजुलीले हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक केन्द्रबाट १६–१६ मिटर मात्र सडक चौडा गरी बाइपास सडक निर्माणका लागि पहल गर्न माग गर्नुभएको थियो । 

मुख्यमन्त्री पाण्डेले प्रदेशको स्थायी संरचना बनाउन जग्गाको पहिचान भएको, जग्गा प्राप्ति प्रक्रिया अगाडि बढेको र हेटौँडा–काठमाडौँ जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको बताउँदै हेटौँडाको मुख्य बजार क्षेत्रमा पर्ने राजमार्गलाई राष्ट्रिय राजमार्गको सूचीबाट हटाउन पहल भइरहेको बताउनुभयो ।