कोलम्बो, भदौ २७ गते । श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहत मिलेको बताउनुभएको छ ।
उहाँले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले वैदेशिक रोजगारीमा गएका श्रीलङ्कालीबाट प्राप्त भएको रेमिटेन्स रकम पछिल्ला दिनमा बढ्दो रहेको भन्दै यसबाट वैदेशिक मुद्राको खाँचो परेको देशमा सहज भएको बताउनुभयो । उहाँले गत जुलाई महिनाको तुलनामा अगष्ट महिनामा रेमिटेन्स रकम १४.६ प्रतिशतले बढेको पाइएको जानकारी दिनुभएको हो ।
उहाँले रेमिटेन्स रकम पठाउने व्यक्तिहरुलाई विशेष धन्यवाद दिनुभएको छ । देश आर्थिक सङ्कटमा परेका बेला विदेश पुगेका नागरिकहरुबाट प्राप्त रेमिटेन्स रकमका लागि विशेष धन्यवाद छ– मन्त्री नानकायराले भन्नुभएको छ ।
गएको वर्षदेखि आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा वैदेशिक रोजगारीका लागि देश छोडेर जानेहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ । यस वर्षमात्र यहाँका दुई लाखभन्दा बढी व्यक्तिले वैदेशिक रोजगारीका लागि विदेशिएका पाइएको बताइएको छ ।
श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री नानायक्काराले सो कुराको जानकरी दिनुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँले यसै वर्षको जनवरीदेखि अगष्ट महिनासम्ममा ती नागरिकले श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता गराएर नै वैदेशिक रोजगारीका लागि गएको जानकारी दिनुभएको हो ।
उहाँले आइतबार भन्नुभएको थियो यसवर्ष मात्र दुई लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि विदेश गएका छन् र अरु पनि दर्ता नै नगराइकन विदेश गएका हुनसक्छन् । रासस/सिन्हवा