• १३ साउन २०८१, आइतबार

कटान क्षेत्रमा अस्थायी तटबन्ध

blog

दार्चुला समाचारदाता

दार्चुला, भदौ २७ गते । दार्चुलाका बाढीपहिरोपीडितलाई राहत वितरण गर्न सुरु गरिएको छ। जिल्ला विपत् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो। अविरल वर्षासँगै शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ। हालसम्म छ जनाको शव फेलापरेको, १० जना अझै बेपत्ता रहेका र पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्तप्रमुख एवं प्रहरी निरीक्षक जगत् गाहामगरले जानकारी दिनुभयो। 

महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताको खोजीमा समस्या भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताउनुभयो। खोजतलासमा नदी किनारतिर स्थानीय र सुरक्षाकर्मी जुटेका छन्। बाढीपहिरोमा परेर महाकाली नगरपालिका–२, मुल्लामोडका ७७ वर्षीय नन्दराम बोहरा, नौगाडा गाउँपालिका–२ दल्लेखका मोहन पार्की, महाकाली नगरपालिका–३, डुङरीका मानमती कार्की, नौगाड गाउँपालिका–१ सल्लाकी जानकी ठगुन्ना र सोही ठाउँकी धनुली ठगुन्नाको मृत्यु भएको थियो। 

यस्तै महाकाली–३ का धनसिंह कार्की, दिनेश कार्की, दीपक कार्की, महाकाली–२ की मानमती साहु, महाकाली–१ लास्कुकी मञ्जु लुहार, सोही ठाउँका दिनेश लुहार, डल्ली लुहार र साजन लुहारसहित १० जना बेपत्ता छन्। बेपत्ताको खोजीसँगै बाढीपहिरो प्रभावितलाई राहत वितरणसँगै अस्थायी तटबन्ध निर्माण गर्ने काम भइरहेको छ। 

बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका ४२ घरमा पूर्ण र नौवटामा आंशिक क्षति भएको छ। प्रहरीका अनुसार ४० घर जोखिममा छन्। यस्तै दुईवटा विद्यालय, एउटा विद्युत् पावर हाउस, तीनवटा झोलुङ्गे पुल, लास्कु खोलाको मोटरेबल पुल, पार्किङ गरेर राखिएका छ जिप, एक कार, एक ट्याक्टर र एक जेसीबी पनि बाढीले बगाएको छ। पुल बगाउनुका साथै ठाउँठाउँमा पहिरो आएपछि नौगाड र दुहुँ जोड्ने सडक अवरुद्ध छन्। सडक सञ्जालबाट विच्छेद भएको दुहु गाउँपालिकालाई सदरमुकामसँग जोड्न नेपाली सेनाको टोलीले दुहुँ जाने सडक मर्मत गर्ने काम सुरु गरेको छ।

ढुङ्गा बोक्दै मन्त्री, नगरप्रमुख र नेता

दार्चुलाको बाढीपहिरो प्रभावित क्षेत्रमा मन्त्री तथा सांसदले सक्रियता देखाएका छन्। विभिन्न राजनीतिक दलका नेताले बाढीपहिरो प्रभावित क्षेत्रमा हुनसक्ने जोखिम नियन्त्रणका लागि अस्थायी तारजाली लगाउने काममा सक्रियता देखाएका हुन्। प्रभावित क्षेत्रमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसहितको टोली गएको छ। मन्त्रीसहितको टोली नेपाली सेनाको हेलिकोप्टरमा राहत बोकेर शनिबार बेलुका नै बाढीपहिरो ग्रस्त क्षेत्र पुगेको हो। उहाँहरूले बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई भेटेर सान्त्वना दिइरहनुभएको छ। 

आइतबार बिहानैदेखि राजनीतिकर्मी, सुरक्षाकर्मी र स्थानीयले महाकाली नगरपालिका–४ बङ्गाबगरमा लास्कु खोलाले कटान गरिरहेको क्षेत्रमा तटबन्ध निर्माणका लागि ढुङ्गा बोकिरहेका छन्। यस्तै प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर, उपप्रमुख दुर्गा विष्ट, जिल्लाका नेताहरू बाढीग्रस्त क्षेत्रमा खटिएर उद्धार र तटबन्ध निर्माणको काम गरिरहेका छन्। दार्चुलाको नौगाड गाउँपालिका–६, धुलिगढास्थित नौगाड खोलाको बीचमा एक महिला मृत फेला पर्नुभएको छ। प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन। महिलाको बाढीपहिरोका कारण खोलामा बगेर ज्यान गएको अनुमान गरिएको छ।

दार्चुला सदरमुकाम खलङ्गाको बङ्गाबगर क्षेत्रमा कटान भइरहेको छ भने मुख्य बजारमा समेत कटानको जोखिम बढेको छ। भारतले महाकाली बगरको झन्डै सयमिटर नेपालतर्फ तटबन्ध निर्माण गर्दा नदीको बहाव फर्किएर सदरमुकाममा कटानको जोखिम बढेको स्थानीय चक्रबहादुर बमले बताउनुभयो। महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीका कारण महाकाली नदी थुनिएको थियो। आइतबारदेखि विस्तारै नदीमा पानीको निकास खुलेको छ। भारतको तटबन्धकै कारण महाकाली नदीको पानी बग्ने धार साँघुरो भएर नदी नेपालतर्फ मोडिएको स्थानीयको भनाइ छ।

विद्यालय बन्द

महाकाली नगरपालिकाको बाढी प्रभावित क्षेत्रमा २६ गतेदेखि ३१ गतेसम्म विद्यालय बिदा गरिएको छ। महाकालीको वडा नम्बर १, २, ३ र ४ मा बाढीपहिरोले अत्यधिक क्षति गरेर जनजीवन अस्तव्यस्त भएको अवस्थामा बालबालिकामा मनोवैज्ञानिक त्रास रहेको, बाढीबाट क्षति भएका विद्यालयलगायत बाटोघाटो बन्द भई आवतजावत गर्नसकिने अवस्था नरहेकाले प्रभावित क्षेत्रमा ३१ गतेसम्म बिदा दिने निर्णय गरिएको निमित्तप्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताउनुभयो। बिदा अवधिमा विद्यालयका शिक्षक तथा कर्मचारीलाई उद्धार, राहत र पुनस्र्थापना कार्यमा सहभागी हुन अनुरोध गरिएको छ।